चिसो बढेपछि तिंकरको प्रहरी टोली छाङरु झर्यो

718
ब्यास गाउँपालिकको वडा नं १ मा रहेको छाङरु गाउँ

बिरा दत्त भट्ट,
दार्चुला, कार्तिक १० गते ।
दार्चुलाको चीन संगको सीमा क्षेत्र ब्यास गाउँपालिका वडा नं १ तिंकरमा रहेको सीमा प्रहरी चौकी चिसो बढेपछि छाङरु झरेको छ । कार्तिक महिनाको सुरुवातमै भएको हिमपातका कारण अत्यधिक चिसो बढेपछि प्रहरी टोली छाङरु झरेको दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो ।

सीमा प्रहरी चौकी तिंकरका इन्चार्ज प्रहरी नायब निरीक्षक हर्क महतारा नेतृत्वको प्रहरी टोली कार्तिक ६ गते छाङरुमा सरेको डिएसपी भट्टले बताउनुभयो । तिंकर गाउँ भन्दा माथिल्लो क्षेत्र छियालेकमा प्रहरी बस्ने गरेको छ । ‘तिंकरमा चिसोले पानी समेत जम्ने अवस्था भएपछि प्रहरी टोली छाङरु झरेको छ, तिंकर गाउँ सम्म छाङरुबाटै गस्ती गर्ने गरिएको छ’ डिएसपी भट्टले भन्नुभयो ।
छाङरु प्रहरी चौकीबाट पनि चार जना वडा नं २ दुम्लीङ प्रहरी चौकी झरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी पुस्कर सिह ऐरीले बताउनुभयो । ‘तिंकरको प्रहरी टोली तल झरेपछि तलबाट चार जना दुम्लीङ झरेका छन्, तिंकरबाट तल सामान ओसार्ने काम भइरहेको छ’उहाँले भन्नुभयो ।
दुबै चौकीका प्रहरी बस्न ठाउँ अभाव भएर केहि दुम्लीङ झरेका हुन् । सीतापुलमा प्रहरीको नयाँ भवन निर्माणको काम समेत भइरहेको छ ।
सितापुल भारतसंग सीमा जोडिएको क्षेत्र हो । भारतको गव्र्याङ गाँउ र नेपालको छाङरु गाँउ जोड्ने नाका सितापुल हो । सितापुलमा महाकाली नदीमाथि काठेपुल राखिएको छ । छाङरुदेखि १२ किलोमिटर उत्तरपूर्वमा तिंकर गाँउ रहेको छ । तिंकर उत्तरतर्फको अन्तिम वस्ती हो । तिंकरबाट ५/६ घण्टा हिमाल चढाईपछि चीनको सिमाक्षेत्र पुगिन्छ ।
भारतले अतिक्रमण गरेको कालापानी नजिकका गाउँहरु छाङरु र तिंकरमा हिउँदमा भारी हिमपात हुने गरेको छ । छाङरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना हुनुभन्दा पहिले छाङरु र तिंकरको प्रहरी टोली हिउँदमा ब्यास गाउँपालिकाको वडा नं २ दुम्लीङ झर्ने गरेको थियो । सशस्त्रको गुल्म छाङरुमा बाह्रै महिना बस्न थालेपछि प्रहरी पनि छाङरुमा बाह्रै महिना उपस्थिती जनाउन थालेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !