चालक कुटपिट र गाडी तोडफोड आरोपमा चारजनाविरुद्ध सार्वजनिक मुद्दा

2642

दार्चुला, माघ ६ गते ।
दार्चुला प्रहरीले चालक कुटपिट र गाडी तोडफोड गरेकोमा आरोपमा चारजना युवाविरुद्ध आइतवार सार्वजनिक मुद्दा चलाएको छ । शैल्यशिखर नगरपालिकाको वडा नम्बर ९ नायलमा शुक्रवार राती ८ बजे चालक कुटपिट र गाडी तोडफोड गरेको आरोप छ ।
गोकुलेश्वर–धुलिगडा सडक खण्डमा सञ्चालित से १ ज २१७ नम्बरको जीपका चालक संगवा ठगुन्नालाई कुटपिट गरी गाडीसमेत तोडफोड गरिएको प्रहरीले जनाएको छ । शैल्यखिर नगरपालिका वडा नम्बरका २१ वर्षिय दीपक साउद, वडा नम्बर ९ कै २४ वर्षिय सुरेश विष्ट, वडा नम्बर २ का १९ वर्षिय भूपेन्द्र चन्द र बैतडी जिल्लाको डिलाशैनी गाँउपालिका वडा नम्बर ६ का २१ वर्षिय रोशन भण्डारीविरुद्ध मुद्दा चलाइएको हो ।
आरोपित चारैजनालाई शनिवार पक्राउ गरी सार्वजनिक मुद्दा चलाइएको दार्चुला प्रहरीका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक हिक्मतवहादुर बोहराले बताउनुभयो । “सार्वजनिक हितविरुद्धको कसुरअन्तर्गत चारजनाविरुद्ध मुद्दा चलाइएको छ” उहाँले भन्नुभयो ।
जिल्ला प्रशासन कार्यालय दार्चुलामा दर्ता गरिएको मुद्दाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । आरोपितहरुलाई १० दिन प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न म्याद दिइएको छ । फौजदारी संहित ऐनको प्रावधानअनुसार मुद्दा चलाइएको प्रहरीको भनाई छ ।
कुटपिटबाट घाइते भएका जीपचालक ठगुन्नाको गोकुलेश्वर अस्पतालमा उपचार गरिएको प्रहरी निरीक्षक बोहराले बताउनुभयो । ठगुन्नाको टाउकोमा चोट लागेको छ । घाइतेको टाउकोमा ५ टाँका लगाइएको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !