चार महिनासम्म नापीको फिल्ड रेखाङ्कन बन्द

0
835

दार्चुला, असार १८ गते ।
नापी कार्यालय दार्चुलाले असारदेखि असोज मसान्तसम्म फिल्ड रेखाङ्कन कार्य बन्द गरेको छ । असार १ गते सार्वजनिक सुचनामार्फत कार्यालयले सेवाग्राहीलाई फिल्ड रेखाङ्कन सेवा रोकिएको जानकारी दिएको छ ।
जग्गा नापजाँच तथा नक्सा श्रेस्ता अद्यावधिक निर्देशिका २०७३ को भाग २ परिच्छेद ४ को दफा १ को व्यवस्थाअनुसार चार महिनाका लागि फिल्ड रेखाङ्कन बन्द गरिएको कार्यालय प्रमुख दिपेन्द्र सिंह कुवरले बताउनुभयो । ‘निर्देशिकामै असारदेखि असोजसम्मको चार महिना फिल्ड रेखाङ्कन सेवा बन्द गर्ने व्यवस्था छ’ उहाँले भन्नुभयो ।
वर्षातको समयमा घासपात र खेतीपातीले जमिनको क्षेत्र ढाकिने भएकाले फिल्ड रेखाङ्कन गर्न सम्भव नभएको नापी कार्यालयले जनाएको छ । ‘वर्षातमा फिल्ड भ्रमण जोखिम हुने भएकोले पनि हरेक वर्ष चार महिनासम्म फिल्ड रेखाङ्कन हुदैन’ नापी कार्यालयका प्रमुख दिपेन्द्र सिंह कुवरले भन्नुभयो ।
चालु आर्थिक वर्षमा हालसम्म ७ जनाले मात्रै फिल्ड रेखाङ्कनको सुविधा लिएका छन् । फिल्ड रेखाङ्कनबाट २४ हजार ४० रुपैयाँ राजश्व संकलन भएको कार्यालयको अभिलेख छ । चैत्र ११ देखि जेठ मसान्तसम्मको लकडाउन अवधिमा कार्यालयको सेवा बन्द गरिएको थियो ।
असार १ देखि स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड अपनाएर सेवा दिइदैआएको कार्यालय प्रमुख कुवरको भनाई छ । नापी कार्यालय दार्चुलामा चालु वर्षको जेठ मसान्तसम्म कित्ता काटका लागि ४ सय ६३ निवेदन परेका छन् । जिल्लाभरी जेठ मसान्तसम्म १ हजार ४ सय १० वटा कित्ताहरु कायम गरिएको नापी कार्यालयले जनाएको छ ।
फिल्डबुक उतार सेवा १० जनाले लिएका छन् । २ सय २५ कित्ताको विवरण सेवाग्राहीलाई उपलब्ध गराइएको नापी कार्यालयले जनाएको छ । जेठ मसान्तसम्म नक्सा प्रिन्ट सेवाबाट १ लाख ४६ हजार ९ सय १० राजश्व संकलन भएको छ ।