चार करोडका योजना बाँडफाँड

0
2600

दार्चुला, मंसिर १३ गते ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत दार्चुलामा चार करोड बजेटका योजनाहरु छनोट गरिएका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली २०७५ को व्यवस्थाअनुसार योजनाहरु छनोट गरिएको जिल्ला समन्वय समिति दार्चुलाले जनाएको छ ।
नेपाल सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत प्रतिनिधिसभाको प्रत्येक निर्वाचन क्षेत्रमा चार करोड बजेटको व्यवस्था गरेको थियो । विगतमा सांसद विकास कोषको नामले परिचित यो कार्यक्रमअन्तर्गत चालु वर्षका लागि २० वटा योजना छनोट गरिएका छन् ।
दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्ना नेतृत्वको कार्यक्रम निर्देशक समितिले कार्तिक १४ गते बजेट बाँडफाँड गरेको जिल्ला समन्वय समिति दार्चुलाले जनाएको छ । कार्यक्रम निर्देशक समितिमा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य रहेका दिलेन्द्रप्रसाद बडू सदस्य छन् भने जिल्ला समन्वय अधिकारी सचिव रहने प्रावधान छ ।
प्रतिनिधिसभा सदस्यद्वय ठगुन्ना र बडूको सहमतिमा सबै योजनाहरुको टुंगो लागेको जिल्ला समन्वय अधिकारी कमलवहादुर थापाले बताउनुभयो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज १८ गते जिल्ला समन्वय समितिलाई पत्राचार गरी कार्तिक मसान्तभित्र योजनाहरु छनोट गरी विवरण बुझाउन भनेको थियो । कार्तिक २९ गते मन्त्रालय र जिल्लास्थित स्थानीय तहहरुलाई योजनाहरुको विवरण पठाइसकेको जिल्ला समन्वय अधिकारी थापाको भनाई छ ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली २०७५ मा कार्यक्रम निर्देशक समितिका साथै कार्यक्रम परामर्श समितिको समेत व्यवस्था छ । तर निर्देशक समितिको बैठकले योजनाहरु छनोट सम्पन्न गरेको बताइएको छ । कार्यक्रम परामर्श समितिको बैठक आवश्यकताअनुसार संयोजकले बोलाउने प्रावधान छ । संघीय र प्रदेश संसदका सदस्यहरु, जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुख तथा नगरपालिकाका प्रमुख र गाँउपालिका अध्यक्षहरु कार्यक्रम परामर्श समितिमा सदस्य रहन्छन् । निर्देशक समिति र परामर्श समितिमा संयोजक प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य रहने व्यवस्था छ ।
नियमावलीको व्यवस्थाअनुसार ५० लाखभन्दा बढीका दुइटा योजनाहरु छनोट गरिएका छन् । त्यस्तै बाँकी योजनाहरु १० लाखभन्दा माथिका छन् । छनोट गरिएका योजनाहरुको कार्यान्वयन सम्बन्धित स्थानीय तहबाट गरिने व्यवस्था छ ।