चरेश मुद्दामै जेल बसेर ९ महिनाअघि छुटेका थिए बल्देव

2383

दार्चुला, भदौ ९ गते ।
विहिवार धारचुलामा करिब ५ किलोग्राम चरेशसहित पक्राउ परेका बल्देवसिह महर चरेश मुद्दामै जेल बसेर ९ महिनाअघि दार्चुला कारागारबाट छुटेका थिए । उत्तराखण्ड प्रहरीले धारचुलाको घट्टेधार माथि टिभीटावरको नजिकबाट महरलाई चरेशसहित पक्राउ गरेको हो ।
यसअघि खलंगाको बंगाबगडबाट २०७३ मंसिर ५ गते महरलाई प्रहरीले पक्राउ गरेको थियो । करिब २ किलो चरेशसहित समातिएका महरका विरुद्ध जिल्ला अदालत दार्चुलामा मुद्दा चलाइएको थियो ।
जिल्ला अदालत दार्चुलाले २०७३ चैत्र ३ गते मुद्दाको फैसला गर्दै महरलाई दोषि ठहर गरेको थियो । फैसलाअनुसार लागू औषध नियन्त्रण ऐन २०४४ को दफा १४ को देहाय १ को घ (४) बमोजिम १ वर्ष कैद र ६ हजार नगद जरिवाना तोकिएको थियो । महरले जरिवाना रकम तत्काल बुझाएका थिए भने २०७४ मंसिर ५ गतेसम्म कारागार सजाय भोगेको जिल्ला कारागारको अभिलेख छ ।
गत मंसिर ६ गते मात्रै कारागारबाट छुटेका महर ९ महिनापछि दोस्रो पटक चरेशसहित समातिएका छन् । महरलाई दुई वर्षअघि प्रहरी हवल्दार किशन चन्दले चरेशसहित समातेका थिए । हवल्दार चन्दकै प्रतिवेदनका आधारमा महरविरुद्ध मुद्दा चलाइएको थियो । महर महाकाली नगरपालिका वडा नम्बर ३ बाँजका स्थानीय वासिन्दा हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !