गोकुलेश्वर अस्पतालमा डाक्टर पठाउन माग

0
822

दार्चुला, साउन ११ गते ।
शैल्यशिखर नगरपालिकाको केन्द्रमा रहेको गोकुलेश्वर अस्पतालमा डाक्टरको व्यवस्था गर्न माग गरिएको छ । दुई हप्तादेखि डाक्टरविहिन भएको अस्पतालमा यथाशीघ्र डाक्टर पठाउन माग गरिएको जिल्ला प्रशासन कार्यालय र शैल्यशिखर नगरपालिकाले जनाएको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग डाक्टर व्यवस्थापनका लागि माग गरिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो । ‘नयाँ आर्थिक वर्षदेखि डाक्टरविहिनताको अवस्था आएपछि यसबारे माथिल्लो निकायलाई जानकारी गराएका छौ’ प्रजिअ पोखरेलले भन्नुभयो ।
गोकुलेश्वरमा अस्पतालमा कार्यरत एकजना डाक्टर अध्ययन विदामा गएका र अर्का डाक्टरको सेवाअवधि समाप्त भएकोले डाक्टरविहिनताको अवस्था आएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रवहादुर विष्टले बताउनुभयो । अस्पतालमा डाक्टर व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयमा लिखित माग गरिएको उहाँले जानकारी दिनुभयो ।
गोकुलेश्वर अस्पतालमा नयाँ डाक्टर पठाउन वा करारमा भर्ना गर्ने व्यवस्थाका लागि माग गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्टले बताउनुभयो । डाक्टरको अभावमा अस्पतालको सेवा प्रवाह प्रभावित हुँदैआएको छ । गोकुलेश्वर अस्पतालमा लामो समयदेखि डाक्टरबाट ओपिडी र अन्य उपचार सेवा उपलब्ध हुँदैआएको छ ।
गोकुलेश्वर अस्पतालमा डाक्टर नभएकोबारे सामाजिक विकास मन्त्रालयमा जानकारी पुगेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनुभयो । ‘यसबारे मन्त्रालयबाट केही न केही निर्णय आउछ, मन्त्रालयस्तरमा यसबारे जानकारी भइसकेको छ’ उहाँले भन्नुभयो ।