गैरराजनीतिक व्यक्ति राजनीतिमा

0
772

सम्पादकीय ।

नेकपा एमाले र नेपाली काँग्रेसले आफ्नो संगठन विस्तार कार्यलाई तीब्रता दिएका छन् । जिल्लाका एकसठ्ठी वटै वडाका प्रत्येक टोलमा टोल कमिटी र समितिहरु गठन गरिदै छन् भने मतदाताहरुलाई एकअर्को पार्टीमा प्रवेश गराउँदैछन् ।

नेकपा माओवादीले भने अहिल्यै कुनै कार्यक्रम सार्वजनिक गरेको छैन तर प्रदेश कमिटी चयन गरिसकेकाले अबको केही हत्पामै माओवादीले पनि चुनावी कार्यक्रम अगाडि बढाउने छ र त्यतिबेला पनि दलबदलका समाचारहरुले पुनः स्थान पाउनेछन् ।  एमाले, काँग्रेस र माओवादीका प्रत्येक टोलमा आफ्नो संगठन छन् भने राप्रपाको प्रत्येक वडासम्म पहुँच छ । यस्तो अवस्थामा निर्वाचन सन्निकट भएकाले पनि संगठन बिस्तार र दलबदलका समाचारहरु निरन्तर आइरहने छन् ।

दलहरुले सार्वजनिक गर्ने दलबदल गर्नेहरुको संख्या जोड्ने हो भने दार्चुलाको मतदाता संख्याभन्दा बढी नै हुने देखिन्छ । योजना नपाएर, पद नपाएर, आफ्ना मान्छेको सरुवा नभएर, जागिर नदिलाएर, घरायसी रिसिबी भएर, कुनै अर्को कारणले मनमुटाव भएर, ठेक्कापट्टा नपाएर, आफ्नो पसलमा चियानास्ता नखाएर, आफ्नो भनेको नमानेर रिसाएर अर्को पार्टीमा जाने र पुनः पार्टीमा फर्किनेहरुका कारण दलहरुले सार्वजनिक गर्ने दलबदलको संख्या यसरी बढ्ने अवस्था देखिन्छ । त्यसमाथि माथिल्लो नेतृत्वले आफ्नो मतलब नगरेको, भनेको ठाउँमा योजना नपारिदिएको, संगठनमा आफ्नो बर्चश्व नभएको आदि कारणले पनि दलबदल गर्ने गर्दछन् । दलबदल गर्नु पर्ने कारणका रुपमा देखिएका यी सब अराजनीतिक कारण हुन् । जनप्रतिनिधि र नेताहरु योजनामुखि, जागिरमुखी, ठेक्कामुखि भएपछि राजनीतिक नीति कार्यक्रमहरुको मतलब कसैले गर्दैनन् भन्ने प्रस्ट भई सकेको छ । यसकै कारण निर्वाचन खर्चिलो हुँदै गएको तथ्य पनि कसैबाट छिपेको छैन तर टोल टोलमा टोल कमिटी समिति गठन हुँदा पार्टीहरुले आफ्ना नीति र कार्यक्रमलाई, आफ्नो स्थानीय विकासको योजनालाई प्रथामिकता दिने परै जाओस् यी विषयमा प्रवेश नै नगरी अर्को पार्टीका नेताहरुको बद्ख्वाईँ गरेर, अरुलाई निचा देखाएर संगठन बिस्तार गर्ने काम गर्दै आएका छन् ।

अरुको बदनाम गरेर आफ्नो संगठन बिस्तार गर्ने कार्यमा लागेका नेता कार्यकर्ताहरुबाट नीतिगत र कार्यक्रमगत योजनाको अपेक्षा गर्नु नै प्रतिउत्पादक हुनेछ र यस्तो प्रवृत्तिले निर्वाचनलाई झन् खर्चिलो बनाउने छ । निर्वाचन खर्चिलो भयो भने राजनीतिक क्षेत्रमा गैररजानीतिक व्यक्तिको प्रवेश हुनेछ । पछिल्लो समय राजनीतिमा मौलाएको अनियमितताका विभिन्न कारणमध्ये गैरराजनीतिक व्यक्ति जनप्रतिनिधि हुनु र त्यस्ता व्यक्ति पार्टीको संगठनमा भित्रिनु पनि एक रहेको छ । गैरराजनीतिक मान्छेले संगठनलाई विधि, पद्धति, नीति, कार्यक्रमअनुसार सञ्चालन गर्नेभन्दा पनि व्यक्तिगत फाइदा मात्रै हर्ने भएकाले उसले न निर्वाचनलाई बेखर्चि बनाउन सक्छ न आममतदातालाई मतदाताको रुपमा हेर्न गर्दछ । मतदातालाई वस्तु मान्ने भएकाले यस्ता व्यक्तिले निर्वाचनमा मत बेचबिखनको प्रक्रियालाई मात्रै जितहार देख्ने गर्दछन् र राजनीति अनियमितताको मार्गमा अग्रसर हुन्छ ।