गृहमन्त्रीको दार्चुला भ्रमणमा के-के भयो ?

0
962
सशस्त्र प्रहरीको भवनको शिलान्यास गर्दै गृह मन्त्री

दार्चुला, असोज १५ गते ।
गृहमन्त्री रामवहादुर थापा ‘बादल’को दार्चुला भ्रमणले नयाँ तरंग मात्रै ल्याएको छैन, सीमाक्षेत्रमा आश पनि जगाएको छ । राजधानीमा मन्त्रिमण्डल पुनर्गठनको रस्साकस्सी भइरहदा गृहमन्त्री ‘बादल’ भने देशभरीको गृह प्रशासन हाक्ने दलबलसहित शुक्रवार दार्चुलाको व्यासक्षेत्र पुगेका छन् । मन्त्रिपरिषद्मा हुनसक्ने फेरबदलले सबैक्षेत्रको ध्यान बालुवाटारतर्फ केन्द्रीत गराएको छ । गृहमन्त्री बादल भने गृह मन्त्रालय हाक्ने सारथीहरु लिएर भारतबाट अतिक्रमित नेपाली भूमि कालापानी नजिकको छाङरु भ्रमणमा निस्किनुभयो ।
व्यास उपत्यकामा पर्ने सातवटा गाउँमध्येको मध्यमा पर्ने छाङरु गाउँ कालापानी क्षेत्रभन्दा १२ किलोमिटर दक्षिणमा पर्दछ । गृहमन्त्रीसहित उच्च अधिकारीहरुको टोलीले शुक्रवारको रात छाङरुमै बिताएको छ । दार्चुला जिल्ला सदरमुकामबाट करिब ८० किलोमिटरको दूरीमा रहेको र सुरक्षाकर्मीका लागि समेत उचित भौतिक व्यवस्थापन हुन नसकेको छाङरुमा गृहमन्त्रीको टोली किन बास बस्यो ? यो कौतुहलता र चासोको विषयले स्थानीयवासी, जिल्लाका वासिन्दा र काठमाण्डौसम्मको ध्यान आकृष्ट गराएको छ ।
व्यासको छाङरुमा स्थापना गरिएको सशस्त्र प्रहरीको ५० नम्बर गुल्मको उद्घाटन र गुल्म भवनको गृहमन्त्रीले शिलान्यास गर्ने औपचारिक कार्यक्रम तय गरिएको थियो । यसका लागि गृहमन्त्रीले दार्चुला भ्रमण गर्नेबारे भदौ अन्तिम साता जिल्लास्थित सुरक्षा निकायहरुमा अनौपचारिक जानकारी पुगेको थियो । तर, काठमाण्डौंमा नेकपाको सचिवालय बैठक भइरहेको र तत्कालै मन्त्रिमण्डल पुनर्गठन हुने गृहकार्यले गृहमन्त्रीको भ्रमण निश्चित थिएन । शुक्रवार गृहमन्त्री दार्चुला आउनुभन्दा एक दिन अगाडि असोज ८ गते विहानसम्म पनि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको मात्रै दार्चुला भ्रमण हुने टुंगो थियो ।
शुक्रवार विहान काठमाण्डौबाट गृहमन्त्रीसहित दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश सिंह ठगुन्ना, गृहसचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरीका आइजिपी खनालसहितको उच्चस्तरीय टोली आउनेबारे विहिवार साँझमात्रै जिल्लास्तरमा जानकारी पुगेको थियो । त्यसअघि प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखहरु पनि दार्चुला भ्रमणमा को को आउदैछन् भन्ने अन्यौलतामै थिए ।
शुक्रवार विहान काठमाण्डौबाट सुर्खेतसम्म नेपाली सेनाको स्काइ ट्रकमा आएको गृहमन्त्रीको टोली सुर्खेतबाट सेनाको हेलिकोप्टरबाट दार्चुला पुग्यो । शुक्रवार मध्यान्ह १२ः१० मा खलंगा पुगेको टोलीले सदरमुकामस्थित सेनाको व्यारेकमा २० मिनेट भेटघाट गर्यो । प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलसहित जिल्लाका सुरक्षा प्रमुखहरुसंग गृहमन्त्रीसहितको टोलीले जिल्लाको वस्तुस्थितिबारे छलफल गरेको सुरक्षा स्रोतले बतायो ।
मध्यान्ह १२ः३५ मा खलंगाबाट व्यासको छाङरुका लागि सेनाको हेलिकोप्टर उड्यो । २० मिनेटमै छाङरुको सुतला भन्ने स्थानमा हेलिकोप्टर अवतरण भयो । सुतलामा पछिल्लो समय स्थायी प्रकृतिको हेलिप्याड बनाइएको छ । व्यासक्षेत्रमा जाने सबैजसो हेलिकोप्टरहरु सुतला भन्ने स्थानमै अवतरण हुने गर्दछन् ।
गृहमन्त्रीको टोलीमा उहाँका राजनीतिक सल्लाहकार डा. सूर्य सुवेदी, सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारी, सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेल, डिआइजी हरिशंकर बुढाथोकी, नेपाली सेनाको सहायक रथी पवनराज घिमिरे पनि सहभागी थिए ।
व्यासमै बस्नेबारे काठमाण्डौदेखि छलफल, खलंगामा टुंगो
गृहमन्त्रीले दार्चुला भ्रमण गर्दा एक रात व्यासक्षेत्र विताउनेबारे काठमाण्डौमै छलफल भएको स्रोत बतायो । गृह मन्त्रालयका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईले गृहमन्त्रीसहितको उच्चस्तरीय टोलीले एक रात व्यासक्षेत्रमा बस्दा अर्थपूर्ण सन्देश जानेभन्दै प्रस्ताव गरेका थिए । राईको प्रस्तावलाई भ्रमण सुरु हुदासम्म विचाराधिक अवस्थामै राखिएको थियो । शुक्रवार साँझ व्यासमै बस्ने प्रस्तावबारे जानकार गृहसचिव महेश्वर न्यौपाने भने यसमा विश्वस्त थिएनन् । सुरक्षाकर्मीहरुकै लागि गासवासको राम्रो प्रबन्ध हुन नसकेको व्यासमा गृहमन्त्रीसहितको टोलीले वास बस्न सक्छ भन्नेमा गृहसचिव न्यौपाने ढुक्क थिएनन् । न्यौपानेले प्रमुख जिल्ला अधिकारीसंग सदरमुकाममा होटलको व्यवस्थापन गर्न भनेका थिए ।
गृहसचिवबाट खलंगा वासको संकेत पाएका प्रजिअ शरदकुमार पोखरेलले खलंगास्थित गल्फैक्षेत्रको शिखर होटलको एउटा भवननै खाली गराएका थिए । व्यासबाट फर्किएर शुक्रवार राती गृहमन्त्रीको टोली खलंगा बस्ने तयारीमा जिल्लाको सुरक्षा टीम जुटेका थियो । खलंगाको शिखर होटलमा शुक्रवार विहानैदेखि सरसफाई गराइएको र सुरक्षा निगरानीमा राखिएको स्रोतले बतायो ।
काठमाण्डौबाट सुर्खेतसम्मको जहाज यात्रा र सुर्खेतदेखि खलंगासम्मको हेलिकोप्टर यात्राका बेला पनि शुक्रवार राती कहाँ बस्नेबारे छलफल गरिएको थियो । व्यास जानुअघि खलंगामा भएको २० मिनेटको बसाईमा भने शुक्रवारको रात व्यासमै विताउने निस्कर्ष निकालिएको थियो । खलंगाबाट व्यासका लागि हेलिकोप्टरमा उड्दा भने सबैले आजको रात छाङरुमै विताइन्छ भन्ने मनस्थिति बनाइसकेका थिए ।
‘एक रात व्यासक्षेत्रको वास’ का सुत्रधार
गत वैशाख ३१ गते व्यासको छाङरुमा पहिलो पटक सशस्त्र प्रहरीको विओपी स्थापना गरिदा सशस्त्रका एआइजी नारायणवावु थापासंगै गृह मन्त्रालयका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई त्यहाँ पुगेका थिए । नेपाली सेनाका अवकाशप्राप्त सहायक रथीसमेत रहनुभएका राईले त्यतिबेला एक रात छाङरुमै विताएका थिए ।
व्यासको प्राकृतिक सुन्दरता, चिसो हावापानी र सीमाक्षेत्रको चाँसोले सुरक्षा सल्लाहकार राईको मन जितेको थियो । अर्कोपटक व्यास आउदा गृहमन्त्रीलाई नै ल्याउनेबारे राईले त्यतिबेलै सोचेका थिए । दार्चुलाका तत्कालिन प्रजिअ यदुनाथ पौडेलसंग पनि राईले छाङरुमा सशस्त्र प्रहरीको भवन शिलान्यास गृहमन्त्रीबाट गराउनेबारे छलफल गरेका थिए ।
सुरक्षा सल्लाहकार राईकै जोडवलमा गृहमन्त्रीसहितको उच्चस्तरीय टोली व्यासको छाङरुमा बसेको सुरक्षा स्रोतको भनाई छ । गृहमन्त्रीसहितको टोलीले व्यासक्षेत्रमा एक रात विताउदा सरकारका प्रति सकारात्मक सन्देश जाने बुझाइ छ । गृहमन्त्री र गृह मन्त्रालयको सक्रियता र प्राथमिकता देखाउन पनि ‘एक रात व्यासक्षेत्रको वास’ आयोजना गरिएको गृह स्रोतले बतायो ।
सीमाक्षेत्रको सुरक्षा व्यवस्थापनको श्रेय लिन पनि गृहमन्त्रीले व्यासक्षेत्रको भ्रमण र एक रात वास गरेको बुझाइ छ । यसबाट आफ्नो सक्रियता मात्रै नदेखिने, आफ्नो उपलब्धि र सफलताका रुपमा पनि देखाउन सकिने भएकोले गृहमन्त्रीको दार्चुला भ्रमण र व्यासको वास आयोजना गरिएको स्रोतले बतायो ।
व्यासमा पाइला टेक्ने र रात बिताउने पहिलो मन्त्री
व्यासक्षेत्रमा एक रात बिताउने मात्रै होइन हालसम्म पाइला टेक्ने पहिलो मन्त्री पनि ‘बादल’ बनेका छन् । यसअघि २०७६ फागुनको पहिलो साता उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हेलिकोप्टरमार्फत व्यासक्षेत्रको हवाई भ्रमण गरेका थिए । त्यतिबेला हिउँ नपग्लिएका कारण व्यासको छाङरुमा हेलिकोप्टर ल्याण्ड हुन सकेको थिए । गृहमन्त्रीले दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश सिंह ठगुन्नालाई काठमाण्डौंबाट संगै ल्याएर व्यासक्षेत्र भ्रमण गरेका छन् । जिल्लाको वस्तुस्थितिबारे छलफल गर्न र वास्तविकता थाहा पाउनका लागि सांसद ठगुन्नालाई भ्रमण दलमा ल्याइएको स्रोतले बतायो । मन्त्रिमण्डल पुनर्गठन हुँदा बाहिरिने जोखिम कम भए पनि मन्त्रालय परिवर्तन हुनसक्ने जोखिम भने गृहमन्त्रीलाई छ । मन्त्रिमण्डल पुनर्गठनमा नयाँ मन्त्रीका रुपमा प्रवेश पाउने सम्भावना भएका सांसद ठगुन्नालाई साथमा लिएर व्यासको भ्रमणमा पुगेका गृहमन्त्रीले सिमाक्षेत्रका जनतामा सकारात्मक आश छरेका छन् । व्यासक्षेत्रलाई सरकारको प्राथमिकता रहेको र विशेष प्याकेज ल्याउने घोषणा गृहमन्त्रीले गरेका छन् ।
मन्त्री बन्ने प्रतिक्षामा रहेका सांसद ठगुन्नाले बालुवाटारबाट गृहमन्त्रीसंग व्यासक्षेत्र भ्रमण गर्न ‘ग्रिन सिग्नल’ पाएपछि गृहमन्त्रीको टोलीमा निस्किएका स्रोतले बतायो । ‘गृहमन्त्रीको टोलीमा व्यासक्षेत्र भ्रमण गरेर आउनोस्, संगै काठमाण्डौं फर्किनुहोला’ भन्ने सन्देश वालुवाटारले सांसद ठगुन्नालाई दिएको थियो ।
दार्चुलाबाट निर्वाचित सांसद, गृहसचिव, उच्च सुरक्षा अधिकारीलाई संगै राखेर गृहमन्त्री बादलले व्यासक्षेत्रलाई सरकारले विशेष प्याकेज दिने घोषणा गरेपछि स्थानीय जनता भने उत्साहित भएका छन् । छाङरु गाउँमा शुक्रवार साँझ अबेरसम्म स्थानीयसंग भएको छलफलमा गृहमन्त्रीसंग आश्वासन मात्र नदिन स्थानीयवासीले आग्रह गरेका थिए । ’अहिलेसम्म सबैले कुरा मात्रै गरेका छन्, काम गरेका छैनन् तपाई पनि गर्नसक्ने काम मात्रै गर्छु भन्नुहोस्, झुटा आश्वासन नदिनुहोला’ भन्दै स्थानीय महिलाले गृहमन्त्रीलाई आशंकापूर्ण अनुरोध पोखेका छन् ।
गुल्म उद्घाटनपछि सितापुलमा फोटो सेशन
शुक्रवार दिउसो २ः१० बजे छाङरुस्थित सशस्त्र प्रहरी गुल्मको उद्घाटन गरेलगत्तै गुल्म भवनको शिलान्यास पनि गरिएको थियो । छाङरुको गागाक्षेत्रमा गुल्म उद्घाटन र भवन शिलान्यास गरी गृहमन्त्रीको टोली सितापुल पुगेको थियो । सितापुल भारतसंग सीमा जोडिएको नाका हो र सितापुलमा महाकाली नदीमाथि काठेपुल राखिएको छ । कोरोना संक्रमणका कारण हाल नेपाल–भारत जोड्ने सितापुल नाका बन्द छ । गागाक्षेत्रबाट एक किलोमिटरको दूरीमा रहेको सितापुल र वरिपरिको क्षेत्रमा गृहमन्त्रीसहितका टोली सदस्यहरुले अवलोकन गरेका थिए ।
महाकाली नदीमाथिको सितापुलमा सबैले फोटो खिचेका थिए । सितापुलको पारिपट्टि भारतीय सुरक्षा वल एसएसवीको पोष्ट छ । नेपालतर्फ गृहमन्त्रीको टोलीले फोटो खिचिरहदा र अवलोकन गरिरहदा एसएसवीका सुरक्षाकर्मीले भने चासोपूर्वक हेरिरहेका थिए ।
महाकालीको जल शिरमा छर्किए
सितापुलको छेउमै महाकाली नदी किनारको ढुंगामा बसेर गृहमन्त्रीसहितको टोलीले महाकालीको पानी शिरमा हाले र पवित्र जलको रुपमा चाखेका थिए । गृहमन्त्रीले टाउकोमा लगाएको ऊनी टोली फुकालेर महाकालीको पवित्र पानी शिरमा हालेका थिए र अंजुलीमा पानी पिएका थिए । टोलीका सबैजसो सदस्यले महाकालीको जल शिरमा हालेको र चाखेको एक सुरक्षा अधिकारीले बताए ।
सितापुलको छेउमा रहेको चौरमा उभिएर अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रको चुचुरो समेत गृहमन्त्रीले अवलोकन गरेका थिए । सितापुलको छेउबाट कालापानीको पश्चिमतर्फको चुचुरो देखिन्छ । सितापुलको दक्षिणतर्फ महाकाली नदी र तिंकर नदीको संगममा रहेको व्यास ऋषिको मन्दिर पनि गृहमन्त्रीको टोलीले दर्शन गरेको छ । टोलीले मन्दिर परिक्रमा गर्नुका साथै अवलोकन गरे पनि साथमा धुपवत्ती नबोकेकाले वत्ती बाल्न भने पाएनन् ।
गाउँमै पुगेर स्थानीयसंग छलफल
व्यास ऋषि मन्दिरको दर्शनपछि आधा घण्टा उकालो हिडेर गृहमन्त्रीको टोली छाङरु गाउँमा पुगेका थियो । सशस्त्र द्वन्द्वका बेला अछाम घटनामा मारिएका नेपाली सेनाका क्याप्टेन रमेश बोहराको घरभित्रै पसेर गृहमन्त्री वादलले रमेशकी आमासंग कुराकानी गरे । छाङरु गाउँका स्थानीयले गृहमन्त्रीको टोलीले स्वागत सत्कार गरे । स्थानीय परिकारको नास्ता र चिया भ्रमण टोलीका सबै सदस्यलाई खुवाए ।
साँझ ७ बजेसम्म छाङरुमा स्थानीयसंग सामूहिक छलफल गरेका गृहमन्त्रीसंगै सांसद गणेश सिंह ठगुन्नाले पनि आफ्ना कुरा राखे । भूगोलका साथै सिमाक्षेत्रका जनताको आवश्यकतालाई सम्बोधन गर्न आफुले सरकारसंग पहल गर्दैआएको सांसद ठगुन्नाको भनाई थियो ।
छाङरुका स्थानीयले गाउँमै बास बस्न गृहमन्त्रीको टोलीलाई धेरै आग्रह गरे । तर खाना र बासको व्यवस्थापन सशस्त्र प्रहरीको गुल्म रहेको गागाक्षेत्र भएको भन्दै शुक्रवार ७ बजे गृहमन्त्रीसहितको टोली छाङरु गाउँबाट फर्किएको थियो । गागाक्षेत्रमा रहेको कैलाश होटलको काठैकाठले बनाइएको भवनमा गृहमन्त्री, सांसद ठगुन्ना, गृहसचिव, राजनीतिक र सुरक्षा सल्लाहकारले रात बिताए । सशस्त्र प्रहरीका आइजिपीलगायत सुरक्षा अधिकारीहरु भने सशस्त्र प्रहरी गुल्मको कार्यालय परिसरमा सुते ।
विद्युत गृह र प्रहरी चौकीको निरीक्षण
शुक्रवार राती १० बजे सुतेको गृहमन्त्रीको टोली शनिवार विहान ७ बजे खलंगा फर्किन तयार भएको थियो । खलंगाबाट सेनाको हेलिकोप्टर व्यासको सुतलास्थित हेलिप्याडमा पुग्दा गृहमन्त्रीको टोलीले १८ किलोवाटको छाङरु जलविद्युत आयोजनाको पावरहाउसमा र नितिकुण्डास्थित प्रहरी चौकीको निरीक्षण गरेको थियो । दुर्गम ठाउँमा जलविद्युत सञ्चालन गरेको भन्दै गृहमन्त्रीले दीगो रुपमा सञ्चालन गर्न सुझाव दिएका छन् । सरकारले स्थानीयको आवश्यकता अनुसार सहयोग गर्ने भन्दै गृहमन्त्रीले पावरहाउसका अपरेटरलाई ३ हजार रुपैयाँ सहयोग पनि दिएका थिए ।
गागाक्षेत्रको उत्तरमा अवस्थित नीतिकुण्डामा रहेको प्रहरी चौकी भवन निरीक्षण गरेपछि चौकीको पूर्वाधार निर्माण गर्नेबारे तत्काल पहल गरिने गृहमन्त्रीले बताएका छन् । प्रहरी चौकीका सुरक्षाकर्मीहरुलाई गृहमन्त्रीले १० हजार रुपैयाँ दिएका छन् । प्रहरी चौकी र सशस्त्र प्रहरीको गुल्ममा गृहमन्त्रीले दिएको रकम सलामी दस्तुर भएको एक सुरक्षा अधिकारीले बताए । आफुलाई सलामी गर्ने सुरक्षा टोलीले सलामी दस्तुर दिने परम्परा रहेको उहाँको भनाई छ ।
तिंकर गाउँको हवाइ अवलोकन
शनिवार विहान साढे ८ बजे हेलिकोप्टरमा चढेको गृहमन्त्रीसहितको टोलीले छाङरुबाट १२ किलोमिटर पूर्वमा रहेको तिंकर गाउँको पनि हवाइ निरीक्षण गरेको थियो । अहिले नेपालको व्यासक्षेत्रमा छाङरु र तिंकर दुइटा मात्रै गाउँ छन् । छाङरुको भ्रमण गरी एक रात त्यही विताएर गृहमन्त्रीसहितको टोलीले भोलिपल्ट विहान तिंकर गाउँ पनि अवलोकन गरेको छ ।
विहान ९ बजे खलंगा पुगेको टोलीले करिब एक घण्टा पत्रकार सम्मेलनमा वितायो । व्यासमा अध्यागमन कार्यालय स्थापना गर्ने, सिमा प्रशासन कार्यालय बाह्रै महिना सञ्चालन गर्ने, शिक्षा, स्वास्थ्य, रोजगारीका लागि विशेष प्याकेज ल्याउने, तिंकर र कौवाक्षेत्रमा विओपी स्थापना गर्नेलगायतका घोषणा गृहमन्त्रीले पत्रकार सम्मेलनमा गरेका छन् ।
सेनाको विशेष सुरक्षा घेरा
गृहमन्त्रीसहित उच्चस्तरीय टोलीको वास छाङरु हुने भएपछि थप सुरक्षा व्यवस्थापनका लागि नेपाली सेनाको टोली समेत परिचालन गरिएको थियो । व्यास गाउँपालिकाको वडा नम्बर २ घाटिबगर क्षेत्रमा व्यासको पैदल बाटो निर्माण गरिरहेको सेनाको क्याम्पबाट छाङरुका लागि सुरक्षा टोली पठाइएको स्रोतले बतायो । ‘हतियारसहित एक दर्जन सेनाका सुरक्षाकर्मी गृहमन्त्रीको सुरक्षाका लागि शुक्रवार साँझ छाङरु पुगेका थिए’ जिल्लास्थित सुरक्षा स्रोतले भन्यो, ‘सुरक्षा थ्रेट नभए पनि अतिक्रमित नेपाली भूमि नजिकको क्षेत्र भएकोले उच्च सतर्कता अपनाइएको’ स्रोतको भनाई छ । गृहमन्त्रीको भ्रमण टोलीको सुरक्षाका लागि सेनाको टोली परिचालन भएकोबारे व्यासमा रहेका स्थानीय र धेरैजसो सुरक्षाकर्मीलाई समेत थाहा थिएन । ‘बाहिरी घेरामा र सादा पोशाकमा सेनाको टोली परिचालन गरिएको’ सुरक्षा स्रोतले बतायो ।