गृहमन्त्रीको टोली शुक्रवार व्यासमै बस्ने

754

दार्चुला, असोज ९ गते ।
गृहमन्त्री रामवहादुर थापा बादलको टोली शुक्रवार राती व्यासको छाङरुमै बस्ने भएको छ । शुक्रवार दिउसो गृहमन्त्रीको टोलीलाई छाङरु पुर्याएर नेपाली सेनाको हेलिकोप्टर खलंगास्थित ब्यारेकमा फकिएको छ । शुक्रवार दिउसो सशस्त्र प्रहरीको गुल्म भवन शिलान्यास गर्ने र साझ छाङरुमै बस्ने कार्यक्रम तय गरिएको छ ।
सशस्त्र प्रहरीको भवन शिलान्यास गर्न गृहमन्त्री थापा सांसद्, गृहसचिव, सशस्त्र आइजिपी र सल्लाहकारसहित व्यास गाउँपालिकाको वडा नम्बर १ छाङरु पुगेका छन् । भारतबाट अतिक्रमित भूमि नजिकको व्यासको छाङरुमा स्थापना गरिएको सशस्त्र प्रहरीको ५० नम्बर गुल्मका लागि भवन निर्माण गरिन लागेको हो । ठेक्का प्रक्रियाबाट सशस्त्र प्रहरीले भवन निर्माण गर्न लागेको हो ।
त्रिदेशीय सिमाक्षेत्रको सुरक्षाका लागि छाङरुमा वैशाख ३१ गते स्थापना गरिएको विओपीलाई गुल्म बनाइएको छ । १ सय ६० सुरक्षाकर्मीका लागि छाङरुको गागामा भवन निर्माण गर्न लागिएको हो । नेपाली सेनाको हेलिकोप्टरमार्फत छाङरु पुगेका गृहमन्त्रीले शुक्रवार नै भवन निर्माणको शिलान्यास गर्दैछन् । शुक्रवार शिलान्यास कार्यक्रम रहेको र शनिवार गृहमन्त्रीको टोली व्यासबाट फर्किने दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो ।
सशस्त्र प्रहरीको गुल्म सञ्चालनका लागि करिब १० करोडको लागतमा भवन निर्माण गरिन लागेको छ । ललितपुर उपमहानगरपालिका वडा नम्बर ४ इमाडोलको सिएबी ग्वाल्लेक नाती जेभी निर्माण कम्पनीले भवन निर्माणको ठेक्का पाएको छ । भ्याटबाहेक ८ करोड ८६ लाख २४ हजार ३ सय ४ रुपैयाँ १४ पैसाको लागत भवन निर्माणको ठेक्का सम्झौता गरिएको छ ।
एक वर्षभित्र भवन निर्माण गरिसक्ने गरी ठेक्का सम्झौता भएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालले बताउनुभयो । जेठ ८ गते भवन निर्माणको टेण्डर निकालिएकोमा भदौ अन्तिम साता मात्रै ठेक्का सम्झौता गरिएको छ । एक दर्जन निर्माण कम्पनीले टेण्डरमा प्रतिस्पर्धा गरेकोमा टेण्डरको मुल्यांकन गर्न दुई महिनाको समय लागेको छ । भदौ १६ गते ठेक्का स्वीकृत गर्ने आशयको सुचना निकालेर सशस्त्र प्रहरीको हेडक्वाटरले सम्झौता गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !