गुदगुदे खानेपानी योजना अन्तिम चरणमा

0
2470

दार्चुला, पुष १६ गते ।
नौगाड गाउँपालिकाको वडा नम्बर २ चौरीगाँउ क्षेत्रमा निर्माणाधिन गुदगुदे खानेपानी तथा सरसफाई योजना अन्तिम चरणमा पुगेको छ । ७४ घरधुरीमा खानेपानी र सरसफाईको सुविधा पुर्याउने उद्देश्यले एक वर्ष अघिदेखि योजना सञ्चालन गरिएको थियो ।
ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना र नौगाड गाउँपालिकाको साझेदारीमा खानेपानी तथा सरसफाई योजना सञ्चालन गरिएको जिल्ला जलस्रोत सल्लाहकार लवराज पन्तले बताउनुभयो । योजना निर्माणको ९० प्रतिशत कार्य सम्पन्न भइसकेको छ भने ‘पुष मसान्तभित्र योजनाका सबै क्रियाकलाप सम्पन्न गरिसक्ने’ उपभोक्ता समितिका अध्यक्ष हर्कसिह धामीले बताउनुभयो ।
योजनाअन्तर्गत ५ हजार ३ सय १३ मिटर लामो मुख्य पाइपलाइन निर्माण गरिएको अध्यक्ष धामीले बताउनुभयो । ४ वटा इन्टेक, १० वटा पानी संकलन टंकी, २ वटा पानी वितरण टंकी र १३ वटा नीजि धारामा वितरण गरिने टंकी निर्माण गरिएका छन् । चौरीगाँउस्थित आधारभूत विद्यालयमा संस्थागत धारा निर्माण गरिएको छ ।
खानेपानी तथा सरसफाई योजना मंसिरभित्रै सम्पन्न गर्नुपर्ने भए पनि हिमपातका कारण एक महिना ढिलो भएको उपभोक्ता समितिका सचिव रुकुमसिह डोबालले बताउनुभयो । ‘गाउँपालिकासंगको सम्झौता अवधि सकिएपछि एक महिना थपिएको’ उहाँको भनाई छ । चौरीगाउँका ७४ घरपरिवारमध्ये २ परिवार दलित समुदायका छन् । खानेपानी तथा सरसफाई योजनाबाट २ सय ५३ महिला र २ सय ७७ पुरुष जनसंख्या लाभान्वित हुने ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाका नौगाड गाउँपालिकास्थित जलस्रोत अधिकृत हरिमलसिह ठगुन्नाले बताउनुभयो ।
खानेपानी तथा सरसफाई योजना निर्माणका लागि ७४ लाख ४४ हजार ५ सय १८ रुपैयाँ कुल लागत रहेको छ । कुल लागतमध्ये २५ प्रतिशत जनश्रम, २० प्रतिशत गाउँपालिकाको बजेट र ५४ प्रतिशत बजेट ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले उपलब्ध गराउदैछ । उपभोक्ताहरुबाट कुल लागत १ प्रतिशत रकम नगद संकलन गरी मर्मत सम्भार कोष समेत निर्माण गरिएको जलस्रोत अधिकृत ठगुन्नाले बताउनुभयो ।
योजनाको सम्झौताअनुसार हालसम्म परियोजना र गाउँपालिकाबाट तिन किस्तामा ५५ लाख ८३ हजार ३ सय ८९ रुपैयाँ उपभोक्ता समितिले प्राप्त गरेको सचिव रुकुमसिह डोबालले बताउनुभयो । उहाँका अनुसार उपभोक्ताहरुबाट ३ लाख ८७ हजार ५ सय रुपैयाँ नगद संकलन भएको छ ।
खानेपानी तथा सरसफाई योजनाअन्तर्गत प्रत्येक घरधुरीमा खानेपानीको धारा र जुठ्यान निर्माण गरिन लागेको जिल्ला जलस्रोत सल्लाहकार लवराज पन्तले बताउनुभयो । ‘खानेपानी र सरसफाईको पाटोलाई संगै जोडेका छौ, खानेपानीको धारा बनाएदा जुठ्यान पनि निर्माण गरिएका छन्’ उहाँले भन्नुभयो ।
लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका चौरीगाँउ क्षेत्रका वासिन्दालाई व्यवस्थित र नियमित खानेपानीको सुविधा पुग्न लागेको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताउनुभयो । ‘स्थानीयका आधारभूत आवश्यकता सम्बोधन गर्नका लागि साझेदार निकायहरुसंग गाउँपालिकाले सहकार्य र समन्वय बढाइरहेको’ उहाँको भनाई छ ।
गुदगुदे खानेपानी तथा सरसफाई योजनामा ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाका राष्ट्रिय परियोजना निर्देशक महेश्वर घिमिरेले स्थलगत अनुगमन गर्नुभएको छ । पुष ९ गते गरिएको अनुगमनमा भौतिक संरचनाको निरीक्षणका साथै स्थानीय उपभोक्तासंग छलफल समेत गरिएको छ । खानेपानी तथा सरसफाई योजनालाई दीगो रुपमा सञ्चालन गर्न राष्ट्रिय परियोजना निर्देशक घिमिरेले उपभोक्ताहरुलाई आग्रह गर्नुभएको छ । परियोजना निर्देशक घिमिरे स्थानीय पूर्वाधार विभागमा सिनियर डिभिजनल इन्जिनियर समेत हुनुहुन्छ ।