गाउँका सिंहदरवारहरुको छ महिनाको खर्च सुन्य

2274

दार्चुला, पुष २६ गते ।
दार्चुलाका ९ स्थानीय सरकारहरुमध्ये ८ सरकारहरुको पुस २४ गतेसम्मको खर्च सुन्य देखिएको छ ।
गाउँका सिंहदरवारका रुपमा चिनिएका स्थानीय सरकारहरुमध्ये नौगाड गाउँपालिका बाहेक अन्य सरकारहरुले आर्थिक वर्षको ६ महिना पूरा हुँनै लाग्दा पनि पूँजीगत खर्च एक रुपैयाँ पनि गर्न सकेका छैनन् ।
नौगाड गाउँपालिकाले पुस महिनाको २४ गतेसम्म २७ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ भने अन्य २ नगरपालिका र ६ गाउँपालिकाहरुले यो अवधिसम्म कत्ति पनि रकम खर्च गर्न सकेका छैनन् ।
गाउँका सिंहदरवारहरुले पूँजिगत खर्च त गर्न सकेका छैनन् नै चार गाउँपालिका बाहेक अन्यले कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलामा प्रथम चौमासिकको फाँटवारी समेत बुझाएका छैनन् ।
आर्थिक अनुशासन कायम गर्न प्रत्येक चौमासिकमा कोष तथा लेखा नियन्त्रक कार्यालयलाई फाटवारी बुझाउनु पर्ने र दोस्रो चौमासिक सम्म ५० प्रतिशत प्रगति भएको हुनु पर्ने भएपनि जिल्लाका ८ स्थानीय तहहरुले पूँजिगत रकम कत्ति पनि खर्च गर्न सकेका छैनन् भने २ नगरपालिका र ३ गाउँपालिकाले पुस २४ गतेसम्म चौमासिक फाँटवारी समेत बुझाएका छैनन् ।
हालसम्म नौगाड, व्याँस, मार्मा र दुहूँ गाउँपालिकाले मात्रै कोष तथा लेखा नियन्त्रकको कार्यालय दार्चुलामा फाटवारी बुझाएको कार्यालयका सुचना अधिकारी इन्द्रसिह धामीले जानकारी दिनुभएको छ ।
किन भएन खर्च ?
नीति तथा कार्यक्रम समय मै गर्न भ्यायौ, वजेट विनियोजनमा केही समय लाग्यो र उपभोक्ता समितिको गठन प्रक्रिया नै ढिलो सुरु भएकाले पूँजिगत खर्च नदेखिएको’ महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले जानकारी दिएका छन् ।
वडाहरुबाट गरिनु पर्ने कार्यसम्पदानहरु समय मै नभएका कारण र उपभोक्ता समितिहरु गठन गर्ने प्रक्रिया चलिरहेकाले हाललाई खर्च नदेखिएको बताउँदै महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारी पुस मसान्तसम्म फाटवारी बुझाउने र खर्चको काम सुरु हुने बताउँछन् ।
पूँजिगत रकम खर्च हुने काम सुरु नै नभएकाले खर्च नदेखिएको शैल्यशिखर नगरपालिकाका लेखापाल शेरसिह बिष्टको भनाई छ । फाटवारी नपठाएकै कारण खर्च नदेखिएको मालिकार्जुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिसिह साउँदले बताउनुभयो । यो महिनाको अन्त्यसम्म खर्च देखिने उहाँको भनाई छ ।
जिल्लामा सबैभन्दा पहिला उपभोक्ता समिति गठन गर्ने काम सुरु गरेको व्यास गाउँपालिकाले पनि हालसम्म पूँजिगत रकम खर्च गर्न सकेको छैन । बैंक स्थापनामा भएको ढिलाई र कर्मचारीको टुंगो नलाग्दा खर्च गर्न नसकिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदत्त जोशीले बताउनुभयो । ‘यो आर्थिक वर्षमा दुई जना प्रशासकीय अधिकृत परिवर्तन भए मलाई ढिलो गरी अख्तियारी आयो, त्यसले पनि खर्चमा ढिलाई भएको हो’ निमित्त अधिकृत जोशीले भन्नुभयो ।
समय मै वजेट पारित गरेका स्थानीय सरकारहरुले आर्थिक वर्षको ६ महिना पूरा हुँनै लाग्दा कत्ति पनि खर्च गर्न नसक्नुले स्थानीय सरकाहरुले आफ्नो क्षमता बढाउन नसकेको जानकारहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !