गत बर्षादमा भएको क्षति विवरण बुझाउन स्थानिय तहहरुलाई अनुरोध

0
686

दार्चुला, जेठ १ गते ।
गत वर्ष वर्षातको समयमा क्षति भएका निजि आवासहरुको विवरण स्थानिय तहहरुले यथाशिघ्र जिल्ला विपत व्यवस्थापन समितिलाई उपलब्ध गराउनुपर्नेछ ।

शुक्रबार बसेको जिल्ला विपत व्यवस्थापन समितिको वैठकले जिल्लाका ९ ओटै स्थानिय तहलाई गत वर्ष २०७७ जेठ ३० गते देखि २०७७ भाद्र ३० गते सम्म मनसुनजन्यबाट क्षति भएका आवासहरुको विवरण यथाशिघ्र बुझाइसक्नुपर्ने निर्णय गरेको छ ।
वैठकले आ–आफ्नो स्थानिय तहभित्र गत वर्षको वर्षातका कारण बाढि पहिरोले पुर्ण र आंशिक क्षति भएका घरहरुकोे विवरण स्थानिय विपत व्यवस्थापन समितिको वैठकको निर्णय गरि जिल्ला विपत व्यवस्थापन समितिलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
मनसुनजन्य विपतका घटनाले घर पुरिएका, घर वगेका र आंशिक रुपमा क्षति भएका लाभग्राहीहरुको पहिचान गरी अन्तिम सुचि राष्ट्रिय विपत जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राविधिकरणमा विवरण माग गरेको जिल्ला विपत व्यवस्थापन समिति दार्चुलाले जनाएको छ ।
मनसुनजन्य क्रियाकलापले आवासमा पुर्ण र आंशिक क्षति भएको घरपरिवारलाई पुर्नस्थापना गर्ने नेपाल सरकारको कार्यक्रम रहेकोले राष्ट्रिय विपत जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राविधिकरणले विवरण माग गरेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताउनुभएको छ ।
मनसुनजन्य विपतका घटनाबाट पुर्ण घर क्षति भएकालाई पुर्ननिर्माण र पुर्नस्थापना र आशिंक घर क्षति भएका घरपरिवारलाई अस्थायी आवास निर्माणका लागि नेपाल सरकारले अनुदान दिने जनाएको छ । जसमा आशिंक क्षति भएका घरपरिवारलाई अस्थायी आवास निर्माणका ५० हजार वजेट अनुदान उपलब्ध हुने प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो । त्यस्तै पुर्ण क्षति भएका घर परिवारहरुलाई पुर्नस्थापना गर्न आवास निर्माणका लागि ५ लाख र जग्गा खरिदका लागि ३ लाख बजेट अनुदान उपलब्ध हुने उहाँले बताउनुभयो ।
जग्गा खरिदको हकमा पिडित परिवारको नाममा अर्को स्थानमा घडेरी नभएको अवस्थामा मात्रै अनुदान उपलब्ध गराउने मनसुनजन्य विपद प्रभावित निजि आवास पुननिर्माण तथा पुनस्थापना कार्यविधि २०७७ मा उल्लेख गरिएको छ ।
उक्त अनुदान संघिय सरकार,प्रदेश सरकार र स्थानिय सरकारले संयुक्त रुपमा व्यहोर्नु पर्ने कार्यविधिमा उल्लेख गरेको छ । कार्यविधि अनसार गाउँपालिकाले १० प्रतिशत, नगरपालिकाले १५ प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र वाँकी संघिय सरकारले व्यर्होने जनाएको छ । उक्त रकम जिल्ला विपत व्यवस्थापन कोषमा जम्मा भएपछि प्रमुख जिल्ला अधिकारीले सम्बन्धीत लाभग्राहीको बंैक खातामार्फत भुक्तानी गर्ने प्रावधान रहेको छ ।
प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको अध्यक्षतामा वसेको जिल्ला विपत व्यवस्थापन समितिको वैठकमा जिल्ला समन्वय समिति दार्चुला प्रमुख करविर बहादुर कार्कीको उपस्थिति रहेको थियो । त्यस्तै वैठकमा अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल,मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामी, मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामी,दुहु गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्की र नौगाड गाउँपालिका उपाध्यक्ष गौरी देवी ठगुन्ना, सुरक्षा निकाय प्रमुख एवं प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।