गतवर्ष नौगाडमा सबै बजेट खर्च

0
2142

दार्चुला, माघ २४ गते ।
नौगाड गाउँपालिकामा गतवर्षको सबै बजेट खर्च गरिएको छ । नेपाल सरकारले उपलब्ध गराएको वित्तिय समानिकरण, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदानका सबै बजेट खर्च गरिएको गाउँपालिकाको प्रतिवेदनमा उल्लेख छ ।
स्थानीय तहहरुमा सुत्र लेखाप्रणाली कार्यान्वयनमा ल्याइएपछि सबै गाउँपालिकाको खर्च विवरण अभिलेखीकरण भएको छ । सुत्र प्रणाली कार्यान्वयनमा नआउदा स्थानीय तहको बजेट, आम्दानी, खर्चलगायतका आर्थिक विवरणबारे कोष तथा लेखा नियन्त्रक कार्यालयलाई जानकारी हुन नसकेको कोष नियन्त्रक भूपालसिह कार्कीले बताउनुभयो ।
माघदेखि सबै स्थानीय तहमा सुत्र प्रणाली कार्यान्वयनमा ल्याइएको छ । सुत्र प्रणालीले स्थानीय तहहरुले बजेट र कार्यक्रमको विनियोजन विवरण, आम्दानी, खर्चलगायतका सबै आर्थिक विवरण राख्नुपर्ने व्यवस्था छ ।
नौगाड गाउँपालिकामा गतवर्ष १० करोड ६ लाख वित्तिय समानिकरण अनुदान र १५ करोड २४ लाख ९ हजार सशर्त अनुदान थियो । यसैगरी १ करोड ८७ लाख ६४ हजार समपूरक अनुदान र २ करोड ५० लाख विशेष अनुदान रहेकोमा सबै रकम खर्च गरिएको गाउँपालिकाको रिपोर्टिङ छ । कोलेनिका दार्चुलाले भने गतवर्षको बजेटमध्ये नौगाड गाउँपालिकाबाट ६० हजार ६ सय रुपैयाँ अनुदान फिर्ता भएको जनाएको छ ।
दार्चुलाका सबै स्थानीय तहहरुमा वित्तिय समानिकरण अनुदानको सबै रकम खर्च गरिएको विवरण छ । नेपाल सरकारले दिएको वित्तिय समानिकरण अनुदानको रकम असारसम्म खर्च हुन नसकेपछि स्थानीय तहमै रहने र नेपाल सरकारलाई फिर्ता गर्नुनपर्ने व्यवस्था रहेको कोलेनिका दार्चुलाका सुचना अधिकारी इन्द्र सिंह धामीले बताउनुभयो । ‘असारसम्म खर्च हुन नसकेको वित्तिय समानिकरण अनुदान रकमलाई स्थानीय तहले नयाँ वर्षको आम्दानीको रुपमा राख्दछन्’ उहाँले भन्नुभयो ।
गतवर्ष शैल्यशिखर नगरपालिकामा सबैभन्दा बढी वित्तिय समानिकरण अनुदान थियो । शैल्यशिखरमा १३ करोड ६१ लाख, महाकाली नगरपालिकामा १३ करोड २२ लाख, मालिकार्जुन गाउँपालिकामा १० करोड ६१ लाख र लेकम गाउँपालिकामा १० करोड २७ लाख वित्तिय समानिकरण अनुदान थियो । त्यसैगरी, दुहुँमा ८ करोड, अपिहिमालमा ६ करोड तथा व्यास र मार्मामा समान ७ करोड ८५ लाख वित्तिय समानिकरण अनुदान थियो ।
स्थानीय तहहरुले सशर्त अनुदानको बजेट सबै खर्च गर्न सकेका छैनन् । महाकालीमा २३ करोड १७ लाख ११ हजार सशर्त अनुदान भएकोमा २१ करोड ३० लाख खर्च भएको छ । शैल्यशिखरमा भने सशर्त अनुदानको सबै बजेट खर्च गरिएको छ । अपिहिमालमा ८ करोड ९४ लाख ४३ हजार सशर्त अनुदान रहेकोमा ७ करोड ४३ लाख १८ हजार खर्च भएको छ ।
दुहुँमा ९ करोड ८५ लाख ९३ हजार सशर्त अनुदानमध्ये ८ करोड ९६ लाख ८६ हजार खर्च भएको छ । व्यासमा १० करोड ४९ लाख ८९ हजारमध्ये १० करोड ३ लाख ७४ हजार सशर्त अनुदान खर्च गरिएको छ । मार्मामा १३ करोड ३५ लाख ४९ हजार अनुदानमध्ये १२ करोड ३० लाख ४५ हजार खर्च गरिएको कोलेनिका दार्चुलाले जनाएको छ ।
मालिकार्जुनमा १६ करोड ९ लाख २९ हजार सशर्त अनुदानमध्ये १४ करोड १ लाख १४ हजार खर्च गरिएको छ । लेकममा १५ करोड १७ लाख ७४ हजारमध्ये १४ करोड २० लाख ९४ हजार सशर्त अनुदान गतवर्ष खर्च भएको छ । निर्धारित कार्यक्रम र क्षेत्रमा मात्रै खर्च गर्नुपर्ने शर्त भएकोले सशर्त अनुदानको सबै बजेट स्थानीय तहहरुबाट खर्च हुन नसकेको कोलेनिका दार्चुलाका सुचना अधिकारी इन्द्र सिंह धामीले बताउनुभयो ।
समपूरक र विशेष अनुदान पनि कम खर्च
गतवर्ष स्थानीय तहहरुलाई नेपाल सरकारबाट प्राप्त भएको समपूरक र विशेष अनुदान बजेट पनि कम खर्च गरिएको छ । आर्थिक वर्षको अन्तिम समयमा बजेट दिइएकाले सबै तहहरुमा बजेट खर्च हुन नसकेको हो । नौगाड गाउँपालिकामा भने दुबै अनुदानको पूरा बजेट खर्च गरिएको छ ।
महाकालीमा २ करोड ४६ लाख ५८ हजार समपूरक अनुदान रहेकोमा १ करोड १० लाख २० हजार ७ सय १६ रुपैयाँ खर्च गरिएको अभिलेख छ । शैल्यशिखरमा २ करोड ५३ लाख ८६ हजार समपूरक अनुदानमध्ये ६७ लाख ५५ हजार ४ सय ४८ रुपैयाँ मात्रै खर्च गरिएको छ ।
अपिहिमालमा १ करोड ११ लाख ९१ हजार र मालिकार्जुनमा १ करोड ९७ लाख ९० हजार समपूरक अनुदान दिइएकोमा सबै रकम खर्च गरिएको विवरण छ । मार्मामा १ करोड ८८ लाख ७६ हजार समपूरक अनुदानमध्ये ४० लाख १२ हजार ४३ रुपैयाँ मात्रै खर्च गरिएको छ । गतवर्ष दुहुँ, व्यास र लेकम गाउँपालिकाले भने समपूरक अनुदान पाएका थिएनन् ।
गतवर्ष विशेष अनुदान पाएकामध्ये नौगाड र मालिकार्जुनले सबै बजेट खर्च गरेका छन् । नौगाडमा २ करोड ५० लाख र मालिकार्जुनमा ३ विशेष अनुदान थियो । महाकालीले पाएको ३ करोड ५० लाख विशेष अनुदानमध्ये २ करोड ६ लाख ६८ हजार ८ सय ५० रुपैयाँ खर्च गरेको छ । अपिहिमालमा २ करोड अनुदानमध्ये १ करोड १ लाख ७७ हजार ७ सय ४५ रुपैयाँ खर्च भएको छ । गतवर्ष दार्चुलाका ५ स्थानीय तहले भने विशेष अनुदान पाएका थिएनन् ।