‘गठबन्धनलाई कसरी परास्त गर्न सकिन्छ ? दार्चुलाले देखाइदियो, तपाईहरुलाई सलाम’

0
399

दार्चुला, भदौ १८ गते ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले दार्चुलाका जनता र पार्टी कार्यकर्ताको प्रशंसा गरेका छन् । मंसिर ४ गतेको आसन्न निर्वाचनलाई लक्षित गरी दार्चुला सदरमुकाम खलंगामा आयोजित अगुवा कार्यकर्ता भेलामा शुक्रवार बोल्दै महासचिव पोखरेलले स्थानीय निर्वाचन परिणामको सन्दर्भलाई जोडेर यस्तो अभिव्यक्ति दिएका हुन् ।
‘एमाले र यसको नेतृत्वका विरुद्ध घेराबन्दी भएको छ, तर मंसिर ४ को चुनावमा नेपाली जनताले घेराबन्दी तोड्छन् । राष्ट्रिय स्वाधिनता र हितका पक्षमा जनमत आउछ’ महासचिव पोखरेलले भन्नुभयो ।
‘पाँच–पाँच दल मिलेर एमालेका विरुद्ध चुनाव लड्ने तयारी गर्दैछन् । तर एमाले यो चुनौतीको सामना गर्न तयार छ । उनीहरुलाई एमालेसंग एक्ला–एक्लै लड्ने हिम्मत छैन ।’ खलंगाको खुलामञ्चमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले भन्नुभयो ।
‘पाँच दलसंग कसरी मुकाविला गर्न सकिन्छ भनेर दार्चुलाका जनता र कमरेडहरुले स्थानीय निर्वाचनमा देखाउनुभएको छ, तपाईहरुलाई सलाम भन्न चाहन्छु’ उहाँले भन्नुभयो । एमाले ‘नेकपा’ पार्टी एकताको निरन्तरताको कडी रहेको महासचिव पोखरेलले भन्नुभयो । ‘प्रचण्ड नेतृत्वको पार्टीमा माओवादी मात्रै छन्, माधव नेपाल नेतृत्वमा पार्टीमा पनि सीमित एमाले मात्रै छन्, तर केपी ओली नेतृत्वको एमालेमा एमाले र पूर्वमाओवादी सबै अटाएका छन्’ उहाँले भन्नुभयो ।
महासचिव पोखरेलले सम्बोधनको अधिकांश समय एमाले र अध्यक्ष केपी ओलीको पक्ष र प्रसंसामा खर्च गरेका छन् । ‘राष्ट्रिय स्वाधिनताको रक्षाका साथै विकास र सम्वृद्धिका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको’ उहाँको जिकिर छ । संविधान निर्माण, प्रदेशहरुको स्वरुप निर्धारण, नयाँ नक्सा जारी, नाकाबन्दीको सामना लगायतका सन्दर्भमा ओली र एमालेको नेतृत्वदायी भूमिका रहेको महासचिव पोखरेलले चर्चा गर्नुभयो ।
सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई परिचालन गरेर देशभरीको अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा विओपीहरु स्थापना गर्ने कार्य केपी ओली नेतृत्वको सरकारले गरेको उहाँले स्मरण गर्नुभयो । महाकाली कोरिडोर निर्माण पनि एमालेकै पहलमा भइरहेको उहाँको दावी छ ।
एमाले महासचिव पोखरेल, सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, सहइन्चार्ज गणेश सिंह ठगुन्ना, प्रदेश अध्यक्ष दामोदर भण्डारीसहितका नेताहरु शुक्रवार दिउसो मात्रै सदरमुकाम आइपुगेका थिए । विहिवार बैतडीको पाटनमा आयोजित पार्टी कार्यक्रममा सहभागी भएका नेताहरु शुक्रवार विहान मात्रै पाटनबाट दार्चुलाका लागि हिडेका थिए । विहिवार रातीदेखिको वर्षा र शुक्रवार विहान महाकाली लोकमार्गको गोकुलेश्वर–खलंगा सडक खण्डमा सडक अवरुद्ध हुँदा एमालेको कार्यक्रम ढिलोगरी सञ्चालन भएको थियो ।