गठबन्धनमा अन्यौल

0
740

सम्पादकीय ।
काँग्रेसले स्थानीय आवश्यकतामा आधारित भएर पार्टीहरुसँग गठबन्धन गर्ने निर्णय गरेसँगै स्थानीय स्तरमा कसरी जाने भन्ने विषयमा भने अन्यौल मै छ । केन्द्र स्तरबाटै स्थानीय तहमा कसरी जाने भन्ने वारेमा एक हप्ताभित्र अध्ययन गर्ने र प्रतिवेदन आइसकेपछि आगामि रणनीति तय गर्ने तयारी भएकाले स्थानीय तहमा अहिले नै पार्टीहरु यसरी अगाडि बढ्छन् भन्ने वारे अन्यौल देखिन्छ भने तल्लो तहका कार्यकर्ता र मतदाताहरुले एकले अर्कोलाई मत नदिने मनसाय व्यक्त गर्ने गरेकाले पनि नेताहरुलाई गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने वारेमा अन्यौलता देखिन्छ ।

दार्चुलामा काँग्रेस र माओवादीको गठबन्धन सहर्ष स्वीकार होला भन्न सकिने पर्याप्त आधारहरु भने तयार पनि नभएकाले यो अन्यौलता बढेको हो । सरकारी गठबन्धनले बाध्यकारी निर्णय गरे मात्रै दार्चुलामा काँग्रेस माओवादी गठबन्धन हुने देखिन्छ होइन भने दार्चुलामा बहुपक्षीय गठबन्धनको रौनक पनि देख्न सकिने छ । दार्चुलाका केही स्थानीय तहमा एमाले माओवादी र केही स्थानीय तहमा काँग्रेस एमालेको पनि गठबन्धन हुन सक्ने अवस्थालाई नकार्न सकिदैन । यस्तो अवस्थाले एमाले, काँग्रेस र माओवादीलाई कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय लिन कठिन भएको बुझ्न सकिन्छ । माओवादीले गत निर्वाचनमा जितेको एक पालिकासँगै अर्को थप्न चाहान्छ भने उसको लक्ष्य प्रदेश सभा सदस्य पनि हो । खासगरी मार्मा गाउँपालिकाको जितलाई निरन्तरता दिई लेकम, अपीहिलमा वा नौगाडमा माओवादीले आफ्नो जित सुनिश्चित गर्न काँग्रेस वा एमालेसँग सहकार्य गर्न सक्छ । यता एमाले र काँग्रेस पनि अधिकांश स्थानीय तहमा आफ्नो प्रतिनिधित्व गराउने र एक प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जित सुनिश्चितता खोज्दै छन् । माओवादी भने स्थानीय तहमा जसले बढी तहमा सहकार्य गर्छ उसै पार्टीसँग सहकार्य गर्न तयार हुने देखिन्छ ।
मार्माका अध्यक्ष राजनीतिका चतुर खेलाडि मानिने हुँदा उनले काँग्रेस वा एमाले कोसँग सहकार्य गर्लान् ? यसै भन्न सकिने अवस्था छैनन् तर के पक्का हो भने उनी माओवादीलाई मार्मामा हार्न दिने छैनन् र अर्को पालिकामा पनि जितको आधार तयार पार्ने छन् । उनको यही रणनीतिले गठबन्धनको जोडघटाउ सुरु हुने छ । तर स्मरणीय के छ भने एमाले, काँग्रेस र माओवादीका तल्लो तहका कार्यकर्ता र मतदाता एकअर्को पार्टीलाई मत हाल्ने मानसिकतामा छैनन् । गत प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा स्थानीय तह र माथिल्लो तहको निर्वाचनमा दलहरुले पाएको मतको विश्लेषण गर्ने हो भने दलका कार्यकर्ताहरुको रुझान सहजै थाहा पाउन सकिन्छ । परिस्थिति यो पटक पनि भिन्न भएको अवस्था होइन ।
माओवादी जुन दलसँग मिल्दा स्थानीय तहमा आफू जित्ने पालिका थप्न सक्छ र प्रदेश सभा सदस्यमा सुनिश्चित गराउन सक्छ त्यसकै आधारमा गठबन्धन गर्ने छ त्यसका लागि काँग्रेसलाई पनि माओवादीसँग मिलेर जानु उपयुक्त देखिन्छ । आफूले चाहेको स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा सदस्यमा माओवादीले मत दिने विश्वास काँग्रेसले पाए काँग्रेस केन्द्रीय गठबन्धनका कारण माओवादीसँग सहकार्य गर्न तयार हुने छ तर एक तहमा दुवै दलका कार्यकता र मतदाताहरु एकअर्को दललाई मत नहाल्ने मनोविज्ञान पालेर बसेका हुँदा काँग्रेस माओवादीसँगको सहकार्यमा ढुक्क हुन अझै सकेको देखिदैन ।