खुकुलो बनाइयो निषेधाज्ञा, चालकको एन्टीजेन परिक्षण गरि सवारी साधन चलाउन पाइने

0
593
दार्चुला सदरमुकाम खलंगा र भारतीय बजार धार्चुला

दार्चुला, असार १० गते ।
दार्चुलामा निषेधाज्ञा खुकुलो बनाइएको छ । दार्चुलामा कोरोना संक्रमणको प्रभाव केहि कम देखिएकाले निषेधाज्ञा खुकुलो गर्न लागिएको हो ।



केहि खुकुलो बनाई असार २० गते सम्म चौथो चरणमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बुधबार बसेको असार २० गते सम्म निषेधाज्ञा लम्ब्याउन सिफरिस गरेको हो । असार १० गतेसम्मका लागि थपिएको निषेधाज्ञा अझै १० दिन थप गर्ने तर अहिलेको भन्दा खुकुलो बनाइने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताउनु भयो । उहाँका अनुसार जिल्ला भित्रका सवारी साधनहरु चल्न दिइने, पसल खोल्ने समय बढाइने, बैंक तथा वित्तीय संस्थाहरु खोल्ने समय पनि बढाइने छ । जोर–बिजोर प्रणाली अनुसार जिल्लाभित्रका सवारी साधनहरु सञ्चालन गर्न दिने गरी निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनु भयो । जिल्ला भित्र सञ्चालन हुने जोर नम्बर भएका सवारी साधनहरु जोर गतेका दिन र बिजोर नम्बर भएका गाडीहरु बिजोर गते चल्न पाउने तथा सवारी चालक र सह–चालकहरुले एन्टीजेन नेगेटिभ भएको रिपोर्ट अनिवार्य गरिएको छ । चालक र सह–चालकको एन्टीजेन परीक्षणका लागि महाकालीको बसपार्क क्षेत्र, शैल्यशिखरको बसपार्क क्षेत्र, मार्मा गाउँपालिकाको बिटुले क्षेत्रमा सम्बन्धित स्थानीय तहले व्यवस्था मिलाउने छन् । दुध डेरी, पेट्रालियम पदार्थ, खाद्यान्न लगायत अत्यावश्यकीय पसलहरु बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म खोल्न पाइने भएको छ । तर होटेल, रेष्टुरेन्टहरु तथा मदिरा पसलहरु अझै खोल्न नपाइने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । बैंक तथा वित्तिय संस्थाहरु बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरेको सूचना हेर्नुहोस