खानेपानी अभावले नदीमा नुहाउन गएका एक युवाको ज्यान गयो 

935

दार्चुला, माघ १४ गते ।  

दार्चुला सदरमुकाम खलंगामा विगत केही दिन देखि खानेपानी पटक–पटक अवरुद्ध भइरहेको छ । खानेपानीको अभावका कारण शुक्रबार दिउसो महाकाली नदी किनारमा नुहाउन गएका एक जना युवाको बगेर मृत्यु भएको छ ।

दार्चुलाको ब्यास गाउँपालिका वडा नं ४ सुन्सेरा घरभई हाल सदरमुकाम खलंगामा बस्दै आइरहेका बर्ष २१ का सुवास कुँवर महाकाली नदीमा नुहाउने क्रममा बग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक मावध विश्वकर्माले बताउनुभयो । 

मृतक कुँवर बजारमा डेरा गरि कम्प्युटर सिकिरहेका थिए । नदीमा बगेको जानकारी पाएपछि स्थानीय युवा, प्रहरी र सशस्त्र प्रहरी घटना स्थल पुगेको थियो । नदीबाट बगिरहेको अवस्थामा जीवितै उद्धारगरी कुवरलाई जिल्ला अस्पताल दार्चुला पुगाइएको भएपनि अस्पतालमा डाक्टरहरुले दिउसो २ बजे मृत घोषित गरेका छन् । 

विगत दुई तीन दिन देखि खानेपानी नआउँदा सदरमुकाम खलंगामा बसोबास गरिरहेकाहरु सरसफाईका लागि महाकाली नदी तथा खानेपानीका लागि परम्परागत धाराहरुबाट बोकेर पानीको जोहो गरिरहेका छन् ।

खानेपानी कार्यालयले अवरुद्ध भएको पानी सुचारु नगर्दा कुँवरको ज्यान गएको भन्दै आफन्तहरु आक्रोशित बनेका छन् ।
‘डेरा गरि बसिरहेको विद्यार्थी खानेपानीका लागि नदी जानुपर्ने स्थिती छ,  खलंगा खानेपानी तथा सरसफाइ आयोजनाले मृतकको जिम्मा लिनुपर्छ ।’ नेकपा एमाले दार्चुलाका उप–सचिव समेत रहेका मृतकका आफन्त चन्द्रा कुँवरले भन्नुभयो ।
महाकाली नगरपालिका वडा नं ४ माल्बेला क्षेत्रमा सडक निर्माणको क्रममा खानेपानी पाइप फुट्दा बजारको खानेपानी अवरुद्ध भइरहेको खलंगा खानेपानी तथा ढल उपभोक्ता समितिका अध्यक्ष जयदेब जोशीले बताउनुभयो ।

‘सडक निर्माणका क्रममा खानेपानी अवरुद्ध भएको हो, निर्माण गरिरहेको ठेकेदारलाई खानेपानी सुचारु गर्न भनेको छु, कार्यालयबाट पनि पोलम्बर पठाएको छु । भोली बिहान सम्म पानी आउँछ’ जोशीले भन्नुभयो ।
मृतक कुँवरको शब जिल्ला अस्पताल दार्चुलामा राखिएको छ । घटनाको खानेपानी कार्यालयले जिम्मा नलिएसम्म शब नबुझ्ने मृतकका आफन्तको अडान छ । 

तपाईको प्रतिक्रिया दिनुहोस् !