खलंगा र झुलाघाट नाका नियमित खोल्न भारतको पिथौरागढका डीएम सहमत

795
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल

दार्चुला, माघ २३ गते ।
कोरोना प्रभावका कारण विगत लामो समय देखि बन्द रहेका नेपाल भारत जोड्ने दार्चुलाको खलंगा र बैतडीको झुलाघाट नाका खुल्ने भएका छन् । नेपाल सरकारको मन्त्री परिषदको बैठकले गत माघ १६ गते देखि दार्चुलाको खलंगा र बैतडीको झुलाघाट नाका सहित देशभरका विभिन्न ३० वटा नेपाल–भारत जोड्ने नाकाहरु नियमित खोल्ने निर्णय गरेको थियो । तर दार्चुला र बैतडीका नाकाहरु भारतको स्थानिय प्रशासनले खोल्न सहमति दिएको थिएन ।

भारतको पिथौरागढ जिल्लाका डिएम डा. विजय कुमार जोगदण्डले उक्त नाकाहरु खोल्न सहमती दिएसंगै नाकाहरु खुल्ने भएका छन् । ‘पिथौरागढ जिल्लाका डिएमको पत्र प्राप्त भएको छ , धार्चुलाका एसडीएमको पनि नाका खोल्ने विषयमा औपचारीक पत्र प्राप्त भएपछि सीमा नियमित खुल्छ’ जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीले भन्नुभयो । नेपालको मन्त्री परिषदले खलंगा स्थित नाका नियमित खोल्ने निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ जिल्लाका जिल्ला अधिकारी र धार्चुला तहशिलका उपजिल्ला अधिकारीलाई सीमानाका खोल्न सहजिकरण गर्न पत्राचार गरेको थियो । दार्चुला प्रशासनले पत्राचार गरेको एक हप्ता पछि पिथौरागढ जिल्ला अधिकारीले खलंगा स्थित सीमानाका खोल्ने विषयमा सहमती जनाएका छन् । पिथौरागढबाट सहमति नआउँदा धारचुलामा भलिबल प्रतियोगिता सञ्चालन भएदेखि केहि समय खलंगा स्थित सीमापुल खोलिदै आएको थियो । कोरोना प्रभावका कारण नेपाल भारत जोड्ने खलंगा स्थित सीमापुल २०७६ चैत्र १० गते विहान १० बजे देखि नियमित सञ्चालन बन्द गरिएको थियो । यद्दपी अत्यावस्यक कामकाजका लागि सीमा खोलिदै आएको थियो ।


सम्बन्धित समाचारहरु

तपाईको प्रतिक्रिया दिनुहोस् !