खलंगाको सीमापुल खुला रहने पुरानै समय कायम, अन्य सीमापुलमा कायम हुन सकेन 

510
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल

दार्चुला, चैत्र १ गते । 
दार्चुला सदरमुकाम खलंगामा रहेको सीमापुल मंगलबारबाट बिहान ७ बजे देखि बेलुका ७ बजे सम्म खुला रहने भएको छ । कोरोना संक्रमण फैलिएपछि नेपाल भारत सीमा नाका लामो समय सम्म बन्द गरिएको थियो । कोरोना पछि खोलिएको नाका बिहान ७ बजे देखि ५ बजे सम्म मात्रै खुला रहने गरेको थियो । 

बेलुका ५ बजे सम्म मात्रै सीमानाका खोलिदाँ व्यापार प्रभावित भएको भन्दै धार्चुलाका व्यापारीहरुले भारतीय प्रशासनलाई सीमा पुल खुला रहने समय पुरानै ( विहान ७ देखि बेलुका ७ बजे) कायम गर्न माग गरेका थिए । सोही मागका आधारमा भारतको धार्चुला तहशिलले गत पुष महिनामा खलंगाको सीमापुल खुला रहने समय पुरानै कायम गर्न अनुरोध गरेको थियो । तर चुनाव नजिकिएको भन्दै भारतको पिथौरागढका जिल्ला अधिकारीले विधानसभा चुनावको नतिजा घोषणा पछि मात्रै सीमाका खुला रहने पुरानो समय कायम गरिने बताएका थिए ।
निर्वाचनको घोषणा पछि भारतीय पक्षले सीमा पुल खुला रहने पुरानै समय कायम गर्न समन्वय गरेपछि मङ्गलबारदेखि खलंगाको सीमापुल बिहान ७ बजे देखि बेलुका ७ बजे सम्म खुला रहने समय कायम गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । यो समय दार्चुला सदरमुकाम खलंगामा रहेको सीमापुलमा मात्रै लागू हुनेछ । अन्य सीमापुलको सन्दर्भमा पनि भारतीय पक्षसँग छलफल गरिने सहायक प्रमुख जिल्ला अधिकारी जोशीको भनाई छ ।
दार्चुलामा भारत सँग जोड्ने हाल छ वटा सीमापुल सञ्चालनमा रहेका छन् । दार्चुलामा ब्यास गाउँपालिकाको वडा नं १ सीतापुल, वडा नं ५ को तिग्रम, महाकाली नगरपालिका वडा नं ४ को खलंगा, वडा नं ९ को दत्तु, मालिकार्जुन गाउँपालिका वडा नं ७ को जोलजिविलेकम गाउँपालिका वडा नं ३ को लाली सीमापुल सञ्चालनमा रहेका छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस् !