“क” को प्राथमिकता शिक्षा “ख” मा जलविद्युत

0
2273

दार्चुला, माघ १७ गते ।
चालु आर्थिक वर्षको प्रदेश सरकारको बजेटबाट कार्यान्वयन हुने प्रदेश पूर्वाधार विकास कार्यक्रमले प्रदेशसभाको क निर्वाचन क्षेत्रमा शिक्षालाई प्राथमिकता दिएको छ । प्रदेशसभा सदस्य गेल्बुसिह बोहरा नेतृत्वको समितिले मालिकार्जुन गाँउपालिकाको केन्द्रमा रहेको शंकरपुर क्याम्पसको भवन निर्माणमा सर्वाधिक ३५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
पूर्वाधार विकास कार्यक्रम नियमावलीअनुसार प्रत्येक प्रदेशसभा निर्वाृचन क्षेत्रमा ३५ लाखभन्दा ठूलो लागतको एउटा योजना छनौट गर्नुपर्ने व्यवस्थाअनुसार शंकरपुर क्याम्पस भवनमा बजेट राखिएको हो ।
शंकरपुर क्याम्पसबाहेक प्रदेशसभा क निर्वाचन क्षेत्रमा शिक्षा क्षेत्रका थप ३ योजना छनौट भएका छन् । लेकम गाँउपालिकाको वडा नम्बर ४ स्थित तमैराज निमावि भवन निर्माणमा १४ लाख, मालिकार्जुन गाँउपालिकाको वडा नम्बर ५ स्थित वालिचन प्रावि मल्तडीको घेरपर्खाल र शौचालय निर्माणमा ८ लाख र दुहुँ गाँउपालिकाको वडा नम्बर ३ कार्कीगाँउमा रहेको श्रीचन सामुदायिक अध्ययन केन्द्रको नाममा १० लाख बजेट छुट्याइएको छ ।
बाटो निर्माणका ४ योजना रहेका छन् । महाकाली नगरपालिकाको वडा नम्बर २ मा गाङती कुलाइजर घोरेटो बाटो मर्मतमा ८ लाख, दुहुँ गाँउपालिकाको वडा नम्बर १ मा विजयपुरदेखि सडकसम्म घोरेटो बाटोमा ८ लाख, व्यास गाँउपालिकाको वडा नम्बर ५ स्थित दुर्गास्थान माविदेखि किमसैन मन्दिरसम्म पिसिसि बाटोमा ८ लाख र महाकाली नगरपालिकाको वडा नम्बर १ स्थित अल्कापुरी मावि कोटघाटदेखि चिफुरीसम्म पिसिसि बाटोमा ८ लाख बजेट राखिएको छ ।
दुहुँ गाँउपालिकाको वडा नम्बर ५ मा सुतखोला ढल निकास योजनामा ८ लाख, दुहुँ गाँउपालिकाका वडा नम्बर १ स्थित हुनैनाथ र महादेव मन्दिर मर्मत सम्भारमा ८ लाख, व्यास गाँउपालिकाका वडा नम्बर २ स्थित घट्टेखोला खानेपानी योजना दुम्लिङमा ८ लाख बजेट छ । मालिकार्जुन गाँउपालिकाको वडा नम्बर ६ दलितटोलमा वीरभूमि ढल निकास योजनामा ८ लाख, लेकम गाँउपालिका वडा नम्बर ६ मा खाडीखोला सैना तटबन्ध निर्माणमा ८ लाख, महाकाली नगरपालिका वडा नम्बर ३ मा ठूलीवाँस सिचाई योजनामा ८ लाख र दुहुँ गाँउपालिका वडा नम्बर ५ को तुतु खानेपानी योजनामा ९ लाख रुपैयाँ बजेट राखिएको छ ।
प्रदेशसभा क मै मदन आश्रित भवन मर्मत सम्भार र शहिद प्रतिष्ठान भवन मर्मत सम्भारमा ९÷९ लाख बजेट राखिएको छ ।
प्रदेशसभा ख निर्वाचन क्षेत्रमा भने जलविद्युत क्षेत्रका ३ योजनामा बजेट राखिएको छ । नौगाड गाँउपालिकाको वडा नम्बर ४ स्थित होपरीगाड लघुजलविद्युत आयोजनामा सबैभन्दा बढी ४३ लाख बजेट राखिएको छ । अपिहिमाल गाँउपालिकाको वडा नम्बर ३ स्थित कटेलीगाड लघु जलविद्युत आयोजनामा १५ लाख र मार्मा गाँउपालिका वडा नम्बर २ स्थित घट्टेगाड लघु जलविद्युत आयोजनामा १० लाख बजेट छुट्याइएको छ ।
मार्मा गाँउपालिकाको वडा नम्बर १ स्थित लटिनाथ मावि भवन निर्माणमा १६ लाख, शैल्यशिखर नगरपालिका वडा नम्बर ९ स्थित लेक दलितटोल सिचाईकुलो निर्माणमा १० लाख बजेट छ । यी बाहेक विभिन्न १३ वटा योजना तथा कार्यक्रममा ८ लाखका दरले बजेट छुट्याइएको छ । ८ लाख बजेट राखिएका योजनाहरुमा अपिहिमाल गाँउपालिकाको वडा नम्बर ६ स्थित सितोला जापाङ इयरकोट घोरेटो बाटो निर्माण, शैल्यशिखर नगरपालिका वडा नम्बर ७ स्थित लटिनाथ मावि खोल्सी भवन मर्मत, शैल्यशिखर नगरपालिका वडा नम्बर ९ स्थित बेलाइत सिचाइ कुलो निर्माण, वडा नम्बर ३ स्थित जुडेपानी दर्मा दुबेडी खानेपानी योजना, वडा नम्बर ९ स्थित सल्लेबगड तटबन्ध निर्माण, वडा नम्बर २ स्थित पैराड दलितटोल तल्लागाँउ सिचाइ कुलो निर्माण र वडा नम्बर ४ स्थित सल्लेधार सिचाइ योजना रहेका छन् ।
आठ लाख बजेट रहेका अन्य योजनाहरुमा मार्मा गाँउपालिकाको वडा नम्बर ५ स्थित मुर्रै जन्नीगाँउ घोरेटो बाटो, मार्मा गाँउपालिका वडा नम्बर ६ को मावि निम्ठादेखि बिटुलेसम्म घोरेटो बाटो, नौगाड गाँउपालिकाको वडा नम्बर ४ स्थित होपरीगाडदेखि बगडमट्टेसम्म घोरेटो बाटो निर्माण र मार्मा गाँउपालिका वडा नम्बर ४ स्थित डाडाबाग चौलानी तटबन्ध निर्माण रहेका छन् ।
प्रदेशसभा ख निर्वाचन क्षेत्रअन्तर्गत स्थानीय तहहरुलाई लक्षित गरी स्थानीय संस्कृति कला संरक्षण प्रवद्र्धनमा ८ लाख र पर्यटन प्रवद्र्धन सांस्कृतिक महोत्सवमा ८ लाख बजेट राखिएको छ ।
प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत एउटा निर्वाचन क्षेत्रमा बढीमा २० योजना छनौट गर्न पाउने व्यवस्था छ । छनौट गरिएका योजनामा कम्तिमा ८ लाख बजेट राख्नुपर्छ भने ३५ लाखभन्दा माथिको कम्तिमा एउटा योजना पनि छनोट गर्नुपर्ने व्यवस्था छ ।