क्वारेन्टाइनमा बस्नेको संख्या घट्दै

818

दार्चुला, असार १२ गते ।
स्थानीय तहहरुले व्यवस्थापन गरेका क्वारेन्टाइनमा बस्नेहरुको संख्या घटिरहेको छ । बाहिरबाट घर फर्किनेको संख्या घटेसंगै क्वारेन्टाइनमा बस्नेहरुको संख्या घटेको हो । दुइ हप्ताको बसाई पूरा गरी क्वारेन्टाइनबाट घर फर्किनेहरु धेरै भएकाले संख्या घटिरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
भारत र अन्य ठाँउबाट घर फर्किनेहरु बढेसंगै यो संख्या जेठ महिनामा १६ सय नजिक पुगेको थियो । स्वास्थ्य कार्यालय दार्चुलाको तथ्यांकअनुसार जेठ २५ गते दार्चुला जिल्लाभरीका क्वारेन्टाइनमा १ हजार ५ सय ९५ जना पुगेका छन् । जेठ १ गते क्वारेन्टाइनमा बस्नेको संख्या ४८ मात्रै थियो । दार्चुलाका नौवटै स्थानीय तहले व्यवस्थापन गरेका क्वारेन्टाइनमा बस्नेहरुको विवरण नियमित रुपमा अद्यावधिक भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनुभयो ।
दार्चुला जिल्लाभरी ८६ स्थानमा क्वारेन्टाइन सञ्चालन गरिएको अभिलेख छ । नौवटै स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइनमा २ हजार ५ सय ७१ वेड संख्या रहेको छ । असार ११ गते सबै क्वारेन्टाइनमा गरी ५ सय ७६ जना मात्रै बसेका छन् । बाहिरबाट आउने मान्छेको संख्या कम भएकोले क्वारेन्टाइनमा बस्नेको संख्या कम भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाका फोकलपर्सन वीरेन्द्रराज भट्टले बताउनुभयो ।
असार १ गते क्वारेन्टाइनमा बस्नेको संख्या १ हजार १ सय ४९ थियो । १० दिनमा यो संख्या आधा घटेको छ । दुई हप्ताको क्वारेन्टाइन बसाइ पूरा भएपछि धेरैजना घर फर्किएका छन् । संस्थागत क्वारेन्टाइनमा बसेका सबैलाई आरडिटी परीक्षण गराइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
पछिल्लो समय बाहिरबाट आउनेको संख्या न्युन रहेको स्वास्थ्य कार्यालयका तथ्यांक सहायक खगेन्द्र कार्कीले बताउनुभयो । अधिकांश व्यक्ति स्थानीय तहले व्यवस्थापन गरेका क्वारेन्टाइनमा बसेका छन् । केही भने होम क्वारेन्टाइनमा बसेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
क्वारेन्टाइनमा बस्नेहरुको संख्या दिनहु घटिरहेको छ । असार ५ गतेसम्म ८ सय ५१ जना क्वारेन्टाइनमा बसेकोमा असार १० गते यो संख्या ६ सय ८ पुगेको थियो ।
असार ११ गतेको विवरणअनुसार शैल्यशिखर नगरपालिकामा सबैभन्दा बढी अर्थात १ सय १४ जना क्वारेन्टाइनमा बसेका छन् । नौगाड गाउँपालिकामा ९४ जना, मार्मा गाउँपालिकामा ९० जना, मालिकार्जुनमा गाउँपालिकामा ८३ जना र महाकाली नगरपालिकामा ६८ जना क्वारेन्टाइनमा छन् ।
लेकम गाउँपालिकामा ५८ जना, दुहुँ गाउँपालिकामा ३७ जना, व्यास गाउँपालिकामा २४ जना र अपीहिमाल गाउँपालिकामा ८ जना संस्थागत क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा बसेका मध्ये ३८ महिला छन् ।
स्वास्थ्य कार्यालय दार्चुलाको तथ्यांकअनुसार नौगाड, अपीहिमाल, मालिकार्जुन र लेकम गाउँपालिकामा १३÷१३ स्थानमा क्वारेन्टाइन बनाइएको छ । व्यास गाउँपालिकामा १२ स्थान, शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका र दुहुँ गाउँपालिकामा ६÷६ स्थानमा क्वारेन्टाइन छ । महाकाली नगरपालिकामा ४ स्थानमा क्वारेन्टाइन स्थापना गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !