कौवामा विओपी स्थापनाको माग

736
फाईल फोटोः कौवा र गुञ्जी क्षेत्र

दार्चुला, साउन १२ गते ।
भारतबाट अतिक्रमित नेपाली भूमि कालापानी नजिकको कौवाक्षेत्रमा सशस्त्र प्रहरीको विओपी स्थापना गर्न माग गरिएको छ ।

व्यास गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अशोक सिंह बोहराले सोमबार जिल्ला प्रशासन कार्यालय दार्चुलालाई विओपी स्थापनाका लागि लिखित रुपमा माग गरेका छन् ।

साविक व्यास गाविसको वडा नम्बर ५ मा पर्ने कौवाक्षेत्रमा सशस्त्र प्रहरीको विओपी स्थापना गर्न स्थानीयवासीका तर्फबाट माग गरिएको वडाअध्यक्ष बोहराले बताउनुभयो । ‘कौवाक्षेत्रमा सुरक्षाका दृष्टिले विओपी स्थापना गर्नु अतिआवश्यक भएको’ वडा कार्यालयको पत्रमा उल्लेख छ ।
सरकारले एक वर्षअघि मात्रै व्यासको छाङरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना गरेको छ । दार्चुलाको उत्तरी क्षेत्रमा चीन सीमा नजिक टिंकर गाउँमा सशस्त्र प्रहरीको विओपी निर्माणाधिन छ । छाङरुबाट १२ किलोमिटर पूर्वमा रहेको टिंकरमा विओपी स्थापना गर्न भौतिक पूर्वाधारको संरचना ठेकेदारमार्फत बनाइदै छ ।
महाकाली नदी किनार छेउको कौवाक्षेत्रमा पनि विओपी स्थापना गर्न स्थानीयले विगतदेखि माग गर्दैआएको छन् । ‘हामीले त छाङरुमा सशस्त्र प्रहरी राख्नुभन्दा कौवाक्षेत्रमै राख्नुपर्छ भनेर विगतमा पनि सुझाव दिएका थियौ’ छाङरुका स्थानीय विमल सिंह बोहराले भन्नुभयो । भारतबाट अतिक्रमित नेपाली भूमिको अवस्थाबारे राज्यलाई रिपोर्टिङ गर्न पनि कौवाक्षेत्रमा सशस्त्रको विओपी राख्नुपर्ने स्थानीयको सुझाव छ ।
छाङरु गाउँबाट ६ किलोमिटरको दूरीमा कौवाक्षेत्र पर्दछ । कौवाक्षेत्र सक्कली र नक्कली महाकालीको संगमस्थल पनि हो । लिम्पियाधुराबाट बगेर आउने सक्कली महाकाली र कालापानीबाट आउने लिपुखोला (नक्कली महाकाली)को संगमस्थल कौवाक्षेत्रमा सशस्त्रको विओपी राख्न माग हुदैआएको छ ।
गतवर्ष लकडाउनका अवस्थामा समेत भारतबाट अतिक्रमित गुञ्जी गाउँका स्थानीयको समूह कौवाक्षेत्रमा प्रवेश गरेको थियो । विना अनुमति भारतीय नागरिक कौवाक्षेत्रमा पुगेपछि तत्काल सशस्त्र प्रहरीको गस्ती टोलीले उनीहरुलाई पिछा गरेको थियो । परम्परागत पूजाको नाममा गुञ्जीका भारतीय नागरिकको समूह कौवाक्षेत्र प्रवेश गरेको थियो ।
कौवाक्षेत्रमा सशस्त्र प्रहरीको विओपी स्थापना गर्नेबारे एक वर्षअघि नै जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरिसकेको छ । जिल्लास्तरमा यस सम्बन्धि निर्णय भइसकेको सशस्त्र प्रहरीको ४४ नम्बर गणपति नरेन्द्र बमले बताउनुभयो । केन्द्रबाट पूर्वाधार निर्माणका लागि बजेट आएपछि कौवाक्षेत्रमा विओपी स्थापना गरिने उहाँको भनाई छ । छाङरुस्थित सशस्त्र प्रहरीको ५० नम्बर गुल्मअन्तर्गत टिंकर र कौवाक्षेत्रमा विओपी राख्ने गृहकार्य गतवर्षदेखि नै भएको छ ।
सशस्त्र प्रहरीले कौवाक्षेत्रमा विओपी स्थापनाका लागि जग्गाको पहिचान गर्ने कार्य पनि गरिसकेको गणपति बमले बताउनुभयो । नयाँ आर्थिक वर्षभित्रै कौवाक्षेत्रमा सशस्त्र प्रहरीको विओपी स्थापना हुने उहाँको भनाई छ ।
कौवाक्षेत्रमा भारतीय पक्षबाट वर्षेनि अवैध चोरीशिकारी र वनफडानी समेत हुने गरेको छ । परम्परागत रुपमा गुञ्जी गाउँका वासिन्दाको चलनभोग रहेको कौवाक्षेत्रमा छाङरु र टिंकरका स्थानीय भने जादैनन् । ‘कौवाक्षेत्रको प्राकृतिक स्रोतसाधन भारतीय नागरिकले दोहन गर्दैआएका छन्, गतवर्षदेखि छाङरुमा हिउदमा पनि सशस्त्र प्रहरी तैनाथ भएपछि भारतीयहरुको गतिविधि घटेको छ’ छाङरुका एक स्थानीयको भनाई छ ।
भारतीय नागरिक र सुरक्षाकर्मीको कटानले कौवाक्षेत्रको घना जंगल सकिएको स्थानीयको भनाई छ । ‘तल्लो र मल्लो कौवाक्षेत्रको मैदानी भाग आजभोली मरुभूमि जस्तो देखिन्छ’ छाङरुमा कार्यरत एक सुरक्षाकर्मीले भन्नुभयो । छाङरुस्थित सशस्त्र प्रहरीको ५० नम्बर गुल्म हेडक्वाटरबाट साप्ताहिक रुपमा कौवाक्षेत्रमा नियमित गस्ती हुने गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको ३० लाख बजेट खर्च गरेर गत असारमा छाङरुदेखि कौवाक्षेत्रसम्मको बाटो मर्मत गरिएको छ । कौवाक्षेत्रको उत्तरतर्फ सामुन्नेमा गुञ्जी र नाभी गाउँ पर्दछन् । दोभानबाट पूर्वतर्फ (लिपुखोला किनार) ६ किलोमिटर दूरीमा कालापानी क्षेत्र पर्दछ । भारतीय सुरक्षाकर्मीले कालापानीसम्म नेपाली सुरक्षाकर्मीलाई समेत पुग्न दिइएको छैन । छाङरुबाट हुने पट्रोलिङ (गस्ती) मल्लो कौवासम्म पुगेर फर्किने गरेको छाङरुमा कार्यरत एक सुरक्षाकर्मीले बताउनुभयो ।
कौवाक्षेत्रमा तत्काल विओपी स्थापना गरिएका सीमा सुरक्षाका साथै वनजंगल र वन्यजन्तुको समेत संरक्षणमा योगदान पुग्ने स्थानीयको भनाई छ । चालु वर्षको बजेटमा नेपाल सरकारले देशभर १ सय २० वटा नयाँ विओपी स्थापना गर्ने घोषणा गरेको छ । घोषणाअनुसार व्यासको कौवाक्षेत्रमा तत्काल विओपी राख्न स्थानीयले माग गरेका छन् ।
व्यासको १ नम्बर वडा कार्यालय र स्थानीय जनताबाट कौवाक्षेत्रमा विओपी स्थापनाको माग आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताउनुभयो । ‘जिल्लास्तरबाट तत्काल यसबारे टुंगो लगाएर केन्द्रमा पठाउछौ’ उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !