कोरोना संक्रमण रोकथामका लागि फोन स्वास्थ्य सेवा सञ्चालन

0
594

दार्चुला, जेठ ४ गते ।
स्वास्थ्य कार्यालय दार्चुलाले कोरोना संक्रमितहरुलाई स्वास्थ्यकर्मीहरुको निगरानीमा राख्न फोन स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ ।

जिल्लाभरि कोरोना संक्रमितहरुको संख्या बढीरहेको अवस्थामा संक्रमितहरुलाई स्वास्थ्यकर्मीहरुको निगरानीमा राखि समयमै उपचारका लागि अस्पताल आउन परामर्श गर्न उक्त कार्यक्रम सञ्चालनमा ल्याईको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिनुभयो । हाल कोरोना संक्रमितहरु स्वास्थ्य अवस्था अति खराब भएको अवस्थामा अस्पतालमा पुगिरहेकाले समयमै उचित उपचार नपाँउदाँ ज्यानै जाने सम्मको जोखिम बढीरहेको उहाँको भनाई छ । कोरोना संक्रमितहरुलाई समयमै स्वास्थ्य संस्थामा आउन प्र्रेरित गर्न दार्चुला जिल्ला भरिका कोरोना संक्रमितहरुलाई दैनिक रुपमा स्वास्थ्यकर्मीहरुले फोन गरि स्वास्थ्य अवस्था बारे बुझ्नेछन् ।

स्वास्थ्यमा समस्या भएको पाइएमा स्थानिय स्वास्थ्यकर्मी परिचालन गरि संक्रमितहरुको असिक्सजन लेबलको अवस्था, तापक्रम लगायतको परिक्षण गरि समयमै अस्पताल जान भनिनेछ ।
फोन स्वास्थ्य सेवाका लागि स्वास्थ्य कार्यालय दार्चुलाले पाँच जना स्वास्थ्यकर्मीहरु परिचालन गरेको छ । स्वास्थ्यकर्मीहरु मध्ये एक जना मानसिक स्वास्थ्य सम्बन्धी तालिम लिएका पनि छन् ।
होम आइसोलेनमा रहेकाहरुमा चिन्ता हुने, मानसिक असन्तुलन रहने, राती निन्द्रा नपर्ने जस्ता समस्याहरु हुने भएकाले फोन स्वास्थ्य सेवाले विरामीहरुलाई मनोपरामर्श दिइने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टको भनाई छ ।
विरामीको स्वास्थ्य अवस्था दैनिक रुपमा मुल्याङ्कन गर्नका लागि एक सय अंकको फारम बनाइएको उहाँको भनाई छ । कोरोना संक्रमित ब्यक्तिको अवस्थाबारे स्वास्थ्यकर्मीले पोषण, निन्द्रा, कसरत, मानसिक स्वास्थ्य, आइसोलेसनको अवस्था, जटिलता ब्यवस्थापनको तयारी लगायतका विषयमा फोन मार्फत सर्बेक्षण गर्नेछन् ।
दैनिक सर्बेक्षणका आधारमा अंक घट्दै गएमा त्यस्ता संक्रमितहरुलाई आवस्यक निगरानी गर्न तथा स्वास्थ्य अवस्था खराब भइरहेको भए अस्पताल जान भनिनेछ । अङ्क घट्दै गएका विरामीमा जोखिम छ भन्ने विषयमा नजिकका स्वास्थ्यकर्मी, वडाकार्यालय आदिमा सम्पर्क गरि विरामीको अवस्थाबारे बुझ्न लगाइने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टको भनाई छ । स्वास्थ्यकर्मीहरुले फोन स्वास्थ्य सेवा मार्फत विरामीहरुको दैनिक स्वास्थ्य अवस्था बुझेमा विरामीहरुमा पनि मनोबल बढी सकरात्मक प्रभाव पार्ने उहाँको भनाई छ ।
हाल कोरोना संक्रमित विरामीहरु अक्सिजनको लेबल ६० भन्दा तल भएको अवस्थामा अस्पतालमा पुगिरहेकाले उपचारमा समस्या भइरहेको र त्यसले संक्रमितहरुको जिवन समेत जोखिममा परिरहेको जिल्ला अस्पताल दार्चुलाका प्रमुख डाक्टर आर्दश लिम्बुको भनाई छ । कोरोना महामारीलाई सामान्य ज्वरोको रुपमा नलिन र समस्या भए समयमै स्वास्थ्य संस्थामा आउन उहाँको आम नागरिकहरुलाई आग्रह छ । ‘जिल्ला अस्पतालमा आउने कोरोनाका विरामीहरु पहिलेको जस्तो सामान्य अवस्थाका छैनन्, अक्सिजनको लेबल निकै कम भएको अवस्थामा पुगिरहेका छन्, गाउँघरमा कोरोना त हो, आउँछ जान्छ भन्ने सोचले समेत समस्या पुगाइरहेको छ ’ डा . लिम्बुले भन्नुभयो ।
स्वास्थ्य कार्यालय दार्चुलाले फोन स्वास्थ्य सेवा कार्यक्रमको मंगलबार औपचारीक रुपमै उद्धघाटन गरेको छ । नौलो अभ्यासको रुपमा सञ्चालन गरिएको यस कार्यक्रमले कोरोनाबाट हुने क्षति न्युनिकरण गर्ने अपेक्षा गरिएको छ ।
स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य गेल्बु बोहरा प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, जिल्ला अस्पताल दार्चुलाका प्रमुख आर्दश लिम्बु, स्वास्थ्यकर्मी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेश सभा सासंद गेल्बु बोहराले महामारी नियन्त्रणमा सबैको भुमिका रहेको बताउनुभयो । कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रदेशबाट हुने सहयोग आफुले गरिरहेको उहाँको भनाई छ । कोरोना संक्रमण जटिल मोडमा पुग्नुमा आम नागरिकहरुको लापरवाहि बढेको बोहराको भनाई छ ।
कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशिले बाहिरबाट भित्रीने मान्छेहरु अझै धेरै मात्रामा रहेकाले बाहिरबाट आएकाहरुले अनिवार्य होम क्वारेन्टाइनमा बस्न अनुरोध गर्नुभयो । ‘अझै बाहिरबाट भित्रीनेहरुको क्रम रोकिएको छैन, काठमाण्डौ, धनगढी लगायतका जिल्लाबाट अझै नागरिकहरु भित्रिरहेका छन्, अझै जिल्लामा १५ /२० दिन सम्म अवस्था गाह्रो हुन सक्छ, त्यसैले सबैले सावधानी अपनाउनु आवस्यक छ’ उहाँले भन्नुभयो ।