कोरोना प्रभाव: ऐतिहासिक जोलजिबी मेला यस बर्ष नेपाल र भारत दुबै तर्फ नलाग्ने

0
1336
फाईल फोटोः जोलजिवि

दार्चुला, कार्तिक १६ गते ।
नेपाल–भारतको ऐतिहासिक एबं सांसकृतीक जोलजिबी ब्यापार मेला यस बर्ष कोरोना कहरले प्रभावित हुने भएको छ । नोभेम्बर १४ देखि लाग्ने ऐतिहासिक जौलजिबी मेला यस बर्ष कोरोना महामारीका कारण आयोजना गर्ने कुनै तयारी नरहेको मालिकार्जुन गाउँपालिका वडा नं ७ जोलजिविका अध्यक्ष लोकेन्द्र सिह धामीले जानकारी दिनुभयो ।
नेपाल–भारत सीमा क्षेत्र मालिकार्जुन गाउँपालिकाको वडा नं ७ जोलजिवि र भारतको जौलजिवि बजारमा लाग्ने यो ऐतिहासिक मेला १ सय ४९ साल पुरानो मेला हो । महाकाली र गोरी नदीको संगम जोलजिविमा नेपाल र भारत दुबै तर्फ यो मेला लाग्ने गर्दछ । सन् १८७१ मा भारतको अस्कोटका तत्कालीन राजा पुस्कर पालले जोलजिबीमा ज्वलेश्वर मन्दिरको स्थापना गरि मेलाको सुरुवात गरेका थिए । त्यो समयमा मेलामा नेपाल र भारतका ब्यापारीका साथै चीनको तिब्बतका ब्यापारीहरुले समेत ब्यापार गर्ने गरेका थिए । सन् १९६२ को भारत–चीन युद्ध पछि तिब्बतका ब्यापारीहरुले मेलामा भाग लिन छोडेका थिए । जोलजिबी मेलामा जुम्ला तथा हुम्लाका घोडा, कपडा तथा खाद्यान्नको समेत ब्यापार हुने गरेको छ । स्थानिय सरकार आएपछि मालिकार्जुन गाउँपालिकाले जोलजिबी मेलामा ब्यापारीक महोत्सबको समेत आयोजना गर्दै आइरहेको थियो । तर यस बर्ष कोरोना भाईरसका कारण जोलजिबी मेलाका लागि गाउँपालिकाबाट कुनै बजेट विनियोजन नभएको वडाध्यक्ष लोकेन्द्र सिह धामीले जानकारी दिनुभयो । भारत संगको पुल बन्द भएपनि नेपाल तर्फ मेला लगाउने अवस्था भएपनि कोरोना भाईरसका कारण मेला नलाग्ने उहाँको भनाई छ । विगतका बर्षहरुमा गाउँपालिकाबाट जोलजिबी मेलाका लागि बजेट विनियोजन गरिने भएपछि यो बर्ष कोरोनाका कारण मेला हुन नसक्ने सम्भावना रहेकाले बजेट समेत विनियोजन नगरिएको उहाँको भनाई छ ।
ऐतिहासिक जोलजिबी मेला बर्ष दिनमा लाग्ने भएकाले स्थानियहरुले कपडा खरिद गर्ने, घरेलु आवस्यक सामान खदि गर्ने गर्थे । विगतका बर्षहरुमा जोलजिबी मेलामा घोडा विक्रिका लागि जुम्लाबाट घोडा ल्याइने गर्थ्यो, जुम्लाका ब्यापारीहरुलाई विगतका बर्षहरुमा मेलाका लागि निम्ता समेत दिन्थ्यौ, तर यस बर्ष मेला नहुने भएकाले कुनै चहलपहल नभएको वडाध्यक्ष धामीको भनाई छ । जोलजिबी मेला पर्यटन गन्तब्यका लागि चालु आर्थिक बर्षमा सुदुरपश्चिम प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट मेला मञ्च तथा शौचालयहरु निर्माण कार्य भइरहेको उहाँको भनाई छ ।

भारतका ब्यापारी समेत मेला नगर्ने पक्षमा

कोरोना महामारीका कारण ऐतिहासिक एबं अन्र्तराष्ट्रिय जोलजीबी मेला यस बर्ष नगर्न भारतको जौलजिबीका ब्यापारीहरुले निर्णय गरेको भारतीय सञ्चार माध्यमहरुले समाचार लेखेका छन् । शुक्रबार बसेको भारतको जौलजिबीका ब्यापारीहरुको बैठकले नेपाल–भारत सीमानाका बन्द रहेको तथा कोरोना कहर रहेका कारण यस बर्षको जोलजिबी मेला नमनाउने निर्णय गरेको बताइएको छ ।
मेलामा हुने भिडभाडका कारण कोरोना झन फैलिने खतरा रहेको हुदाँ प्रतिकुल स्थितीमा जौलजिबी मेला यस बर्ष नमनाउने निर्णय गरिएको भारतको जौलजिवी उद्योग ब्यापार मण्डल अध्यक्ष धिरेन्द्र धर्मशक्तुले जानकारी दिएका छन् ।
ब्यापारी, राजनितिक प्रतिनिधी तथा स्थानिय समेतको सहभागितामा बसेको बैठकले कोरोना महामारीका कारण मेला नमनाउन एकजुट भएकाले यस बर्षको मेला नलाग्ने भारतको धार्चुला तहशिलका एसडिएम अनिल कुमार शुक्लाले जानकारी दिनुभयो । यस बर्षको मेला कोरोनाका कारण स्थगित गरिएको छ, आउदो बर्षको मेला धुमधामका साथ मनाउने छौ, एसडिएम शुक्लाले भन्नुभयो ।