कोरोना प्रभावले सबै ठाउँ बन्द भइरहेको बेला ब्यासमा अनुदानको चामलमा लुट

1463

विरा दत्त भट्ट, दार्चुला
नेपाल सरकारले दुर्गम हिमाली क्षेत्र अनुदानमा विरतरण गर्दै आइरहेको सुन्सेरा डिपोको चामलमा तोकीएको भन्दा बढि मुल्य लिइरहेको पाइएको छ ।
देशैभरि कोरोनाको प्रकोपको कारण बजारहरु बन्द भइरहेको अवस्थामा ढुवानी अनुदानमा पाइने नेपाल खाद्य संस्थानको चामल मनपरि मुल्य लिइरहेको सुन्सेराका स्थानिय पत्रकार मान सिह कुवरले बताउनुभयो ।
खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड अञ्चल कार्यालय धनगढीले सुन्सेरा डिपोका लागी अरुवा मोटा चामलको मुल्य प्रति किलोग्राम ४६ रुपैया तोकेको छ । सुन्सेरा डिपोमा ३० किलोका बोराहरु धनगढी बाट प्याकीङ भएर आएका छन् । प्रति ३० किलोग्राम अरुवा मोटा चामलको मुल्य १३ सय ८० हुनुपर्नेमा सुन्सेरामा उक्त चामल प्रति बोरामा २० रुपैया बढाएर १४ सय लिइरहेको स्थानिय पत्रकार मानसिह कुवरको भनाई छ ।
नेपाल खाद्य संस्थानले खाद्यान्न कम उत्पादन हुने क्षेत्र भएकाले साविकको सुन्सेरा गा.वि.स मा ढुवानी अनुदानमा चामल विक्री गर्दै आइरहेको भएपनि हाल ब्यास गाउँपालिकाको सुन्सेरा, हुती धौलाकोट क्षेत्रमा चामल विक्रि हुदै आइरहेको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड अञ्चल कार्यालय धनगढीले जनाएको छ ।
चामल वितरणमा किचलो
खाद्यान्न ढुवानी सम्झौतामा ०७६ चैत्र सम्म १ हजार क्वीनटल चामल ढुवानी गरिसक्नुपर्ने भएपनि सुन्सेरामा अहिले सम्म २ सय क्वीनटल चामल मात्रै पुगेको सुन्सेरा डिपोका चामल वितरक नरेन्द्र भट्टले बताएका छन् ।
ठेकेदार र चामल ढुवानी कर्ताले मनपरी चामल वितरण गरिहेको उहाँको आरोप छ । सबै जनताहरुले चामल पाउनुपर्ने हो तर कसैलाइ ३० किलो को १० बोरा त कसैलाई १५ बोरा मनपरी वितरण गरिहेको उहाँँको भनाई छ ।
सुन्सेरा डिपोमा चामल समान वितरण गर्नका लागी कार्डको ब्यवस्थापन गरिएको भएपनि ठेकेदार र ट्याक्टर ब्यवसायीले चामल मनपरि बेच्दा जनताहरुले समान रुपमा चामल नपाएको वितरक नरेन्द्र भट्टको भनाई छ ।
खलंगा बाट सुन्सेरा सम्म चामल ढुवानी गरिरहेका ट्याकटर ब्यवसायी प्रेम सिह धामीलाई खाद्यन्न ढुवानीको जिम्मा दिएकोले वितरण कसरी भइरहेको छ भन्ने बारे आफुले थाहा नपाएको बडुु ट्रेडर्स एण्ड सप्लायर्सका एक जना ठेकेदार पदम बहादुर बमंको भनाई छ ।
तर ट्याकर ब्यवसायी प्रेम सिह धामी वितरकलाई चामलको जिम्मा दिए विक्री भएको पैसा नदिने भएकाले आफु नै चामल वितरण गरिरहेको बताउँछन् ।
खाद्यान्न ढुवानीमा पनि अनियमितता
यस आर्थिक बर्ष सुन्सेरा डिपोको लागी खाद्यान्न ढुवानीको जिम्मा पाएको बडुु ट्रेडर्स एण्ड सप्लायर्सले ब्यास गाउँपालिकाको वडा नं ४ सुन्सेरा सम्मको ढुवानी सम्झौता गरेपनि ब्यास गाउँपालिकाको वडा नं ६ मा पर्ने हुतिमा पनि चामल ढुवानी गर्ने गरेको पाइएको छ । दार्चुला सदरमुकाम खलंगाबाट हुती कम दुरीमा पर्ने भएकाले हुतीमा ढुवानी गर्दा प्रति ट्याक्टर ३ हजार ढुवानीकर्तालाई फाइदा पुग्ने देखिन्छ ।
सुन्सेरा सम्म ढुवानी गर्ने सम्झौता भएपनि ब्यास गाउँपालिकाले हुतीमा ढुवानी गर्नका लागी मिलाएको र त्यसमा आफु केहि पनि गर्न नसक्ने खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड धनगढीका एक जना कर्मचारीको भनाई छ । “सबै जनताले खाने नै हो, जनतालाई सहजता हुन्छ, पाइक पर्छ भने हामीले कागज मिलाईदिनेहो” उहाँले भने ।
ब्यास गाउँपालिकाका एक जना कर्मचारीलाई यस विषयमा बुझ्दा गाउँपालिकाले हुतीका जनताको सहजताका लागी मात्रै हुतीमा ढुवानी गरेको उहाँको भनाई छ ।
सम्झौतामा एकातिर र ठेकेदारले अन्य ठाउँमा पनि कागज मिलाइदिने हो भन्ने खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड धनगढीका एक जना कर्मचारीको अभिब्यक्तिले सम्बन्धीत ब्यक्तिहरुको सेटिंङमा ढुवानीमा घोटाला भएको आसंका गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !