कोरोना प्रभावः विद्यालय तहको बार्षिक नतिजा सार्वजनिक भएन

1116

विरा दत्त भट्ट, दार्चुला ।

एक शैक्षिक सत्रको अन्त्य र नयाँ शैक्षिक सत्रको सुरुवात भइसक्दा पनि दार्चुला जिल्लामा विद्यालय तहको वार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्न सकिएको छैन ।
कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरीका विद्यालयलाई कक्षा १ देखि ९ सम्मका वार्षिक परीक्षा चैत्र ५ गते सम्म परीक्षा सम्पन्न गर्न निर्देशन गरेको थियो ।
सोही अनुसार दार्चुला जिल्लाभरीका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा चैत्र ५ गतेसम्म वार्षिक परीक्षा सम्पन्न गरिसकेका थिए ।
वार्षिक परीक्षा सम्पन्न भएको समेत करिब एक महिना पुग्नै लाग्दा समेत कोरोना भाइरस र लकडाउनका कारण हालसम्म वार्षिक नतिजा सार्वजनिक गरिएको छैन ।
बैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र आरम्भ भएपनि यो वर्ष कोरोना भाइरसको संक्रमणका कारण विद्यालयहरु खुल्ने छाँटकाँट देखिदैन ।

विगतका वर्षहरुमा बैशाख पहिलो सातादेखि नै विद्यालयहरु खोलेर नयाँ भर्ना कार्य गर्ने गरिन्थ्यो तर यो वर्ष कोरोना भाइरसका कारण बैशाख महिनामा विद्यालयहरु खुल्ने सम्भावना न्युन देखिएको छ ।
मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ४ मा रहेको हुनैनाथमा मावि औतालेकमा पनि अर्को सूचना प्रकाशित नभएसम्म बार्षिक नतिजा स्थगित गरिएको प्रधानाध्यापक राजेन्द्र सिह धामीले जानकारी दिनुभयो ।
कक्षा १ देखि ९ सम्मको नतिजा तयार भइसकेको भएपनि लकडाउनका कारण विद्यालय खुल्न नसकेकाले नतिजा सार्वजनिक गर्न नसकिएको भन्दै दार्चुला सदरमुकाम खलंगामा रहेको महेन्द्र नमुना माद्यमीक विद्यालयले सुचना समेत प्रकासन गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !