कोरोना प्रभावः ब्यासी शौका समुदायलाई कुञ्चा सर्न समस्या

0
1059

विरा दत्त भट्ट, दार्चुला ।

कोरोना भाइरसले देशैभरि लकडाउन गरिनुका साथै अन्र्तराष्ट्रिय सिमा नाकाहरु बन्द गरिएपछी ब्यासी शौका समुदायलाई कुञ्चा सर्न सकस भएको छ । ब्यास गाउँपालिकाको वडा नं १ को छाङरु र तिंकरमा गर्मी याममा बस्न जाने र हिउदमा उक्त गाउँहरुमा भारी हिमपात हुने भएकाले सदरमुकाम खलंगा झर्ने गरेका छन् । उक्त मौषमी बसाईसराईलाई स्थानिय भाषामा कुञ्चा सर्नु भनिन्छ ।
अरु बर्षहरुमा बैसाख सम्म गाउँघर गई खेतीपाती लगाउनमा ब्यस्त हुने शौका समुदाय यस बर्ष कोरोना प्रभावले दार्चुला सदरमुकाम खलंगामा नै छ । छाङरु तिंकर गाउँहरुमा कुञ्चा सर्नका लागी नेपालमा बाटो नभएकाले भारतबाट जानुपर्ने बाध्यता छ । यस बर्ष भने नेपाल भारत जोड्ने सिमा नाकाहरु बन्द भएकाले गाउँघर सम्म पुग्न सौका समुदायलाई समस्या भएको छ ।
कात्र्तिक–मंसिर महिनामा व्याँसबाट खलंगा झरेका व्यासी सौका समुदाय चैत्र महिनामा व्याँस जाने गरेका छन् तर यो वर्ष गत चैत्र महिनाको सुरुवातदेखि नै कोरोना भाइरसको संक्रमण र देशभर लकडाउन घोषणाका कारण हालसम्म कुञ्चा सर्न नसकिएको वडा नम्बर १ का वडाध्यक्ष अशोक सिँह बोहराले बताउनु भयो ।
कुञ्चा सर्न ढिलाई भएपछि आज वडा नम्बर १ का वडाध्यक्ष अशोक सिँह बोहरा लगायतको टोलीले प्रमुख जिल्ला अधिकारीसंग सहजीकरणका लागि गत चैत्र ३० गते नै अनुरोध गरेका छन् । ‘हामीले चैत्र भित्रै कुञ्चा सरिसक्नु पर्ने हो, पछि नदी बढ्दै जान्छ’ वडाध्यक्ष बोहराले भन्नु भयो । अहिले बर्खेबाली रोप्नुपर्ने भएकाले उनीहरु कुञ्चा सर्ने तयारी गरिरहेका छन् । छ महिना बाँझै रहेको खेत वर्षात्मा बर्खे बाली लगाउन ढिलार्ई हुने भन्दै उनीहरु चिन्तित छन् । छ महिना मात्रै खेतीपाती गर्नुपर्ने भएकाले समयमै व्याँस पुग्न नसकिए वर्खेबाली, तरकारी फलफुल लगाउन नसकिने भन्दै ब्यासी शौका समुदाय चिन्तीत छ । खलंगाबाट व्याँस क्षेत्रका लागि बसाई सर्ने मानिसहरुको संख्या र पशुचौपायाको विवरण सहित वडा नम्बर १ को वडा कार्यालयले सिफरिस सहित पेश गरेको वडाध्यक्ष बोहराले बताउनु भयो ।
लकडाउन खुकुलो हुने बित्तिक्कै भारतीय प्रशासनसंग समन्वय गरि कुञ्चा सर्न सहज बनाइदिने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडलले आश्वासन दिनु भएको छ ।


ब्यास जाने बाटोको अवस्था बुझ्न १० जना त्यस तर्फ

सधै भारतको बाटो छाङरु र तिंकर पुग्ने ब्यासी शौका समुदाय लकडाउन र नाकाबन्दीले नेपालको बाटो भएर गाउँसम्म जानका लागी तयारी गरिरहेको छ । नेपाल भएर छाङरु र तिंकर सम्म जाने बाटोको अवलोकनका लागी विहिबार जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट ७ जनाको एक र ३ जनाको अर्काे गरि २ टोलीले बाटो अवलोकनका लागी अनुमती लिएको साहयक प्रमुख जिल्ला अधिकारी टेक सिह कुवरले जानकारी दिएका छन् । नेपालको बाटो भएर जान सहज हुने भएकाले नेपाल क्षेत्रको बाटोको अवस्था बारे बुझ्नका लागी स्थानियहरु त्यस क्षेत्रतर्फ गएको साहक प्रमुख जिल्ला अधिकारी कुवरको भनाई छ ।