कोरोनाबारे सतर्कता बढाइने

0
1461

दार्चुला, चैत्र ६ गते ।
दार्चुलामा कोरोनाबारे सतर्कता बढाइने भएको छ । जिल्लास्थित सरोकारवालाहरुबीच यसबारे विहिवार गम्भीर छलफल गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा भएको छलफलमा सबै क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी यदु नाथ पौडेलले कोरोना संक्रमणको उच्च जोखिम रहेकाले सबै क्षेत्रबाट उच्च सतर्कताको आवश्यकता रहेको बताउनुभयो । कोरोनाको संक्रमण नेपाल भित्रिन नदिन समाजका सबै क्षेत्रको सक्रियता र जागरुता जरुरी रहेको उहाँले बताउनुभयो ।
केन्द्रीय निकायको निर्देशन र गुरुयोजनाका साथै स्थानीयस्तरमा पनि कोरोनाबारे उच्च सर्तकताको अभ्यास सुरु भएको प्रजिअ पौडेलले बताउनुभयो । ‘अन्तर्राष्ट्रिय सीमा नाकामा प्राथमिकताका साथ सर्तकता अपनाइएको छ’ बैठकको अध्यक्षता गरिरहेका प्रजिअ यदु नाथ पौडेलले भन्नुभयो ।
भारतसंग सीमा जोडिएको खलंगाको पुलघाटमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी दुबैबाट कोरोनाबारे सावधानीपूर्णक चेकजाँच र परामर्शको कार्य भइरहेको बैठकमा जानकारी दिइएको छ । भारतबाट आउने नागरिकमाथि विशेष निगरानी गरिएको छ ।
कोरोनाको संक्रमणको जोखिम न्युनिकरणका लागि सबै नाकाहरुमा सतर्कता अझै बढाइने प्रजिअ पौडेललेका भनाई छ । ‘सम्बन्धित निकायसंगको छलफल र गृहकार्य गरेर थप सतर्कता र क्रियासिलता बढाउछौ’ उहाँले भन्नुभयो ।
बैठकका सहभागीहरुले कोरोनाको संक्रमण भारतबाट भित्रिन सक्ने जोखिम उच्च रहेकोमा सरोकार देखाएका छन् । भारतका साथै तराईबाट दार्चुला आउने सबै यात्रुमाथि निगरानी बढाउनुपर्ने दार्चुला बहुमुखी क्याम्पसका प्रमुख कृष्णसिह साउदले सुझाव दिनुभयो ।
महेन्द्र मावि खलंगाका प्रधानाध्यापक रामदत्त जोशीले सिमानाकामा कडाईका साथ चेकजाँच गरिनुपर्ने बताउनुभयो । आवतजावत गर्ने नेपाली नागरिकमाथि निगरानी बढाउन पनि बैठकमा सुझाव दिइएको छ ।
स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले कोरोनाको संक्रमण फैलिने उच्च जोखिम भए पनि सबैको सतर्कताले मात्रै जोखिम कम गर्न सकिने बताउनुभयो । स्वास्थ्य क्षेत्रको जनशक्ति र स्रोतसाधन कोरोनाको संक्रमण रोकथामका साथ परिचालन हुँदैआएको उहाँले जानकारी दिनुभयो ।
अत्यावश्यक कामका लागि मात्रै घरबाहिर र सिमावर्ती क्षेत्रमा आवतजावत गर्न आम नागरिकलाई आग्रह गरिने भएको छ । यसैगरी, भारतबाट नेपाल भित्रिने नागरिकहरुलाई खलंगाको पुलघाटमै साबुनपानीले हात धुने व्यवस्था गर्नेबारे पनि छलफल गरिएको छ । महाकाली नगरपालिकाको व्यवस्थापनमा हातहुने सुविधा नियमित गर्न सुझाव दिइएको छ ।
बैठकमा जिल्ला समन्वय समिति प्रमुख करवीरसिह कार्की, महाकाली नगर उपप्रमुख सुना बोहरा, राजनीतिक दलका नेताहरु, कार्यालय प्रमुखहरु लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।