कोरोनाः दार्चुलामा एन ९५ मास्क र इन्फारेड थर्मामिटर अभाव

0
2095

विरा दत्त भट्ट, ०८ चैत्र दार्चुला
कोरोना भाइरस अर्थात ( कोभिड १९) विश्वब्यापि रुपमा फैलिरहेका बेला भारतका विभिन्न ठाउँमा गएका नेपालीहरु फर्किने क्रम बढेको छ ।
दार्चुला सदरमुकाम खलंगामा रहेको पुलघाट बाट दैनिक ८० भन्दा बढि नेपालीहरु भारतका विभिन्न सहरहरुबाट फर्किरहेको कोरोनाको परिक्षणका लागी पुलघाटमा खटिएका महाकाली नगरपालिका स्वास्थ्य शाखा प्रमुख लाल जिरा रावतले बताउनुभयो ।
यति ठुलो संख्यामा कोरोना प्रभावित सहरहरुबाट नेपालीहरु फर्किरहेको अवस्थामा खलंगा बाहेक अन्य हेल्थ डेक्सहरुमा तापक्रम चेकजाचका लागी इन्फारेड थर्मामिटर नभएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख एबं जनस्वास्थ्य अधिकृत जय राज भट्टले जानकारी दिनुभयो ।
“सुदुरपश्चि प्रदेश सरकारले एउटा इन्फारेड थर्मा्मिटर उपलब्ध गराएको थियो, त्यसैले खलंगा स्थित पुलघाटमा चेकजाच गरिरहेका छौ, अन्य ठाउँका लागी पनि आवस्यक परेको भएपनि धनगढी लगायतका बजारहरुमा समेत उक्त थर्मामिटर छैन” उहाँले भन्नुभयो ।
इन्फारेड थर्मामिटरले केही दुरीबाट नै मानिसको शरिरको तापक्रम नाप्न सक्ने भएकाले कोरोनाको परिक्षणका लागी विश्वब्यापी रुपमा यसकै प्रयोग भइरहेको अवस्थामा कोरोना प्रभावित भारतका सहरहरुबाट आएकाहरुको चेकजाच भइरहेका दार्चुलाका नाकाहरु तिग्रम, दत्तु, जौलजीबी र लालीमा सामान्य थर्मामिटरले तापक्रम मापन भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख एबं जनस्वास्थ्य अधिकृत जय राज भट्टको भनाई छ ।
सामान्य थर्मामिटरले तापक्रम जाचँ गर्दा कोरोना संक्रमित ब्यक्ति भेटिएमा स्वाथ्यकर्मीहरु जोखीममा पर्ने बिज्ञहरुको भनाई छ ।
त्यसैगरि स्वाथ्यकर्मीहरुले आफ्नो सुरक्षाका लागी लगाउने एन ९५ मास्क दार्चुलामा एउटा पनि नभएको जिल्ला अस्पत्ताल दार्चुलाका निमित्त कार्यालय प्रमुख डा. अनिल वडालले जानकारी दिनुभयो ।
दैनिक जसो हेल्थ डेक्समा कोरोना भाइरसको परिक्षण गरिरहेका स्वास्थ्यकर्मीहरुलाई सामान्य सर्जिकल मास्कले जोखीम हुने उहाको भनाई छ ।
सामान्य मानिसले एन ९५ मास्क नलगाए पनि हुने तर दैनिक जसो कारोनाको परिक्षण गरिरहेका स्वास्थ्यर्मीहरु भने जोखीममा भएकाले उक्त मास्क लगाउनु उपयुक्त हुने डा. बडाल बताउँछन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड अनुसार स्क्रिनिङमा खटिने कर्मचारीहरुले मास्क, ग्लोब्स, चस्मा, खुट्टामा लाउने बुट, ह्याण्ड स्यानिटाइजर र डिसइन्फेक्सन स्प्रे अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ ।
शनिवार मात्रै भारतका विभिन्न सहरहरुमा रोजगारीको सिलसिलामा गएका ९० जना पुरुष र ७ जना महिला गरि ९७ जना खलंगा पुल घाट भएर भित्रिएका छन् भने महाकाली नगरपालिकाको वडा नं ९ मा रहेको दत्तु पुलघाट बाट ८२ जना पुरुष र २ जना महिला गरी ८४ जना भारतका विभिन्न सहरहरुबाट भित्रिएका छन् ।