कैलाश मानसरोवर यात्रा सहज बनाउन ५० लाख भारु खर्च गरिदै

2010

दार्चुला, पुष १८ गते ।
कैलाश मानसरोवर यात्रालाई सहज र व्यवस्थित बनाउन उत्तराखण्ड सरकारले तत्काल ५० लाख भारतीय रुपैयाँ खर्च गर्ने भएको छ । तिर्थयात्रीहरुलाई गुणस्तरीय सुविधा दिने उद्देश्यले कैलाश मानसरोवर यात्राको व्यवस्थापनमा यो बजेट खर्च हुने जनाइएको छ ।
भारतको धारचुलाबाट महाकाली किनारैकिनारको क्षेत्र भएर कैलाश मानसरोवर यात्रा गरिन्छ । पैदल यात्रालाई सहज र व्यवस्थित बनाउन कुमाउ मण्डल विकास निगममार्फत यो बजेट खर्च हुन लागेको भारतीय पत्रिका दैनिक जागरणले खबर लेखेको छ ।
पैदल यात्रामा पर्ने विश्राम गृहको सुधारमा बजेट खर्च गरिने कुमाउ मण्डल विकास निगमले जनाएको छ । स्वीकृत रकममध्ये २५ लाख भारु बजेट निकासा भइसकेको छ । कैलाश मानसरोवर यात्राअन्तर्गत ६० किलोमिटर लामो पैदलमार्ग छ । यात्रीहरुका लागि धारचुला, नारायणआश्रम, बुँदी, गुञ्जी, कालापानी र नाभिढागमा आवाश गृह बनाइएको छ । गुञ्जी, कालापानी र नाभिढाग अतिक्रमित नेपाली भूमिमा पर्दछन् ।
आउदो सिजनमा हुने कैलाश मानसरोवर यात्रा सजिलो बनाउन पूर्व तयारी गरिन लागेको हो । आगामी असार महिनादेखि भदौसम्म यात्रा सञ्चालन हुने भए पनि त्यसभन्दा अगाडि नै कैलाश मानसरोवर यात्रीहरुका लागि सुविधा विस्तार गरिनेछ । बजेटबाट आवाश गृहको मर्मतसम्भार र अन्य व्यवस्थापकीय कार्य गरिने कुमाउ मण्डल विकास निगमले जनाएको छ ।
निगमका सहायक अभियन्ता एमसी उप्रेतीले कैलाश यात्रा सुरुभन्दा पहिला नै सुविधा विस्तारको कार्य सम्पन्न गरिने बताउनुभयो । विश्राम गृहहरुमा सामग्री व्यवस्थापन, शौचालय मर्मत र सरसफाईको कार्य गरिनेछ । हरेक वर्ष जुनदेखि अक्टोवर महिनासम्म कैलाश मानसरोवर यात्रा सञ्चालन गरिन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !