कैलालीका कोरोना संक्रमित संग भित्रीएका दार्चुलाका ३४ जना मध्ये १५ मात्रै क्वारेन्टाइनमा

0
1385

दार्चुला, चैत्र २४ गते ।

कैलालीको लम्की नगरपालिकाका कोरोना संक्रमित युवासँगै गौरीफन्टा नाका बाट नेपाल भित्रीएका दार्चुलाका ३४ जना मध्ये १५ जना मात्रै क्वारेन्टाइनमा बसेका छन् ।
कोरोना संक्रमण भेटिएका युवासँगै आएका दार्चुलाका १९ जना भने क्वारेन्टाइनमा बस्न मानेका छैनन् ।
दार्चुलाका दुई नगरपालिका र अपी हिमाल गाउँ पालिकाका गरी १९ जना क्वारेन्टाइनमा नबसेको पाइएको छ ।
सो समूहमा नेपाल भित्रिएका शैल्यशिखर नगरपालिकाका ५, अपी हिमाल गाउँपालिकाका ५ र महाकाली नगरपालिकाका ९ जना क्वारेन्टाइनमा बसेका छैनन् भने दुहुँ गाउँपालिकाका ३, मार्मा गाउँपालिकाका ९ र नौगाढ गाउँपालिकाका ३ जनालाई भने क्वारेन्टाइनमा राखिएको छ ।
शैल्यशिखर नगरपालिकाका ५ जना नियमित सम्पर्कमा रहेको र उनीहरुले सेल्फ क्वारेन्टाइनमा बसेको जानकारी दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिह बिष्टले जानकारी दिनुभएको छ भने महाकाली नगरपालिकामा भित्रिएका ९ जना क्वारेन्टाइनमा बसेको नभएपनि नियमित स्वास्थ्य शाखाको सम्पर्कमा राखिएको नगरपालिकाका प्रवक्ता पुष्करराज जोशीले जानकारी दिएका छन् ।
टोलीसँगै दार्चुला पुगेका दुहुँका ३ जनालाई छुट्टै क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । भारतको केरलाबाट आएका उनीहरु सामान्य अवस्थामा रहेको उनीहरुलाई भारतबाट आएका १४ दिन पुगेको अध्यक्ष कार्की बताउँछन् । ‘उनीहरुमाथि हामीले विशेष निगरानी राखेका छौं, अहिलेसम्म उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेकाले थप जटिलता देखिने सम्भावना छैन ।’ अध्यक्ष कार्कीले भने ।