कैलालीका कोरोना संक्रमित संग नेपाल भित्रीएका दार्चुलाका ३४ जना कहाँ छन् ?

0
1909

पदम बडाल , दार्चुला।

भारतको विभिन्न ठाउँबाट आएर जम्मा भई कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका दार्चुलाबासीहरुलाई पहिचान गर्ने कार्य अगाडि बढेको प्रमुख जिल्ला अधिकारी युदनाथ पौडेलले जानकारी दिनुभएको छ ।
हेल्थ डेक्सबाट चैत्र १२ गते ३४ जना दार्चुलाका नेपाल भित्रिएको जानकारी आएपनि अहिलेसम्म कैलालीबाट ६६ जना दार्चुला भित्रिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिएका छन् । ‘कहाँ कहाँका हुन् भन्ने यकिन भई सकेको छ, अब सम्बन्धित पालिकामार्फत उनीहरुलाई नियमन गरी क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ ।’ प्रजिअ पौडेलले भने ।
कैलालीको टिकापुरका जुन युवकमा कोरोना पोजेटि देखिएको छ, उनीसँगै नेपाल भित्रिएका नेपालीसँग दार्चुलाका ३४ जना रहेको हेल्थ डेस्कका इन्चार्ज गणेश ठकुल्लाले जानकारी दिएका छन् ।
चैत्र १२ गते सो नाकाबाट दार्चुलाको मार्मा गाउँपालिकाका १६, शैल्यशिखर र अपी हिमालका ५÷५, दुहुँ र नौगाडका ३÷३ र महाकाली नगरपालिकाका २ जना भित्रिएको इन्चार्ज ठकुल्लाले जानकारी दिएका छन् ।

केही सेल्फ क्वारेन्टाइनमा

चैत्र १२ गते अन्यसँगै दार्चुला भित्रिएका शैल्यशिखर नगरपालिकाका जनकराज जोशी घरमा सेल्फ क्वारेन्टाइनमा बसेको बताउँछन् ।
‘घर परिवारमा छुट्टै बसेकेको छु, समुदायमा आयोजना हुने कुनै पनि कार्यक्रममा गएको छैन ।’ जोशीले फोन सम्पर्कमा भने ।
भारतको बेंगलोरबाट गाउँका चार जनासँगै घर आएका उनलाई आफूसँगै आएको एक जनामा कोरोनाको संक्रमण देखिएको थाहा छ । बेंगलोरबाट बाट आएको १४ दिनभन्दा पनि बढी बितिसक्दा पनि आफू घरबाट बाहिर ननिस्केको बताउँछन् । आफूसँगै आएका गाउँका अन्य चार जना पनि घरभन्दा बाहिर ननिस्केको उनी बताउँछन् ।