केही अनुत्तरित प्रश्नहरू

2244

सडक र बिजुली जस्ता भौतिक पूर्वाधारहरुको विकासमा निर्माण कम्पनि (ठेकेदार) गैरजिम्मेवार नहुँदा अपेक्षाकृत उपलब्धि हुन नसकेको टिप्पणी जहाँ पनि सुनिन्छ । आम नागरिकको सरोकारको विषय मात्रै नभएर जीवनसँग जोडिएको विकास निर्माणमा ढिलाइ हुँदा देश समृद्ध हुन नसक्ने कुरामा दुई मत हुने कुरै हुँदैन तर यस्तो कार्यमा समेत ढिलासुस्ति गर्ने ठेकेदारहरुलाई बक्सिस दिएर पुनः काममा उपलब्ध गराउने परिपाटीले के हामीले साँच्चै जनताको पक्षमा विकास निर्माण चाहेका हौं त ? भन्ने प्रश्न उठेको छ । स्थानीय स्तरका विकास निर्माणदेखि लिएर राष्ट्रिय स्तरका भौतिक निर्माणका काम गर्ने ठेकेदारहरु कहिलेसम्म जिम्मेवार हुने ? काममा लापरवाही गर्ने निर्माण कम्पनीले दिने कि कहिलेसम्म जिम्मेवार बनाउने ? सरकारले जवाफ दिने हो ? या यी प्रश्नहरुको जवाफ नै नपाइने हो ? अहिलेसम्म जसरी चलेको छ, त्यसरी नै विकास निर्माणका काम निर्माण सम्पन्न हुने हुन् ? यसै भन्न सकिने अवस्था छैन ।
जिल्लामा दुई विषयहरु नराम्ररी प्रभावित भएका छन्, निर्माण व्यावसायीको कामबाट । दार्चुला तिंकर सडक र जिल्लाको विद्युतीकरण । सरोकारवालाहरुले संयुक्त रुपमा यी दुई क्षेत्रको काममा कहिल्यै प्रयास गरेको देखिएन । तिनवटै तहका सरकारहरु निर्माण भएपछि निर्माण कार्यले दु्रतता पाउने कुरामा विश्वास थियो तर वर्षौसम्म ट्रयाक समेत खुल्न नसकेको तिंकर सडक र बत्तिमुनिको अध्यारो भएको दार्चुलाले त्यो विश्वासमा कमि ल्याउन नपरोस् भन्ने हेक्का राख्नु जरुरी छ । नेता तथा सरकारका उच्च पदस्थ कर्मचारीहरुले जिल्ला भ्रमण गर्दा यो क्षेत्रका समस्याहरु समाधान गर्न संयुक्त बैठकहरु, संयुक्त रुपमा दबावका कार्यक्रमहरु हुनेछन् र रोकिएर रहेका कामले कार्यान्वयनमा तीब्रता पाउनेछन् भन्ने आम नागरिकले विश्वास लिएका हुन्छन् तर नेता कार्यकर्ता भेटेर जान्छन्, उच्च स्तरीय कर्मचारी कार्यालय प्रमुख भेटेर जान्छन्, समस्या जहाँको त्यही छ ।
सडक निर्माणको काम बिस्फोट पदार्थको कारण रोकिएको, आफूले बिस्फोटक पदार्थ उपलब्ध गराउन विशेष पहल गरेको कुरालाई सामाजिक सञ्जालमार्फत भाइरल बनाउने नेतागणहरुले बिजयपुर भिर छिचोल्दा पनि सडक निर्माणको काम किन अगाडि बढ्न सकेको छैन ? भन्ने विषयमा छलफल किन गर्दैनन् ? किन समस्याको समाधान निकाल्दैनन् ? सडक निर्माण गर्ने जिम्मेवारी पाएका निर्माण कम्पनीहरुले किन निर्माण कार्यलाई निरन्तरता दिदैछैनन् ? चमेलियाको बिजुलीले देश उज्यालो हुँदा जिल्ला सदरमुकाममा मात्रै नभएर जिल्लाको ठूलो हिस्सा भारतबाट आयत गरिएको बिजुलीको भरमा छ । जिल्लामा विद्युतीकरणको काम कहिले पूरा हुन्छ ? राष्ट्रिय प्रशारणको लाइन कहिलेसम्म सदरमुकाम पुग्छ ? किन ठेकेदारले काम गर्दैछैनन् ? यस्ता प्रश्नहरुको जवाफ मात्रै होइन काम पनि दार्चुलाबासीले चाहेको कुरा जिम्मेवार वर्गलाई कसले बुझाउने हो ?

तपाईको प्रतिक्रिया दिनुहोस् !