कृर्षि ज्ञान केन्द्र स्थापना भएको एक महिना सम्म सेवा सुचारु हुन सकेन

0
1066

दार्चुला, साउन ३२ गते । दार्चुलामा कृर्षि ज्ञान केन्द्र कार्यालयको स्थापना गरिएको एक महिना पूरा भएपनि सेवा सुचारु हुन सकेको छैन । गत साउन एक गते स्थापना भएको कार्यालयमा सेवा प्रबाह नभएको र दरबन्दी अनुसार कर्मचारीहरुको समेत पदपुर्ती हुन नसकेको कृर्षि ज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकाश कुुमार पन्तले जानकारी दिनुभयो ।
कार्यालय स्थापना हुदाँ एक जना मात्रै कर्मचारी खटाइएको र आर्थिक अख्तियारी नभएको अवस्था भएकाले हाल सम्म सेवा प्रवाह हुन नसकेको कृर्षि विकास अधिकृत एबं कार्यालय प्रमुख पन्तको भनाई छ ।
‘कार्य सघाउने कर्मचारीको अभाव र आर्थिक अख्तीयारी नहुदाँ हाल सम्म सेवा प्रबाह हुन सकेन, अब आर्थिक अख्तियारी प्राप्त भएको छ, केहि दिन भित्र सेवा प्रवाह हुन्छ, अनुदानको कार्यक्रमहरु आर्थिक बर्षको सुरवाती चरणमा रहेकाले सुरु गर्न ढिलाई भएको छैन’ उहाँले भन्नुभयो । कृर्षि ज्ञान केन्द्र दार्चुलामा १३ जना कर्मचारी दरबन्दी रहेको छ । १३ जना मध्ये तिन जना कर्मचारीहरुको पदपुर्ती भएको उहाँले बताउनुभयो ।
कृर्षि ज्ञान केन्द्र दार्चुलाबाट चालु आर्थिक बर्षमा कृर्षि प्राविधिक सेवा, कृषक अनुदान, साना सिचाई, बजार विकास पुर्वाधार, विउ उत्पादन, बाझो जमिनमा खेती गर्ने कृषकहरुलाई प्रोत्साहन लगायत कृर्षि सम्बन्धी अनुदान र प्रोत्साहनका कार्यक्रमहरु सञ्चालन गरिने उहाँको भनाई छ ।
देशमा संघियता लागु भएयता दार्चुलामा रहेको जिल्ला कृर्षि विकास कार्यालय खारेज भएर दार्चुला र बैतडीको लागि कृर्षि ज्ञान केन्द्र बैतडीमा स्थापना गरिएको थियो । पछिल्लो समय सुदुरपश्चिम प्रदेश सरकारको निर्णय अनुसार कृर्षि ज्ञान केन्द्र कार्यालय र भेटेरेनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको गत असार एक गते दार्चुलामा स्थापना भएको थियो ।