कुटी र नाभीको बीचमा पर्ने नाम्पा क्षेत्रमा बादल फाट्यो

0
1459

महाकालीको उग्ररुप, सयौं मिटर सडक भत्कियो, आवागमन बन्द
दार्चुला, असार ३१ गते ।
एक हप्ता अगाडि अतिक्रमित नेपाली भूमि कुटी र नाभीको बीचमा पर्ने नाम्पा क्षेत्रमा बादल फाट्दा ठूलो प्राकृतिक प्रलय देखिएको छ । लिम्पियाधुराबाट बगेर आउने महाकाली नदीले उग्ररुप लिएको छ भने नदी किनारक्षेत्रमा बनाएको सयौं मिटर लामो सडक बगेको छ ।
घटना कुन मितिमा भएको हो भन्ने खुल्न सकेको छैन । भारतीय सुरक्षाकर्मीले उक्त क्षेत्रमा कुनै पनि नागरिकलाई जान दिदैनन् । स्थानीयवासीले समेत भारतीय सुरक्षाकर्मीको अनुमतिमा प्रवेश पाउछन् । घटनाको मिति एकिन नभए पनि एक हप्ताभन्दा धेरै समय नभएको स्रोतको भनाई छ ।
नाभी गाउँबाट ३ किलोमिटर उत्तरतर्फ नाम्पा क्षेत्र पर्दछ । झण्डै एक किलोमिटर लामो क्षेत्रमा महाकाली नदीले उग्ररुप लिएको तस्वीर कालापानी न्युज डटकमलाई प्राप्त भएको छ । २०७० सालको महाकाली वाढीभन्दा पनि उग्ररुप त्यसक्षेत्रमा देखिन्छ ।
महाकाली नदी बगिरहेको क्षेत्रको स्वरुप नै परिवर्तन भएको छ । नदीको दुबैतर्फ सयौं मिटर अग्लो ठाउँसम्म ठूल्ठूला ढुंगा र माटो थुप्रिएको छ । त्यसक्षेत्रमा बनाइएको सडकको भग्नावशेष समेत देखिदैन ।
त्यसक्षेत्रमा बादल फाट्दा नाभीभन्दा माथिको कुटी गाउँसंगको सम्पर्क विच्छेद भएको छ । त्यसक्षेत्रको प्राकृतिक विपदलगत्तै बनाइएको एउटा भिडियो पनि कालापानी न्युज डटकमलाई प्राप्त भएको छ । भिडियोमा दुइ÷तीनजनाले घटनास्थल अवलोकन गरिरहेको देखिन्छ । यति ठूलो (धेरै ठूलो) प्राकृतिक प्रलय आएको भन्दै उनीहरु आपसमा कुराकानी गरिरहेका छन् । यसक्षेत्रमा आवतजावत सुचारु गराउन एक महिनाभन्दा बढी समय लाग्ने भिडियोमा एकजनाले भनिरहेका छन् ।
नाम्पा क्षेत्रको यो प्राकृतिक प्रलय मालपा घटनाभन्दा ठूलो रहेको भिडियोमा ती व्यक्तिको भनाई छ । सन् १९९८ मा धारचुला तहसिलको मालपामा यस्तै प्राकृतिक प्रलय हुदा १ सय ९८ जनाको निधन भएको थियो । मालपा घटनामा ज्यान गुमाउने सबैजसो कैलाश मानसरोवर यात्रीहरु थिए ।
महाकाली नदी  पूूूूूर््वतर्फबाट ठूलो हिमपहिरो आएको देखिन्छ । पहिरोको लम्बाई एक किलोमिटर र चौडाई २ सय मिटरभन्दा बढी छ । क्षतिग्रस्त ठाउँको अवस्था बुझ्न सडक निर्माणमा संलग्न ग्रिफका कर्मचारी पुगेको भिडियोमा पनि देखिन्छ । उक्त क्षेत्रमा महाकाली नदीको पानी थुनिएको छ र ठूलो तलाउ बनेको छ ।
क्षतिग्रस्त ठाउँको दक्षिण तर्फको किनारमा भने सडकको भग्नावशेष देखिन्छ । बादल फाटेर हिमालय क्षेत्रको चट्टान नै महाकाली नदीमा खसेको देखिन्छ । क्षतिग्रस्त स्थानको दक्षिण तर्फ नदी थुनिएर ठूलो ताल बनेको छ र एक किलोमिटर लामो क्षेत्रमा नागबेली भएर महाकाली नदीको पानी निकास भएको देखिन्छ ।
महाकाली नदी किनारको सयौं मिटर लामो क्षेत्रको जंगलमा पनि नोक्सानी पुगेको छ । उक्त क्षेत्रमा हजारौं रुखहरु ढलेको र ढुंगामाटोले पुरिएको भिडियोमा देखिन्छ । भारतीय सञ्चारमाध्यममा यस घटनाबारे कुनै समाचार आएको छैन । भारतको सरकारी निकायले पनि यसबारे जानकारी सार्वजनिक गरेको छैन ।
घटना भएको क्षेत्रमा सञ्चारको सुविधा नभएकोले यसबारे जानकारी सार्वजनिक हुन नसकेको बुझाइ छ । भिडियोमा ग्रिफका कर्मचारी सञ्चार सेटसहित देखिएका छन् । यसबाट सरकारी र सुरक्षा निकायलाई यसबारे यथेष्ट जानकारी भएको बुझ्न सकिन्छ । कुटी गाउँमा रहेको भारत तिब्बत सीमा पुलिससंग स्याटेलाइट फोन छ । स्थानीयवासीसंग सञ्चारको कुनै साधन छैन । गुञ्जी गाउँमा भने नेपालको स्काई मोबाइलको टावरले काम गर्छ ।
गुञ्जीदेखि नाभी गाउँ हुँदै उत्तरतर्फको अन्तिम गाउँ कुटीसम्म सडक पुगेको छ । कुटी गाउँसम्म गाडी सञ्चालन हुँदैआएकोमा महाकाली नदी किनारक्षेत्रको सडक बगेपछि यातायात सेवा अवरुद्ध भएको छ ।