कालापानी सम्म दुई लेनको सडक बनाउँदै भारत 

666
फाईल फोटोः गुञ्जी, पल्च्यु क्षेत्र तथा हिउँले ढाकेको कालापानी जाने सडक

दार्चुला, जेठ ७ गते । 

भारतले कालापानी पुग्ने दुई लेनको सडक बनाइरहेको छ । अतिक्रमित नेपाली भूमि कालापानी पुग्ने सडक निर्माणका लागि भारत सरकारले थप ६ सय ५० करोड भारु बजेट विनियोजन गरिएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । हाल भारतले तावाघाट देखि लिपुलेक सम्म एक लेनको सडक निर्माण गरिसकेको छ भने सडक कालोपत्रे र नाली निर्माण तथा छेउमा पर्खाल निर्माण लगायतको काम धमाधम भइरहेको छ ।

८ मे २०२० मा भारतीय रक्षा मन्त्री राजनाथ सिहले लिपुलेक सडकको अनलाईन उद्घाटन गरेका थिए । एक लेन सडकले सेनाका ठूला गाडी ओहोर दोहोरमा समस्या उत्पन्न भएपछि दुई लेन सडक बनाउने तयारी थालिएको छ । तावाघाट देखि कालापानी सम्म करिब ५७ किलोमिटर सडक दुई लेनको बनाउनका लागि ६ सय ५० करोड भारु बजेट विनियोजन गरिएको र चाडै सडक दुई लेन बनाउन सुरु गरिएको बताइएको छ । 

धमाधम कालोपत्रे गरिदै

कालापानी, लिपुलेक र लिम्पियाधुरा जोड्ने सडकमा हाल भारतले धमाधम कालोपत्रे गरिरहेको छ । तिउतोला देखि माथिल्लो क्षेत्रमा सडक बिग्रीएको ठाउँमा सुधार तथा घट्टेबगड देखि माथिल्लो क्षेत्रको नयाँ सडकमा कालोपत्रेको काम धमाधम भइरहेको छ । भारतले बुदी–छियालेक सडकमा भारतले कालापत्रे गरिसकेको छ । बुदी देखि छियोलेक सम्मको १३ किलोमिटर सडक क्षेत्रमा कालोपत्रेको काम सम्पन्न भएको भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन् । भारतले धार्चुला तहशिलबाट महाकाली नदी किनारै किनार बुदी सम्म सडक निर्माण गरेको छ । यस सडक निर्माणको जिम्मा भारतीय सेनाको निर्माण कम्पनी बोर्डर एण्ड रोड अर्गनाइजेसन ( विआरओ) लाई दिइएको छ । बुदी भन्दा केही माथिल्लो क्षेत्रमा महाकाली नदी किनारको कमजोर भूगोलका कारण बुदीबाट छियालेक सम्म केही उकालो चडाईमा सडक बनाइएको छ । कैलाश–मानसरोवर यात्रा र चीनसँगको व्यापारका लागि भन्दै नेपाली अतिक्रमित भूमि सम्म ट्रयाक खुलाइएको कच्ची सडकलाई कालोपत्रे गर्ने तथा चौडा बनाउने काम धमाधम भइरहेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस् !