कालापानी पुग्ने बाटो सञ्चालनमा ल्याइने

2592


दार्चुला, भदौ ६ गते ।
व्यास गाँउपालिकाले बहुचर्चित कालापानी क्षेत्रमा पुग्ने बाटो सञ्चालनमा ल्याउने भएको छ । पञ्चायतकालमा निर्माण गरिएको घोरेटो बाटोलाई मर्मत गरी सञ्चालनमा ल्याउन व्यास गाँउपालिकाले चालु आर्थिक वर्षमा बजेट समेत विनियोजन गरेको छ ।
भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानीसम्म पुग्ने बाटो मर्मतका लागि व्यास गाँउपालिकाले ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । बाटो सञ्चालन गरी आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने गाँउपालिकाको तयारी रहेको गाँउपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले बताउनुभयो ।
कालापानीको चर्चा स्थानीय र राष्ट्रियस्तरमा धेरै भएकाले त्यसक्षेत्रमा भ्रमण गर्न चाहनेहरुलाई प्रोत्साहित गर्न खोजिएको गाँउपालिका अध्यक्ष बुढाथोकीको भनाई छ । प्राकृतिक सुन्दरता, हिमाली क्षेत्र र ओम पर्वतको दर्शन लगायतको महत्व भएकाले कालापानीसम्मको बाटो मर्मत गर्ने व्यास गाँउपालिकाले जनाएको छ ।
असारमा सम्पन्न गाँउसभाले ६ लाख रुपैयाँ बाटो मर्मतका लागि बजेट विनियोजन गरिसकेको छ । विनियोजित बजेटले बाटो मर्मत गर्न इस्टिमेट बनाउन लागिएको व्यास गाँउपालिका वडा नम्बर १ का प्राविधिक योगेन्द्रसिह ऐतवालले बताउनुभयो ।
तीन हप्ताअघि वडा नम्बर १ का वडा सदस्यहरु राहुल लामा, मनोज लामा तथा प्राविधिक सहायक ऐतवालको टोलीले कालापानी क्षेत्रको भ्रमण पनि गरेको छ । व्यासको छाङरुदेखि कालापानीसम्म नेपाली भूभाग भएर टोलीले बाटोको अवस्थाबारे जानकारी संकलन गरेको छ ।
छाङरुदेखि कालापानीसम्म करिब १३ किलोमिटर लामो घोरेटो बाटो रहेको छ । करिब एक दर्जन स्थानमा बाटो मर्मत गर्नुपर्ने अवस्था रहेको प्राविधिक सहायक योगेन्द्रसिह ऐतवालले बताउनुभयो । करिब डेढ किलोमिटर लामो क्षेत्रमा काडा र झाडी रहेकोले नयाँ बाटो नै निर्माण गर्नुपर्ने अवस्था रहेको ऐतवालको भनाई छ ।
कालापानी जोड्ने बाटो मर्मतका लागि गाँउपालिकास्तरबाटै बजेट विनियोजन गरिएको छ । उपभोक्ता समितिमार्फत बाटो मर्मतको कार्य गरिने प्राविधिक सहायक ऐतवालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !