कालापानी नजिक सशस्त्रको बिओपी

0
913

गृह मन्त्रालयका सुरक्षा सल्लाहाकार तथा सशस्त्र एआइजीको टोलीले उक्त क्षेत्रको निरिक्षण गरेका छन् ।

कालापानी न्युज, दार्चुला ।

भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी नजिकै व्याँस गाउँपालिका वडा नम्बर १ व्याँसको गाँगा क्षेत्रमा बुधबार सशस्त्र बर्डर आउट पोष्ट(बिओपी) स्थापना गरिएको छ ।
भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानीको विषयमा बिरोध चर्किरहेका बेला करिब १२ किलोमिटर दक्षिण पूर्वी क्षेत्र गांगामा बिओपी स्थापना गरिएको हो ।
नेपाली सेनाको हेलिकप्टर मार्फत् सशस्त्र प्रहरी टोली गएको होे । ६ महिनाका लागि बन्दोबस्ती सहित सशस्त्र प्रहरी टोली व्याँस क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर नम्बर ५० गुल्म दार्चुलाका गुल्मपति डम्बर बहादुर बिष्टले बताउनु भयो ।
नेपाली सेनाको हेलिकप्टर मार्फत सशस्त्र डिएसपी बिष्ट सहितको टोली र केही बन्दोबस्ती सामग्री सहित पहिलो चरणमा व्याँस क्षेत्र गएका थिए । दोस्रो चरणमा गृह मन्त्रालय सुरक्षा सल्लाहाकार प्रा.डा. ईन्द्रजीत राई, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण बावु थापा, सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकी, प्रमुख जिल्ला अधिकारी अधिकारी यदुनाथ पौडेल, नेपाली सेनाका सेनानी श्यामराजा बिक्रम थापा, सशस्त्र डिएसपी डम्बर बहादुर बिष्ट, प्रहरी नायब उपरीक्षक पदम बिष्ट लगायतको टोलीले निरीक्षण अबलोकन गरेको छ ।
गृहमन्त्रालयका सुुरक्षा सल्लाहाकार राई भने व्याँस क्षेत्रमै बस्नु भएको छ । उहाँ भोली मात्रै फर्किनु हुने छ । हाललाई भवन अभाव हुदाँ स्थानीय जीत बहादुर बोहराको घर भाडामा लिएरु सशस्त्र प्रहरीले प्रयोग गरिरहेको छ । सशस्त्र प्रहरीकोे ५० नम्बर गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक लिली बहादुर चन्दको नेतृत्वमा टोली खटिएको छ । आधा दर्जन सुरक्षाकर्मीहरु आजै खटिएका छन् भने बाँकी सुरक्षाकर्मी भोली जाने सशस्त्र प्रहरी बल नेपाल हेडक्वारट नम्बर ५० गुल्म दार्चुलाले जनाएको छ । २५ जना सशस्त्र प्रहरी टोली त्रीदेशीय गांगामा सुरक्षाका लागि तैनाथ गरिने सशस्त्र प्रहरीले जनाएको छ । साथै भोली नेपाल प्रहरीको टोली पनि व्याँस क्षेत्रमा खटाउने तयारी भएको प्रहरी नायब उपरीक्षक पदम बिष्टले बताउनु भयो । नौ जना छाङरु प्रहरी चौकीका लागि पठाउने तयारी भएको छ भने सम्भव भए तिंकर प्रहरी चौकीका लागि पनि प्रहरी टोली खटाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक बिष्टकोे भनाई छ ।


मानवीय उपस्थिति शून्य व्याँसमा सशस्त्र

भारतले नेपालको अतिक्रमित भूमि कालापानी क्षेत्र हुदै लिपुलेक क्षेत्रसम्म सडक निर्माण गरेका बेला नेपालतिर व्याँस क्षेत्रमा अहिले मानवीय उपस्थिति शून्य रहेको छ ।
व्याँस गाउँपालिका वडा नम्बर १ व्याँस क्षेत्रमा बसोबास गर्ने व्यासी सौका समुदाय अहिले खलंगा क्षेत्रमै रहेकाले उक्त क्षेत्रमा मानवीय उपस्थिति शून्य हुने गरेको छ । दुई–तीन जना रेखदेख गर्ने नागरिक बाहेक कोही पनि हुदैनन् । हिउँदको कात्र्तिक–मंसिर महिनामा खलंगा झरेका व्यासी सौकाहरु लकडाउनका कारण कुञ्चा सर्न नसकेकाले अहिलेसम्म खलंगामै बस्न बाध्य छन् । चैत्रदेखि बैशाख दोस्रो सातासम्म व्याँस बसाई सरिसक्ने व्याँसी सौका समुदाय यो वर्ष लकडाउनका कारण अहिलेसम्म कुञ्चा सर्न सकिरहेका छैनन् ।
व्याँसी सौका संगै छाङरु र तिंकर प्रहरी चौकीमा खटिएको प्रहरीहरु पनि व्यास गाउँपालिका–२ राप्लाको दुम्लिङ अस्थायी प्रहरी पोष्टमा झरेका थिए । अहिले उक्त क्षेत्रमा सुरक्षाकर्मीहरुको उपस्थिति कमजोर बनेका बेला मानवीय उपस्थिति समेत शून्य गरेको छ ।
सामरिक महत्व बोकेको त्रीदेशीय सीमा क्षेत्रमा राज्यको ध्यान जान नसक्दा यसक्षेत्रमा भारतीय मनपरी मौलाएको स्थानीयहरुको टिप्पणी छ । ६ महिना मात्रै राज्यको उपस्थिति हुने व्याँस क्षेत्रमा सीमा रक्षाका लागि आफूहरु बिना बर्दीका सुरक्षाकर्मीको रुपमा रहेको स्थानीय दानसिंह तिंकरीले बताएका छन् ।


व्याँससम्म जान बाटो नहुदाँ नेपाली सेनाको हेलिकप्टर प्रयोग


जिल्ला सदरमुकाम खलंगादेखि व्याँससम्म जाने घोरेटो बाटो नहुदाँ सुरक्षाकर्मीहरुलाई नेपाली सेनाको हेलिकप्टर प्रयोग गरि व्याँस पु¥याइएको छ ।
त्रीदेशीय सीमा क्षेत्रमा अवस्थित व्याँस गाउँपालिका वडा नम्बर १ क्षेत्रसम्म जानका लागि घोरेटो बाटो समेत नहुदाँ नेपाली सेनाको हेलिकप्टर मार्फत् सुरक्षाकर्मीहरुलाई चाहिने सामग्री तथा सुरक्षाकर्मीहरुलाई व्याँस पु¥याइएको छ । नेपाली सेनाको एनए ०५७ नम्बरको हेलिकेप्टर मार्फत् बिओपी स्थापनाका लागि सशस्त्र प्रहरी टोली व्याँस गएको सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्दले बताउनु भयो ।