कालापानी नजिकैको कौवाक्षेत्रमा आगलागी,,सयौं रुख जलेर नष्ट

0
258

दार्चुला,माघ ०४ गते ।
दार्चुलाको त्रिदेशीय सीमाक्षेत्र व्यासको छाङरु गाउँ नजिकैको कौवाक्षेत्रमा आगलागी भएको छ । पुष १४ गते भएको आगलागीबाट सयौं रुख जलेका छन् भने ज्याक्ति भन्ने स्थानमा रहेको नेपाल टेलिकमको लिंक टावर बन्द भएको छ । मोबाइल टावर र कौवाक्षेत्रको वनक्षेत्रमा नोक्सानी भएको उक्त आगलागीको कारण दुई हप्तासम्म खुलेको छैन । हिमपात र अत्यधिक चिसोका कारण व्यासका स्थानीय वासिन्दा सदरमुकाम झरिसकेका छन् । स्थानीय वासिन्दा नभएको बेला भएको आगलागी कस्ले र किन गर्यो भन्ने प्रश्न उठेको छ । अहिले व्यासको छाङरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली मात्र छ । सुरक्षाकर्मीको टोली व्यासमै रहेको बेला भएको आगलागीले व्यासका स्थानीयमा शंका उब्जिएको छ ।
छाङरु गाउँबाट ३ किलोमिटरको दूरीमा रहेको कौवाक्षेत्रको बसुन्धरा जंगलमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट केही रुख र झाडी जलेको छ भने टेलिकमको लिंक टावरमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीको भनाई छ । कौवाक्षेत्रमा भएको आगलागी भोलिपल्ट नै नियन्त्रणमा लिइएको छाङरुस्थित सशस्त्र प्रहरी वलको ५१ नम्बर गुल्मका गुल्मपति डिएसपी ईश्वरीदत्त भट्टले बताउनुभयो । ‘आगलागी कसरी भयो भन्ने खुल्न सकेको छैन तर हामीले भोलिपल्ट नै आगलागि नियन्त्रण गरेका थियौ’ उहाँले भन्नुभयो । आगलागी भएको कौवाक्षेत्र महाकाली किनारमा पर्दछ । आगलागीबाट सयौं रुख र वनक्षेत्रको झाडी जलेर नष्ट भएको छ । ज्याक्ती भन्नेस्थानमा रहेको टेलिकमको लिंक टावरमा आगलागीबाट क्षति भएको टेलिकम दार्चुलाका प्रमुख कृष्णवहादुर गुरुङले बताउनुभयो । ‘रेडियो लिंक सिस्टमले काम गरेको छैन, सोलार र व्याट्रीमा भने नोक्सानी भएको छैन’ उहाँले भन्नुभयो ।
सुरुमा टेलिकमको टावरमा राखिएको सौर्य उर्जा प्रणालीमा विद्युत सट हुँदा आगलागी भएको प्रहरी र सशस्त्र प्रहरीले जानकारी दिएको थियो । तर, यो आगलागी वनक्षेत्रमा भएको र टेलिकमको टावरसम्म वनक्षेत्रबाट आगो पुगेको टेलिकम दार्चुलाका प्रमुख गुरुङले बताउनुभयो ।
टेलिकमको टावरमा आगलागी भएको प्रारम्भिक जानकारी प्रहरी र सशस्त्र प्रहरीले दिएको थियो । तर छाङरुका स्थानीयवासी टावरबाट आगालागी सुरु भएर जंगलक्षेत्रमा पुग्न सक्ने अवस्था नरहेको बताउँछन् । ‘टेलिकमको टावर उचाईको डाडामा छ, महाकाली नदी छेउको जंगल क्षेत्रमा डाडाको टुप्पोबाट आगो सरेर तलतिर कसरी आउँछ ?’ छाङरुका एक स्थानीय प्रश्न गर्छन् ।
कौवाक्षेत्रको वनमा आगलागी भएको जानकारी प्राप्त भए पनि क्षतिको विवरण र आगलागीको कारण खुल्न नसकेको अपी नाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताउनुभयो । ‘त्यहाँ जानसक्ने अवस्था छैन, नेपालतर्फ बाटो छैन, भारतबाट जान अहिले हामीलाई अनुमति मिल्दैन’ उहाँले भन्नुभयो । आगलागीबाट केही रुखहरु जले पनि सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिइसकेको उहाँको भनाई छ ।
कौवाक्षेत्रमा धुवाँको मुस्लो देखिएपछि त्यसैदिन भारतको गुञ्जीक्षेत्रका स्थानीयले छाङरुका वासिन्दालाई फोटो पठाएका थिए । हाल सदरमुकाममा रहेको छाङरुका वासिन्दाले जिल्लास्थित सुरक्षा निकायसंग यसबारे चाँसो राखेका थिए । व्यासमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले तत्कालै टेलिकमका टावरबाट आगलागी भएको रिपोर्टिङ गरेको थियो । तर टेलिकम टावरबाट नभएर बसुन्धराको जंगलबाट आगलागी सुरु भएर टेलिकमको ज्याक्ती टावरसम्म पुगेको पछिल्लो जानकारी सुरक्षा निकायले दिएका छन् । कुनै चोरीशिकारी गर्ने समूहले आगलागी गरेको हुनसक्ने अनुमान गरिदैछ । तर, आगालागी भएको ठाउँभन्दा ३ किलोमिटरको दूरीमा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आगलागीको कारण पत्ता लगाउन नसक्नु र टेलिकमको टावरबाट आगलागी सुरु भएको प्रारम्भिक जानकारी दिनुले स्थानीयमा शंका उत्पन्न भएको छ । ‘सुरक्षाकर्मीले निगरानी गर्न नसकेर आगलागी भएको देखिन्छ’ छाङरुका एक स्थानीय युवाले भन्नुभयो, ‘आगलागी हुने दुइटा अवस्था छन्– पहिलो चोरीशिकारी गर्ने समूहबाट र दोस्रो सुरक्षाकर्मीबाट ।’‘नजिकको वनक्षेत्रमा आगलागी हुँदा छाङरुमा रहेका सुरक्षाकर्मीले गस्ती र निगरानी राम्रोसंग गर्न नसकेको देखिन्छ’ छाङरुवासीको भनाई छ । भारतीय सुरक्षाकर्मी वा चोरीशिकारी समूहको मिलेमतोमा पनि आगलागी भएको हुनसक्ने स्थानीयको आशंका छ । भारतीय क्षेत्रमा वनजंगल नभएकोले कौवाक्षेत्रबाट वन फडानी र काठ तस्करी हुँदैआएको विगत छ । छाङरुमा निर्माण भइरहेको सशस्त्र प्रहरीको गुल्म भवनका लागि समेत कौवाक्षेत्रबाट काठ काटिएको छ । कौवाक्षेत्रबाट काठ काट्ने र ढुवानी गर्ने ठेकेदारको कार्यमा सशस्त्र प्रहरी संलग्न हुँदैआएको छ । छाङरुमा रहेका सुरक्षाकर्मीले दैनिक ज्यालादारी लिएर ठेकेदारको काठ कटान र ढुवानी गरेकाले कौवाक्षेत्रको आगलागीमा सुरक्षाकर्मीमाथि नै आशंका गर्ने स्थानीय पनि छन् । आगलागीबाट डढेका र सुकेका रुखहरु भारततर्फ तस्करी गर्ने उद्देश्यले कौवाक्षेत्रको जंगलमा आगो लगाएको हुनसक्ने स्थानीयको आशंका छ । कौवाक्षेत्रमा भएको आगलागीबारे जानकारी प्राप्त भएको र यस्ता घटनामाथि निगरानी बढाउन र सुरक्षा गस्ती बढाउन निर्देशन दिइएको दार्चुलाा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । आगलागीबाट अवरुद्ध भएको मोबाइल सेवा सञ्चालनका लागि १÷२ दिनमै टेलिकमको प्राविधिक टोली छाङरु पठाउन लागिएको टेलिकम दार्चुलाका प्रमुख कृष्णवहादुर गुरुङले बताउनुभयो ।