कार्यकर्ताको नाडी छामेर फर्किए मन्त्री बडू

0
675

दार्चुला, साउन २७ गते ।
स्थानीय तह निर्वाचनमा ‘क्लिन स्विप’ भएको नेपाली काग्रेस दार्चुलालाई आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सशक्त बनाउन गृहकार्य थालिएको छ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले गृह जिल्ला दार्चुला पुगेर नेता–कार्यकर्ताहरुको नाडी छामेका छन् ।
स्थानीय तह निर्वाचनमा पार्टीभित्रकै असन्तुष्टि र असहयोगले जिल्लाभरीको परिणाम नकारात्मक आएको काग्रेसजनको बुझाइ छ । आसन्न मंसिर ४ को निर्वाचनमा पनि पार्टीभित्रका नेता–कार्यकर्ताहरुको असन्तुष्टि र असहयोग निरन्तर रहदा परिणाम प्रतिकुल आउनेमा धेरैजसोको चिन्ता छ ।
स्थानीय तह निर्वाचनमा दार्चुलाका नौवटै स्थानीय तहमा माओवादी केन्द्रसंग दरिलो गठबन्धन गरे पनि काग्रेसका लागि निर्वाचन परिणाम लज्जास्पद निस्केको थियो । नौवटा स्थानीय तहमध्ये एउटा तहमा पनि काग्रेसका उम्मेदवारले नेतृत्व पाउन सकेका छैनन् ।
स्थानीय तह निर्वाचनमा वडा सदस्यदेखि स्थानीय तहको प्रमुखसम्मको पदमा काग्रेस र माओवादी केन्द्रबीच मसिनोगरी तालमेल गरिएको थियो । तालमेलअनुसारको मतदान भइदिएको अवस्थामा दार्चुलामा एमालेको अवस्था माओवादीको भन्दा पनि कमजोर हुने आकलन थियो । तर, भइदियो उल्टो । काग्रेसभित्रको असन्तुष्टि र असहयोगले ५ स्थानीय तहको नेतृत्वसहित बहुमत पदमा उम्मेदवारी दिएका काग्रेसका अधिकाशं उम्मेदवारले पराजय भोगे ।
काग्रेसभित्रैको असन्तुष्टि र असहयोगका कारण स्थानीय निर्वाचनमा नमिठो परिणाम प्राप्त भएको समीक्षा गरिएको छ । काग्रेस जिल्ला कार्य समितिले गठबन्धनको साझेदार नेकपा माओवादी केन्द्रबाट इमान्दारिताका साथ सहयोग नभएको निस्कर्ष पनि निकालेको छ ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीभित्रको असन्तुष्टि र असहयोग दोहोरिन नदिन अहिलेदेखि नै जिल्लास्तरमा काग्रेसका नेता–कार्यकर्ता जुर्मुराएका छन् । स्थानीय तह निर्वाचनको परिणामको आएलगत्तै दार्चुलाबाट जेठ संक्रान्तिको एकाविहानै मन्त्री बडू सुटुक्क काठमाण्डौं फर्किएका थिए । स्थानीय चुनावपछि साउन २० गते मात्रै उद्योग मन्त्री बडू गृहजिल्ला फर्किएका छन् ।
यसपटकको गृहजिल्ला भ्रमणलाई मन्त्री बडूले आगामी निर्वाचनमा केन्द्रीत गरेका छन् । व्यक्तिगत भेटघाट र छलफलदेखि औपचारिक कार्यक्रममा सहभागिता र उहाँको अभिव्यक्तिले आगामी निर्वाचनलाई नै केन्द्रीत गरेको देखिन्छ । काग्रेस केन्द्रीय सदस्य समेत रहनुएका मन्त्री बडूको प्रमुख आतिथ्यतामा साउन २१ र २२ गते जिल्ला सदरमुकाममा काग्रेसको पहिलो जिल्ला सम्मेलनमा पनि सञ्चालन गरिएको छ । पार्टीको नयाँ विधानअनुसार पहिलो पटक जिल्ला सम्मेलन आयोजना गरिएको हो ।
जिल्ला सम्मेलनमा जिल्लाभरबाट झण्डै ३ सयभन्दा बढी नेता–कार्यकर्ता सहभागी भएका छन् । कार्यक्रमका सहभागिमध्ये झण्डै एक तिहाइले आफ्नो भनाई राखेका छन् । सबैजसोको भनाई आसन्न निर्वाचनमा पार्टी एकढिक्का भएर उभिनुपर्नेमा केन्द्रीत छ । नौवटा स्थानीय तहका ६१वटै वडाको प्रतिनिधित्व हुने गरी जिल्ला सम्मेलनमा भनाई राख्न दिइएको छ । सबैजसो वक्ताले स्थानीय तह निर्वाचनमा जस्तो लापरवाही र कमजोरी नगर्न आग्रह गरेका छन् ।
‘जिल्ला सम्मेलनको निस्कर्ष नै स्थानीय तहको निर्वाचनबाट पाठसिक्दै मंसिर ४ को निर्वाचनमा केन्द्रीत हुने भन्ने छ’ काग्रेसका एक जिल्ला नेताले भन्नुभयो । सम्मेलनका आफ्नो मन्तव्य राख्ने झण्डै एक सय नेता–कार्यकर्ताको भनाईलाई उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडूले पूरा समय दिएर र ध्यान लगाएर सुनेका छन् । ‘धेरैजसोका सुझाव र भनाईलाई त उहाँले डायरीमा टिपोट पनि गर्नुभएको छ’ ती जिल्ला नेताले भन्नुभयो ।
जिल्ला सम्मेलनले पार्टी एकढिक्का भएर निर्वाचनमा होमिने निस्कर्ष निकालेको छ । टिकटवितरणले मनमुटाव र असहयोगको अवस्था आउन नदिन अहिलेदेखि नै सतर्क गराउन थालिएको छ । जिल्ला सम्मेलनमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारका आकांक्षी २१ जना नेताहरुबीच लिखित साझा प्रतिवद्धता गराइएको काग्रेसका अर्का जिल्ला नेताले बताउनुभयो । ‘टिकटका आकांक्षी २१ जना नेताहरुबाट लिखित प्रतिवद्धता गरिएको छ, जुनसुकै व्यक्तिले टिकट पाए पनि सक्रिय भई पार्टीलाई जिताउन चुनावमा खटिनेछौ भन्ने बाँचा गरिएको छ’ ती काग्रेस नेताले भन्नुभयो ।
स्थानीय तह निर्वाचनमा जस्तै पार्टीभित्रैबाट असहयोग गर्ने भए प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने कि नबन्ने विषयमा मन्त्री बडूले धेरैजसो कार्यकर्तालाई अनौपचारिक प्रश्न पनि गरिरहेका छन् । उहाँका आफन्त र नजिकका कार्यकर्ताले पनि सबै नेता–कार्यकर्ताको प्रतिवद्धता भए मात्रै उम्मेदवार बन्न सुझाव दिएका छन् ।
मन्त्री बडूसंग व्यक्तिगत र सामुहिक रुपमा भेटघाट गर्ने कार्यकर्ताहरुले पनि पार्टी एकढिक्का बनाएर मात्रै चुनाव होमिन सुझाव दिएका छन् । स्थानीय तहमा काग्रेसका जित निश्चित भएको ठाउँमा समेत पार्टीकै कार्यकर्ताहरुको असन्तुष्टिले पराजय भएको विषय चर्चामा छ । यस्तै असन्तुष्टि र असहयोग मंसिर ४ गतेको निर्वाचनमा पनि रहेमा चुनावी परिणाम सकारात्मक आउनेमा काग्रेसजनलाई चिन्ता छ ।
दार्चुलामा स्थानीय तह निर्वाचनमा काग्रेससंगको गठबन्धनबाट माओवादी केन्द्रलाई भने फाइदा पुगेको छ । ४ स्थानीय तहको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका कारण सुदूरपश्चिम प्रदेशभरीमै सबैभन्दा राम्रो नतिजा दार्चुलामा प्राप्त भएको माओवादी केन्द्रका एक जिल्ला नेता बताउँछन् ।
प्रतिनिधिसभामा पनि गठबन्धन हुने निश्चित हुने भए पनि मन्त्री बडूको उम्मेदवारीबारे चर्चा र आकलन भइरहेको छ । काग्रेसभित्रको असन्तुष्टि र असहयोगलाई सम्बोधन गर्नुपर्ने दबावमा बडू छन् । देउवा पक्षका नेता–कार्यकर्ताहरुको पूर्ण सहयोग र खटनपटन हुने सुनिश्चिता भएमा मात्रै मन्त्री बडू प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न तयार हुने बडूनिकट एक जिल्ला नेताले बताउनुभयो ।
‘जिल्लास्तरमा नेता–कार्यकर्ताको एकता र प्रतिवद्धताले मात्रै यसपालीको उम्मेदवारी निश्चित हुनेवाला छैन, प्रधानमन्त्रीबाट समेत संस्थापन पक्षले आफ्नो समूहका नेता–कार्यकर्तालाई कस्नुपर्छ’ मन्त्री बडूनिकट ती नेता भन्छन् । ‘जिल्लाका सबै नेता कार्यकर्ताले एकतावद्ध भएर प्रस्ताव गरेमा र प्रधानमन्त्री देउवा स्वयंले मन्त्री बडूलाई उम्मेदवार बन्न प्रस्ताव गरेमा प्रतिनिधिसभामा उहाँको उम्मेदवारी निश्चित नै हो’ उहाँले भन्नुभयो ।