कामरेडहरुलाइ पत्र

1722

अर्जुनध्वज अर्याल । 

कामरेड सुर्यहरु,

अभिवादन, जयनेपाल ! २०७४ को स्थानीय तहको निर्वाचन पश्चात तत्कालीन मा‍ओवादी केन्द्र र एमालेबीच लिभिङ टुगेदरमा बस्ने निर्णय अनुसार अहिलेसंम बसिरहनु भएकै छ। हुनत यो बसाइमा तपाइहरुबिच थुप्रै खटपट नभएका होइनन् तथापि बस्नु भएकै छ। तपाइहरुका चालढाल गतिबिधि हेर्दा त लिभिङ टुगेदर भन्दा पनि ‘डिभोर्सी’  बसेजस्तो देखिन्छ।नेपालमा लिभिङ टुगेदर अवैधानिक मानिन्छ भने त्यसबाट जन्मिएका सन्तानहरु कसरी वैधानिक हुन्छन् र? तैपनि भैरहेका छन्। त्यसको उदाहरण  नेपालको संघीय सत्ता र प्रदेशका ६ वटा सत्तालाइ लिन सकिन्छ।

सन्तान जन्माउन महिला र पुरुषको समान सहभागिता हुने भएकोले समभोग भनिएको होला। तर तपाइहरुको सत्तारुपी सन्तान जन्माउन तपाइका बाउआमाको समान सहभागिता थिएन जस्तो देखिन्छ । अझ भनौ ती सन्तान जन्माउन ओली वाको ७५% र खनाल+ दाहाल+ नेपाल= खदानेको २५% मात्रै सहभागिता र योगदान भएजस्तो व्यबहार वाले गरेको देखिन्छ।अहिले त्यो सोचाइले झनै व्यापकता पाएको देखिन्छ। त्यसैको ज्वलन्त उदाहरण कर्णाली प्रदेशलाइ लिन सकिन्छ। कर्णाली प्रदेशमा खदाने समूह एक ठाँउमा उभिएपछि तपाइहरुको सोचमा करेन्ट पैदा गरेको छ। कर्णाली प्रदेशका मुखियाहरुको विवाद मिलाउन संघीय राजधानि बोलाएर आ-आफ्ना गुटका ‌‌‌दबाइएरुपि सिटामोल दिएर पठाउनु भयो। संयुक्तरुपमा सिटामोल किन दिन सक्नु भएन? यसको थप पुष्टी बालुवाटार र खुमलटारका प्रेस विज्ञप्तीलाइ लिन सकिन्छ। त्यतीले पुगेन र बिबिसिको अन्तर्वार्तामा बालुवाटारको सिटामोल खानु र नखाएमा मृत्युवरण गर्नुपर्नेसंमको कासन दिनुभयो।पार्टी विधि र पद्दतीमा चलेको भए कर्णालीको समस्या यसरी छताछुल्ल हुनेथियो र? आफूलाइ फाइदा हुन्छभने विधि र पद्दतीलाइ धोती लाइदिने र अप्ठेरो पर्यो भने विधि र पद्दतीको डंका पिट्ने ? संघयी शासन सञ्चालनमा केन्द्रयी मुखियालाइ जति अधिकार छ त्यतीनै अधिकार प्रदेश र स्थानीय मुखियाहरुको किन नहुने? केन्द्रीय मुखियाले पार्टी विभाजनको अध्यादेश ल्याइसकेपछिको अवस्था कस्तो भयो ?अनि त्यसले तपाइहरुको पार्टीमा विधि र पद्दती बसाल्यो त? खदाने समूहले बहुमत प्रयोग गरी मुखिया परिवर्तन गर्न खोज्दा पार्टी विभाजनको ध्वाँस दिनुभयो। अहिले पार्टी सहमतीले चल्ने हो अंकगणितले होइन भनेर खदाने समूहको झ्वाँको झार्ने काम गर्नुभयो।अंकगणितबाट पार्टी अगाडी बढेमा दुर्घटनामा पर्छ भनियो। तर कर्णालीमा त्यही अंकगणितको दर्बारले शिर छेदनको प्रयास गरियो।अनि खदाने समूहले त्यही तरबार प्रयोगगरी तपाइहरुकै शिर छेदन गर्दा फेरी सहमति चाहिने?

सरकार निर्माणपछि वाले जसरी खदानेलाइ खेद्ने र दुत्कार्ने कार्य गर्नुभयो त्यसैको परिणति होइन र यो?विधि ,पद्दति, सल्लाह र सहभागितामा अगाडी बढेको भए यो दुर्दिन आउने थियो र ?अझ यो भन्दा खराब दिनहरु त आउन बाँकि नै छन् । यहाँ एउटा तथ्य याद आयो कमरेडहरु।जीराफ सबैभन्दा अग्लो जनावर हो क्यारे।जीराफले बच्चा जन्माउनेबेलामा एउटा ठूलो ढुङ्गा खोजेर बिचमा गएर उभिन्छ ।जीराफले अरु जनावरलेजस्तै बसेर बच्चा जन्माउदैन। त्यसकारण ढुङ्गाकोबिचमा उभिएर जन्माएको बच्चा सो ढुङ्गामा बजारिन्छ जोडले। अनि जन्मिएको बच्चालाइ माउले आफ्नो पछाडिको खुट्टाले जोडजोडले हिर्काउछ।त्यतिञ्जेल हिर्काउछ जतिञ्जेल त्यो बच्चा उठेर भाग्दैन। सुन्दा निर्दयी सुनिए पनि माउ निर्दयी भएर पक्कै हानेको भने होइन। बच्चाप्रतिको अगाध माया र स्नेह भएरै हानेको हो। माउले नहानेको भए बच्चा त्यही बस्ने थियो र अरुको आहारा बन्न सक्नेथियो। अनि उसको भविष्य नै संकटमा पर्छ र उसको बंशनै लोप हुन सक्छ। सायद वाले पनि खदाने समूहलाइ गरेको व्यबहार यही जिराफको माया त होइन? खदाने समूहले नबुझेको र नबुझाइएको हो की त? वाले आगामी निर्वाचन र महाधिवेशनमा उम्मेदवार नहुने घोषणा गर्नुले त्यतैतिर संकेत गरेको त होइन? हुनत वाको व्यबहार त्यति बिश्वासयोग्य नभएको इतिहास भएकोले नै बिश्वासको संकट सिर्जना भएको हो की? बिश्वासमा लिने दायित्व र जिम्मेवारी कसको कामरेडहरु?  कर्णालीको झिल्कोलाइ समयमै समन गरिएन भने खदानेहरुले बाँकि ५ वटा प्रदेशमा सल्काएभने के होला? पर्सामा शपथ ग्रहणमा तमासा मात्र देखिएन ज्यानै गयो एक जनाको।यसले निरन्तरता पाउने संभाबना प्रबल देखिन्छ। यसले तपाइहरुको बिवाह समारोह(महाधिवेशन) र आसन्न निर्बाचनको परिणाम के होला? अनुमान गर्नुभएको छ? हुनत तपाइहरु सत्ताधारि भएकोले ५/७ पुस्तालाइ पुग्ने जोहो भैसकेहोला? चुनाबको के मतलब? आए आँप गए झटारो हैनत कामरेडहरु?यदि होइन भने चालढाल र व्यबहारमा फरकपनको अनुभूति जनताले पाउनु पर्यो त।

 

लिभिङ टुगेदर अबैधानिक थियो र त्यसका सन्तान अबैध भएकाले कर्णाली प्रदेश त्यसको पहिलो शिकार भएको हो त ? तपाइहरुको पुरेतले तय गरेको बिवाह समारोह विश्वव्यापि महाव्याधि कोभिड-१९ का कारणले तोकिएकै समयमा नहुने निश्चित प्राय: भैसक्यो र घोषणा हुनमात्रै बाँकि छ होला। तपाइहरुका गतिबिधि यस्तै रहे लिभिङ टुगेरबाटै सम्बन्ध टुंगिने छाँटकाँट देखिन्छ । त्यो बिवाहको बेहुलो को बन्ने भन्ने पेचिलो विषय झनै महत्वपूर्ण छ। नीति र सिद्दान्तबिहिनको लिभिङ टुगेदरमा रहेकाहरुको बिवाह समारोहमा ती कुरामा बहस होला भनेर कसरी आस गर्ने र कमरेडहरु? बेहुलाको छनौट र नीति सिद्दान्तको नाममा बिवाहकालागी तय भएको मण्डपनै खरानीमा परिणत हुने संभावना प्रवल रहेको कुरा पण्डितहरु बताउँछन। हामी भूइमान्छेहरुको चाहाना त तपाइहरुको बिवाह छिट्टै होस र बैधानिक बन्नुहोस भन्ने मै रहेको छ र रहन्छ।यसो हुन सकेमात्रै देश र जनताको भलो हुनेछ। यसमा को बेहुला बन्छ र नीति सिद्दान्त के हुन्छन्न भन्नेसंग खासै सरोकार छैन। गोठालोलाइ भैसिले पाडो पाउने वा पाडी पाउनेसंग सरोकार हुदैन। सरोकार हुनेछ त केबल उसले बिगौति खानेसंग।

गत निर्वाचनमा तपाहरुले  सन्तान पैदा गर्दाको लगानीनै वाको ‘राष्ट्रवाद’ हो भन्ने तपाइहरुको बुझाइ होरत वाको लगानी ७५% भएको दाबी छ। वास्तबमा हो पनि ।त्यसैले तपाइहरुले खदानेहरुलाइ दपेट्नु र लखेट्नु भएको पनि। वाको राष्ट्रवादको पारोको ग्राफ नेपालको नयाँ नक्सा जारिपश्चात ह्वात्तै बढेको थियो। तर भारतीय जासुसि संस्था रअका प्रमुखसंगको भेट र लगत्तै वाले दशै शुभकामना सन्देशमा बुच्चो नक्साको प्रयोग हुनुले ग्राफ ह्वात्तै झरेको छ। सायद सामन्तले ठोस प्रमाणको माग गरेकाले वाले तुरुन्तै सन्देश जारी गर्नुभयो बुच्चे नक्साको प्रयोग गरी।नेपाली जनता स्टील जस्ता छन्।सानो कुरामा हौसिने र सानैकुराले निराश हुने। नेपालीहरुले चुच्चे नक्सा खोइ भन्दा प्रेस नोट जारी गर्नुभयो तर भारतीय प्रिन्ट मिडीया र टेलिभिजन समेतले सो विषयलाइ प्रमुखताकासाथ उठाए । रअ प्रमुखले नेपालका प्रधानमन्त्रीसंग भेटघाट गरेपछि नेपाल भारत संबन्ध पुरानै अवस्थामा फर्कीएको र कालापानी लिपुलेकको विषय छोडेको भन्न समेत भ्याय। त्यसको पुष्टिकालागि प्रधानमन्त्रीकै शुभकामना सन्देशमा प्रयोग भएको नक्सालाइ लिएका छन्। नेपाल चीनको पञ्जाबाट मुक्त भएकोसंम भनेका छन्। के परिस्थित उनीहरुले भनेजसतै हो त ? हामी कसैको पञ्जामा नपरी स्वतन्त्ररुपले हाम्रा गतिबिधि संचालन गर्न सक्ने वातावरणको निर्माण नै हाम्रो आवश्यक्ता र सक्कलि राष्ट्रवाद हो।यदि सत्य त्यो होइन भने भारतीय मिडियाका हर्कत बिरुध्द सरकार बोल्ने कि नबोलेन्ने ? सबाल यो हो। के परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर अौपचारिक खण्डन गर्यो? नेपालस्थित भारतीय राजदूतलाइ बोलाएर स्पष्टीकरण सोध्यो ? यसले भारतीय रबैयालाइ थप बल पैदा गर्दैन र? यहानेर सामाजिक अभियन्ता डा. सुर्यराज आचार्यको ट्वीटको संझना आयो। उनले लेखेका थिए- नक्कली औषधी विष जत्तिकै घातक हुन सक्छ। त्यसैगरी राजनीतिको नक्कली समाधानले झन जटिल समस्या निम्त्याउछ। भारतीय मिडियाहरुको खेल त्यही त होइन कामरेडहरु? जसले वाको राष्ट्रवादमाथि थप पर्दा हाल्न खोजेका हुन या वाको राष्ट्रवादको पर्दा आफै च्यातिन पुगेको हो।

कोरोना कहरबाट बँच्न बालुवाटार बस्नेहरुले गुर्जो, बेसार, तितेपाती, असुरो, निमपत्ता बेशी खाएर होकि बोलिमा पनि टर्रोपना बढि आभाष हुने। छुचोपना बढी देखिने। हुँदा हुँदा स्वास्थ्य प्रवक्ताको बोबि पनि टर्रो र ठर्रो छ। ट्ठंगत गुनाको फल हो कि ? सामाजिक संजालमा सरकारका बिरुध्दमा केहि आयोकी त्यसको जवाफ टर्रै दिनु पर्ने। भर्खरै पूर्व महाराजको विषयमा पनि त्यस्तै आभाष माने आम सर्बसाधारणले। त्यही कुरा पार्टी मार्फत आएको भए सरकारलाइ दोष आउने थिएन त।  राजनीति गर्ने काम पार्टीको हो नकि सरकारको। सरकारले त नीति नियम लागु गर्ने हो त। पूर्व महाराजले नीति नियम लागु गर्नमा बाधा अबरोध खडा गरे र नीति नीयम उल्लंघन गरेभने कानुनबमोजिम कार्बाहि पो गर्ने होला त। तेरो छोरा टुहुरो जस्तो भनेर मुख छाडदा तपाइहरुको उचाइ पक्कै बढेको छैन। हामीलाइ यस्ता वाहीयात कुरा सिकाउने को रहेछ भनेर फेरी पारो नबढाउनुहोला कमरेडहरु । अहिले तपाइहरुको गति र मति हेर्दा २०६४/६५ का माओबादीहरुको झझल्को आउँछ कमरेडहरु। उनीहरुले भन्ने गर्दथे- हामी  अरु पार्टीजस्ता होइनौ। फरक धातुले बनेका हौ। हामीले अरुसंग झुक्ने र अरुबाट सिक्ने छुट छैन। हामी त अरुलाइ झुकाउन र सिकाउन आएका हौ । चुनाबी नतिजा यसकै उदाहरण हो भन्थे। बरु टुक्रिन तयार छौ तर झुक्दैनौ भन्दा आज इतिहासको पानामा सिमित भए। के तपाइहरुमा पनि त्यही दम्भ र अहंकारले बास गरेको हो? इतिहास कति छिट्टै बिर्सेको कि बिर्सेजस्तै गरेको? २४० वर्षे राजतन्त्रलाइ बिदा गरेका जनताले तपाइहरुलाइ दिएको दुइतिहाइ मत स्थायी त होइन होला? सरकारले जनता अप्ठेरोमा परेका बेला अभिभाबकको भूमिका निर्बाह गर्नमा चुक्तै छ। यसले निरन्तरता पाएमा तपाइहरुको भविष्य २०६४/६५ का माओबादीको जस्तै हुनेछ कमरेडहरु बेलैमा चेतना पलाओस। नरम भएर सानो भैदैन।  वडा दशैमा भगवती माताहरुले कामरेडहरुको रक्षा गरुन र जनता र देशको बारेमा सोच्ने शक्ति प्रदान गरुन। आगे कामरेडहरुको मर्जी।

(अर्याल त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक हुन् । )

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस् !