काग्रेस छोड्ने चेतावनी दिएका विधायकका पक्षमा हरिश रावत

0
1935

दार्चुला, माघ २० गते ।
पार्टी जिम्मेवारी बाडफाँडमा अन्याय भएको भन्दै काग्रेस छोड्ने चेतावनी दिएका विधायक हरिश धामीलाई उत्तराखण्डका पूर्व मुख्यमन्त्री हरिश रावतले साथ दिएका छन् । भारतीय काग्रेस पार्टीले हालै घोषणा भएको उत्तराखण्डको कार्यकारिणी समितिप्रति विधायक धामीले असहमति जनाएका छन् ।
पिथौरागढ जिल्लाको धारचुला–मुनस्यारी क्षेत्रबाट निर्वाचित विधायक धामीले आफुलाई दिइएको प्रदेश सचिवबाट राजीनाकाको घोषणा गरिसकेका छन् । पार्टीले आफुमाथि न्याय नगरे आफ्नो क्षेत्रका जनतासंग छलफल गरी काग्रेस नै छोड्ने विधायक धामीले चेतावनी दिएका थिए ।
पूर्व मुख्यमन्त्री एवं उत्तराखण्ड काग्रेसका वरिष्ठ नेता हरिश रावतले सामाजिक सञ्जालमार्फत विधायक धामीको अडानमा आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् । आफुले हरिश धामीलाई प्रदेश कार्यकारिणी समितिको महासचिव बनाउन प्रस्ताव गरे पनि नेतृत्वले सम्बोधन नगरेकोमा रावतले असन्तुष्टि जनाएका छन् ।
दुई पटक विधानसभामा निर्वाचित भएका र सन् २०१४ उपनिर्वाचनमा धारचुला विधानसभा क्षेत्रबाट आफुलाई अत्यधिक मतान्तरले विजयी गराउने भूमिका खेल्ने हरिश धामीमाथि अन्याय भएको नेता रावतको भनाई छ । हरिश धामी जिल्ला पञ्चायत सदस्यदेखि धेरै निर्वाचन जित्दै आएको लोकप्रिय नेता भएको रावतले बताएका छन् ।
क्षेत्र पञ्चायत, जिल्ला पञ्चायत, ब्लक प्रमुख र लोकसभा निर्वाचनमा हरिश धामीले महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत पूर्व मुख्यमन्त्री रावतले स्मरण गरेका छन् । पार्टी र जनताको लागि सधै संघर्षरत विधायक हरिश धामीप्रति पार्टीले न्याय गर्नुपर्ने रावतको भनाई छ ।
१ सय ५२ सदस्यीय प्रदेश कार्यकारिणी समितिमा विधायक हरिश धामीलाई सबैभन्दा अन्तिम क्रममा राखिएको थियो । ९८ जना प्रदेश सचिवमध्ये धामीको नाम अन्तिममा छ । विधायक धामीले प्रदेश महासचिवका आकांक्षी थिए ।