काग्रेसको वरियतामा एनपी र लेखकभन्दा बडू अगाडि

0
635
फाइल फोटोः नेता दिलेन्द्र प्रसाद बडु

दार्चुला, पुष १९ गते ।
नेपाली काग्रेसका सभापति शेरवहादुर देउवाले निर्धारण गरेको नयाँ वरियताक्रममा केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू २७औं नम्बरमा परेका छन् । काग्रेस पदाधिकारी र पूर्वपदाधिकारीपछि सिनियर नेताहरुलाई वरियतामा राखिएको छ । पुष १० गते बसेको केन्द्रीय समिति बैठकअघि वरियताक्रम निर्धारण गरिएको हो ।



चौधौं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय समितिको पहिलो बैठकअघि सभापति देउवाले वरियताक्रम निर्धारण गर्नुभएको हो । महाधिवेशनबाट लोकप्रिय मतबाट केन्द्रीय सदस्यमा निर्वाचित एनपी साउद र रमेश लेखकभन्दा दिलेन्द्रप्रसाद बडूको वरियता अगाडि राखिएको छ ।
महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा सुदूरपश्चिमका ४ नेता निर्वाचित भएका थिए । ३५ जना खुला केन्द्रीय सदस्यमध्ये एनपी साउद दोस्रो, रमेश लेखक सातौं, नैन सिंह महर १५औं र दिलेन्द्रप्रसाद बडूले १६औं नम्बरमा लोकप्रिय मत पाएका थिए ।
केन्द्रीय समितिको वरियताक्रममा भने चार नेतामध्ये बडूलाई अग्रस्थानमा राखिएको छ । २७औं नम्बरमा दिलेन्द्रप्रसाद बडू र त्यसलगत्तै २८औं नम्बरमा एनपी साउद रहेका छन् । नेता रमेश लेखकलाई ४८औं नम्बरमा र नैन सिंह महरलाई ८५औं स्थानमा राखिएको छ ।
सुदूरपश्चिम प्रदेशबाट काग्रेस केन्द्रीय सदस्य भएकामध्ये यज्ञराज जोशी ६०औं नम्बरमा, आरजु राणा देउवा ८०औं नम्बरमा, डा. रणवहादुर रावल ८९औं नम्बरमा छन् ।
धनगढी उपमहानगरपालिकाका उपप्रमुख समेत रहेका सुशीला भट्ट मिश्रको वरियता ११६औं नम्बरमा हुँदा सोही उपमहानगरपालिकाका प्रमुख नृपवहादुर वडको वरियताक्रम भने १२२औं नम्बरमा छ ।
सुदूरपश्चिम प्रदेश गृहक्षेत्र भएकामध्ये सभापति देउवा काग्रेसको पहिलो वरियतामा छन् भने पिछडिएको क्षेत्रको प्रतिनिधित्व गर्दै सहमहामन्त्रीमा निर्वाचित वद्री पाण्डे १२औं नम्बरमा छन् ।
सभापति देउवाले आफ्नो पक्षका एनपी साउद र रमेश लेखकलाई कोइरालापक्षिय बडूभन्दा पछाडि राखेका छन् । खुलातर्फको केन्द्रीय सदस्यमा दोस्रो र सातौं नम्बरमा लोकप्रिय मतसहित साउद र लेखक विजयी बनेका थिए । तेह्रौ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको वरियतामा पनि एनपी र लेखकभन्दा बडूको स्थान माथि थियो । तेह्रौ महाधिवेशनमा एनपी र लेखक खुला क्षेत्रबाट केन्द्रीय सदस्य बनेका थिए भने नेता बडू महाकालीको भूगोलबाट देउवापक्षीय वहादुर सिंंह थापालाई पराजित गर्दै केन्द्रीय सदस्य बनेका थिए ।
चौधौं महाधिवेशनमा एनपी र लेखक दुबै महामन्त्रीका आकांक्षी भए पनि देउवा पक्षबाट उम्मेदवार हुन पाएनन् । कृष्णप्रसाद सिटौला र आफ्नै गुटभित्रको व्यवस्थापन जटिल हुँदा महामन्त्रीका आकांक्षीद्वय एनपी र लेखकले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए ।