करारका कर्मचारीले धान्दै दार्चुलाको स्वास्थ्य सेवा

0
741

बिरा दत्त भट्ट,
दार्चुला, मंसिर २२ गते । दार्चुला जिल्ला भरि रहेका ८७ वटा स्वास्थ्य संस्थाहरुमा स्थायी भन्दा करारका कर्मचारीहरुको संख्या बढी रहेको छ । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्ला भरिका स्वास्थ्य संस्थाहरुमा स्थायी कर्मचारीको स्विकृत दरबन्दी संख्या २ सय ६३ रहेपनि २ सय ३ संख्या मात्रै पदपुर्ती भएको छ । सबै भन्दा कम स्विकृत दरबन्दी संख्या १२ रहेको अपीहिमाल गाउँपालिकामा ४ दरबन्दी मात्रै पदपुर्ती भएको छ । जिल्ला भरिका स्वास्थ्य संख्याहरुमा स्थानिय तहहरुले २ सय ७२ जना स्वास्थ्यकर्मी तथा स्वास्थ्य कर्मचारी नियुक्त गरेका छन् । स्थानिय तहहरुले नियुक्त गरेकाहरुमा स्वास्थ्यकर्मी भन्दा स्वास्थ्य कर्मचारीको संख्या समेत उल्लेख्य मात्रामा रहेको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।
सबैभन्दा बढी शैल्यशिखर नगरपालिकाले ६१ जना कर्मचारीलाई स्वास्थ्य संस्थामा करारमा नियुक्त गरेको छ । त्यसैगरि नौगाड गाउँपालिकाले ४८ जना, महाकाली नगरपालिकाले ३६ जना, मार्मा गाउँपालिकाले ३५ जना, मालिकार्जुन गाउँपालिकाले २८ जना, ब्यास गाउँपालिकाले २६ जना, लेकम गाउँपालिकाले २३ जना, दुहु गाउँपालिकाले ९ जना र अपीहिमाल गाउँपालिकाले ६ जना कर्मचारीहरुलाई स्वास्थ्य संस्थामा करारमा नियुक्त गरको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्क रहेको छ । सरकारले विगतको जनसंख्याको आधारमा दार्चुलामा दरबन्दी राखेको भएपनि हालको जनसंख्यालाई धान्न सक्ने स्वास्थ्यकर्मीहरुको संख्या प्रयाप्त नभएको अवस्थामा स्थानिय सरकारहरुले दरबन्दी सिर्जना गरेपछि स्वास्थ्य क्षेत्रमा सहयोग पुगेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टको भनाई छ ।