करको टोली दार्चुलामा

0
2436

दार्चुला, भदौ १० गते ।
आन्तरिक राजस्व कार्यालय कञ्चनपुरको कर टोली दार्चुला आइपुगेको छ । भारतको बाटो भएर शनिवार पुगेको कर टोलीले शनिवारबाटै कार्य थालनी गरेकोे छ ।
दार्चुला उद्योग वाणिज्य संघ दार्चुलाको पहलमा प्रत्येक वर्ष आन्तरिक राजस्व कार्यालय कञ्चनपुबाट करको टोली मगाई दार्चुला जिल्लामा करसेवा प्रवाह गर्ने हुँदैआएको छ । दार्चुला जिल्लामा रहेका उद्योगी, व्यवसायीहरुले तिर्नुपर्ने कर र राजश्व कञ्चनपुरबाट कर टोली मगाएर बुझाइने गरेको उद्योग वाणिज्य संघ दार्चुलाले जनाएको छ ।
आन्तरिक राजश्व कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख लेखनाथ शर्मा, कर अधिकृत शुशील कुमार महतारा, नायब सुब्बा भीम बहादुर विष्ट लगायतको कर टोली जिल्ला सदरमुकाम खलंगा पुगेर शनिवारबाटै सेवा प्रवाह गरिएको हो ।
प्रमुख कर अधिकृत नेतृत्वको टोलीले कारोबार परिवर्तन, नयाँ दर्ता, कारोबारको थपघट, राजस्व संकलन, कर चुक्ताको प्रमाण पत्र जारी र भ्याट दर्ताको सेवा दिइरहेको छ ।
पहिलो दिन ५० जनाले कर बुझाएका छन् भने अन्य सेवा लिनेहरुको संख्या पनि सोही हाराहारीमा रहेको नायब सुब्बा भीमबहादुर विष्टले जानकारी दिनुभयो । तीन दिनसम्म अर्थात् भाद्र ११ गतेसम्म सेवा प्रवाह गरिने छ ।