‘कन्टेन्ट बेस’ राजनीति

1683

सम्पादकीय

केही दिन पहिले नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले भनेको ‘अब कति वर्ष राजनीति गरेको भन्नेभन्दा पनि कन्टेन्ट भएको नेतालाई समर्थन गर्ने’ सन्दर्भले निक्कै चर्चा पायो । नेपाली काँग्रेस महाअधिवेशनको तयारीमा भएको र नेतृत्व चयनका लागि रस्साकस्सी भएको बेलामा युवा नेताबाट आएको यस्तो टिप्प्णी मौसमि होस् वा दीर्धकालीन सोचबाट प्रेरित भएर आएको होस् । दुबै अवस्थामा यसको महत्व उत्तिकै छ । उनले महाअधिवेशनको रन्कोलाई आफूतिर आकर्षित गर्नका लागि मात्रै पनि यस्तो ‘कन्टेन्ट बेस’ नेता खोजेका हुन् भने पनि यसले तात्कालिक अवस्थामा असर छाड्ने छ र कम्तिमा पनि उनी फेरी केन्द्रीय समितिमा जान सक्ने हैसियत राख्ने छन् । माथि गएर युवाका ईच्छा, आकांक्षा र योजनाहरुलाई कार्यान्वयन गर्न सक्ने हैसियत बनाउन् नबनाउन् (यदि उनले यो कुरा महाअधिवेशनको रन्कोमा भनेका हुन् भने उनले यस्तो हैसियत बनाउन सक्ने छैनन्, किनकी त्यसपछि उनलाई तिनै प्रौढको आशिर्वाद आवश्यक पर्ने छ) प्रतिनिधित्व अवश्य गर्ने छन् । उनको प्रतिनिधित्वलाई हेरेर आम काँग्रेसी युवाहरुले चित्त बुझाउनु पर्ने छ । होइन, साँच्चै आफू पनि कन्टेन्ट बेस रहने र नेतृत्वमा पनि त्यस किसिमको हैसित खोजेर उनले दीर्घकालीन योजनाका साथ यस्तो कुरा ल्याएका हुन् भने उनी नेपाली काँग्रेसका युवाहरुले गर्व गर्ने विषय मात्रै बन्ने छैनन् अरु दलका युवा नेताहरुले समेत ‘फलो’ गर्नु पर्ने आदर्श बन्ने छन् ।
दोस्रो जनआन्दोलनको सफलतापछि देशको राजनीति कन्टेन्टबिहीन बनेको छ । राजनीतिक दलहरुले राजनीतिक परिवर्तन सकिएको र आर्थिक परिवर्तनको समय सुरु भएको एक स्वरमा घोषणा गरेपनि कसको आर्थिक परिवर्तनको स्वरुप कस्तो हुने ? कन्टेन्ट अहिलेसम्म प्रष्ट देखिएको छैन । दुई तिहाई नजिकको सरकारले आर्थिक परिवर्तनको कन्टेन्ट के हुने भन्ने देखाउन सकेको छैन भने प्रमुख प्रतिपक्षमा रहेको पौडेको पार्टीले पनि कन्टेन्ट बेस बहष गर्नै सकेको छैन । सरकारको बिरोध गर्ने प्रतिपक्षको धर्म निर्वाह गर्ने बाहेक ‘कुन कन्टेन्टमा के’ भन्ने विषय क्षेत्रभित्र नेपाली काँग्रेस छिर्न सकेको छैन । देशमा देखिएको युवाहरुको पलायन कै कुरालाई मात्रै कन्टेन्ट बनाउने हो र ‘युवाहरुलाई कसरी स्वदेश मै व्यावसायी बनाउने’ भन्ने टपिक मै कार्यक्रम बनाएर पारदर्शी र जिम्मेवार रुपले कार्यान्वयन गर्ने भन्ने बारेमा एकमत हुने हो भने पनि युवाहरुले अहिले उठाएको कन्टेन्ट बेस राजनीतिले बाटो पाउने थियो तर परम्परागत नीति तथा कार्यक्रम, अनियमितताको चक्रब्यूह सहितको योजना कार्यान्वयनको अवस्था र सुन्य प्रतिफलमा पनि चुपचाप रहने, आफ्नो पार्टी÷समुदाय÷जात आदिका आधारमा पिछलग्गु र मुक भएका युवाहरु कै कारण प्रदीप पौडेलहरुले कन्टेन्ट बेस राजनीतिको कुरा गर्ने अवसर पाएका हुन् ।
तपाईको प्रतिक्रिया दिनुहोस् !