एसएसबीले तुईन काटेर नदीमा खसालेका धामीको घरमै पुग्यो छानविन टोली

0
839

दार्चुला, साउन २२ गते ।
दार्चुलाको ब्यास गाउँपालिका २ मालघाटमा एसएसबीले तुईन काट्दा जयसिह धामी महाकाली नदीमा बेपत्ता भएको घटना छानविन गर्न दार्चुला आएको गृह मन्त्रालयको टोलीले शुक्रबार नेपाल तर्फको घटनास्थलमा गएर अध्ययन गरेको छ ।

विहिबार भारतको धार्चुलाको बाटो भएर गस्कु तुईन क्षेत्र पुगेको टोली शुक्रबार हेलिकोप्टर मार्फत नेपालको माल गाउँ पुगेको छ । माल गाउँ पुगेको छानविन टोलीले मृतक धामीको घरमा पुगेर स्थानियहरु संग घटनाबारे छलफल गरेको छानविन टोलीका सदस्य समेत रहेका दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भटट् जोशीले बताउनुभयो । यद्दपी सहायक प्रमुख जिल्ला अधिकारी भट्टले भने हेलिकोप्टर मार्फत माल गाउँ जान पाएका छैनन् । सानोे हेलिकोप्टर भएकाले छानविन समिति संयोजक गृह मन्त्रालयका सह सचिव जर्नादन गौतम सहित नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा र सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ गरि चार जनामात्रै घटना स्थल पुगेका थिए । ‘हेलिकोप्टर सानो भएकाले छानविन समितिका चार जना मात्रै गए, जयसिह धामीको घर र महाकाली नदीको तुईन क्षेत्रमा टोली पुगेको जानकारी पाएको छु’ सहायक प्रमुख जिल्ला अधिकारी भट्टले भन्नुभयो । हेलिकोप्टरमा ठाउँ नभएर माथिबाट आएका चार जना सदस्य सहित दुईजना पाईलटहरु मात्रै मालगाउँ गएका थिए । मध्यान्ह १२ बजे तिर दार्चुला सदरमुकाम खलंगाबाट घटनास्थलतर्फ गएको टोली दिउसो तीन बजेतिर फिर्ता भएको छ । मंगलबार जिल्ला सदरमुकाम पुगेको गृह मन्त्रालयको छानविन टोलीले बुधबार प्रत्यक्षदर्शी, जनप्रतिनिधी, मानव अधिकारकर्मी तथा पत्रकारहरु संग घटनाबारे छलफल गरेको थियो । विहिबार भारतको घटनास्थल गस्कु गएको टोली शुक्रबार नेपालको घटनास्थल मालघाट गएको हो ।