एम्बुलेन्स बुझ्दै गाउँपालिका अध्यक्षले भन्नुभयो– ‘एम्बुलेन्स चल्ने सडक पनि सञ्चालनमा ल्याइदिनुहोस्’

0
390

दार्चुला, माघ २९ गते ।
व्यास गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले गाउँपालिका केन्द्र सुन्सेरा जोड्ने लोकमार्गमा यातायात सञ्चालनका लागि आग्रह गरेका छन् । नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराएको एम्बुलेन्स ग्रहण गर्दै गाउँपालिका अध्यक्ष धामीले एम्बुलेन्स र नियमित यातायात सेवा सञ्चालनका लागि दार्चुलादेखि सुन्सेरासम्मको सडक सञ्चालन गरिदिन आग्रह गरेका हुन् ।
आइतवार सदरमुकाम खलंगामा एम्बुलेन्स हस्नतान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष धामीले भन्नुभयो, ‘मानवीय सेवाका लागि एम्बुलेन्स उपलब्ध गराउनुभयो, अब यो एम्बुलेन्स गुड्ने सडक पनि सञ्चालनमा ल्याउन सहयोग गरिदिनुहोस् ।’ खलंगादेखि हिकिला र पिपलचौरीसम्मको सडकमा यातायात सञ्चालन भए पनि त्यसभन्दा अगाडि सुन्सेरासम्मको सडकमा यातायात सेवा सञ्चालन हुन नसकेको उहाँले बताउनुभयो ।
हाल सुन्सेरासम्मको ४३ किलोमिटर लामो सडकमा ट्याक्टर मात्रै चलिरहेका छन् । ‘जीप र साना गाडी चलाउन सकिने अवस्था छैन, धेरै ठाउँमा सडक मर्मत गर्नुपर्ने अवस्था छ’ गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले भन्नुभयो । पिपलचौरीको तङलेभीरदेखि धौलाकोटको नाजीसम्मको सडक खण्ड मर्मत गर्नुपर्ने उहाँले बताउनुभयो ।
ट्याक्टर सञ्चालनले सडकमा ठूल्ठूला खाल्डा भएकोले जीप लगायत साना गाडी सञ्चालनमा समस्या भएको अध्यक्ष धामीले बताउनुभयो । नाजीदेखि सुन्सेरासम्मको सडक भने दुइलेनको बनाइएको छ ।
हाल खलंगादेखि हिकिला र पिपलचौरीसम्मको सडकमा मात्रै जीप सञ्चालनको अनुमति दिइएकोले त्यसभन्दा अगाडि सुन्सेरासम्म नियमित जीपसेवा सञ्चालनमा आउन नसकेको गाउँपालिका अध्यक्ष धामीको भनाई छ । ‘सडकको अवस्था सुधारेर सुन्सेरासम्मको सडकक्षेत्रमा नियमित जीपसेवा सञ्चालनको अनुमति दिनुपर्छ’ उहाँले भन्नुभयो ।
सुन्सेरासम्मको सडक सुधारका लागि आफुले महाकाली कोरिडोर सडक आयोजनालाई भनिसकेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । ‘एक हप्ताभित्रै सुन्सेरासम्मको सडक सुधार गरिसक्न भनिसकेको छुँ’ एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष धामीको आग्रहलाई सम्बोधन गर्दै प्रजिअ उपाध्यायले भन्नुभयो ।
सुन्सेरासम्मको सडक मर्मत गरी सञ्चालनमा ल्याउन सडक कालोपत्रेको ठेक्का सम्झौता भएको कम्पनीलाई भनिएको महाकाली कोरिडोर सडक आयोजनाका इन्जिनियर योगेन्द्र अधिकारीले बताउनुभयो । ‘केही दिनअघि नै हामीले कम्पनीलाई सडक सुचारु गर्न भनिसकेका छौ, सुन्सेरासम्मको सडक नियमित सञ्चालनमा ल्याउन मेसिन प्रयोग भइरहेको खवर छ’ उहाँले भन्नुभयो ।
सुन्सेरासम्मको सडक सञ्चालन आएपछि आफुसहित कार्यालय प्रमुखहरुको टोलीले समेत व्यास गाउँपालिका केन्द्रसम्म भ्रमण गर्ने प्रजिअ उपाध्यायको भनाई छ । जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह र विकास निर्माणमा समन्वयकारी भूमिका निर्वाह गर्ने बताउदै प्रजिअ उपाध्यायले सबैक्षेत्रमा निर्णायक भूमिकाको अपेक्षा स्थानीय प्रशासनबाट नगर्न पनि सुझाव दिनुभयो ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभाका निवर्तमान सदस्य गेल्बु सिंह बोहराले दीगो र व्यवस्थित एम्बुलेन्स सेवा सञ्चालन गर्न आग्रह गर्नुभयो । नेपाल रेडक्रस सोसाइटी दार्चुला शाखाका मन्त्री दीपकप्रसाद अवस्थीले मानवीय सेवाका लागि उपलब्ध गराइएको एम्बुलेन्सबाट बढी सेवाग्राहीमा सेवा पुर्याउन सुझाव दिनुभयो ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्ट, नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति गोपाल सिंह महरालगायतको सहभागिता रहेको थियो । ख वर्गको एम्बुलेन्स गाडी रेडक्रसले व्यास गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।