एम्बुलेन्समा चित्तलसहित समातिएका चालकमाथि अनुसन्धान सुरु

1914

दार्चुला, माघ २८ गते ।
गोकुलेश्वरमा आइतवार एम्बुलेन्सभित्र चित्तलसहित समातिएका चालक महेश वहादुर बोहरामाथि अनुसन्धान सुरु भएको छ । डिभिजन वन कार्यालय दार्चुलाले बोहरामाथि अनुसन्धान गर्न सहायक वन अधिकृत परमानन्द कुवरलाई अनुसन्धान अधिकृत तोकेको छ ।
सोमबार जिल्ला अदालतबाट बोहरामाथि अनुसन्धान गर्न ७ दिनको म्याद दिइको श्रेस्तेदार किरण सिंहले बताउनुभयो । चालक बोहराको सोमबार प्रारम्भिक बयान समेत गरिएको छ ।
गोकुलेश्वरमा प्रहरीले एम्बुलेन्सभित्र चित्तल फेला पारेपछि आइतवार साँझ एम्बुलेन्ससहित चालकलाई सदरमुकाम पुर्याएको थियो ।
बैतडीको डिलाशैनी गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्सभित्र चित्तल बोकेर गाउँपालिका केन्द्रतिर लग्नेक्रममा प्रहरीले बरामद गरेको हो । कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष क्षेत्रबाट चित्तल मारेर ल्याइएको अनुमान छ ।
मुद्दाको प्रक्रिया अगाडि बढाउन घटनामाथि अनुसन्धान थालिएको डिभिजनल वन अधिकृत गोकुल रिजालले बताउनुभयो । ‘घटनासंग सम्बधित सबै पक्षबारे अनुसन्धान थालेका छौ, तराई क्षेत्रबाट मारेर ल्याइएको चित्तल हो भन्ने एकिन भएको छ’ उहाँले भन्नुभयो ।
चित्तलको मासु, छाला र हड्डी प्रयोगशालाबाट परीक्षण गराइने र विज्ञबाट समेत अध्ययन गराइने उहाँले बताउनुभयो । प्रहरी प्रतिवेदन, अनुसन्धान, प्रयोगशालाको रिपोर्ट र अभियुक्तको बयानका आधारमा मुद्दा अगाडि बढाइने डिभिजनल वन अधिकृत रिजालको भनाई छ ।
सजाय के हुन सक्छ ?
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम चित्तल बरामद भएको घटनाको मुद्दा अगाडि बढाउने तयारी छ । डिभिजन वन कार्यालयले मुद्दाको अनुसन्धान पूरा गरेपछि दार्चुला जिल्ला अदालतमा मुद्दा दर्ता गरिनेछ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ मा सजाय सम्बन्धि व्यवस्था छ । दफा २६ को उपदफा (३) बमोजिम सजायको माग दावी गर्न सकिने प्रारम्भिक निस्कर्षमा डिभिजन वन कार्यालयमा पुगेको छ ।
दफा २६ को उपदफा (३) मा वन्यजन्तु शिकार गरी मारेमा वा घाइते बनाएर २० हजार देखि ५० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनादेखि १ वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ । चित्तल संरक्षित जनावरमध्ये नपर्ने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अमर सिह धामीले बताउनुभयो । ऐनको दफा २८ मा गैर कानुनी कार्यमा प्रयोग गरिएको सवारी साधनलाई समेत जफत गर्न सकिने व्यवस्था रहको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !