एमाले दार्चुलाको अध्यक्षमा धामी विजयी, कसले कति मत पाए?

534

 दार्चुला, पुष २८ गते । 

नेकपा एमाले दार्चुलाको जिल्ला कमिटी अध्यक्षमा प्रेमसिंह धामी विजयी भएका छन् । धामी सँग चुनावी  प्रतिस्पर्धामा उत्रिएका घर्ती भारी मतान्तरले पराजित भएका छन् ।

एमाले जिल्ला अध्यक्ष पदमा निर्वाचित प्रेमसिंह धामीले ५ सय ८८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी ज्ञानेन्द्र घर्तीले ९२ मत मात्रै प्राप्त गरेका छन् । नौगाड गाउँपालिकामा चर्चा कमाएका निर्वाचित गाउँपालिका अध्यक्ष धामीले एमाले जिल्ला अध्यक्षको पदमा पनि प्रतिस्पर्धीलाई झण्डै ५ सय मतान्तरले पराजित गरेका हुन् ।
सुरुमा नेकपा एमाले जिल्ला अध्यक्षको पदमा निवर्तमान एमाले जिल्ला उपाध्यक्ष उदयसिंह बडाल, जिल्ला कमिटी सचिव ज्ञानेन्द्र घर्ती, प्रदेश कमिटी सदस्य मोहन सिंह धामी र नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी आकांक्षी देखिएका थिए । चारै जनाले अध्यक्ष पदका लागि मनोनयन समेत दर्ता गराएका थिए । अन्ततः निवर्तमान जिल्ला उपाध्यक्ष उदयसिंह बडाल र प्रदेश कमिटी सदस्य मोहन सिंह धामीले भने उम्मेदवारी फिर्ता लिएका थिए ।
चुनावी मैदानमा उत्रिएका घर्ती र धामीबीच पनि सहमति गराउने प्रयासका लागि बेलाबेला निर्वाचन कार्यतालिका संशोधन गरिएको थियो तर सहमति हुन नसक्दा अन्तिम चरणमा मतदानबाटै नेतृत्वको टुंगो लगाइएको हो ।
त्यसैगरी सचिव पदमा नेता शेरसिंह धामीले विजय हासिल गरेका छन् । सचिवमा शेरसिह धामी र गंगादत्त जोशीले प्रतिस्पर्धा गरेका थिए । जसमा शेरसिंह धामीले ४ सय ४२ मत प्राप्त गर्दै विजयी भएका छ भने जोशीले २ सय १२ मत मात्रै पाएका छन् ।
उपसचिवमा खडक सिंह बडाल र चन्दा कुवँर विजयी भएका छन् । खडक सिंह बडालले उपसचिव पदमा ३ सय ८२ मत र चन्दा कुवँरले २ सय ७३ मतका साथ दुबै जना उप–सचिव पदमा विजयी भएका हुन् । बडाल निवर्तमान जिल्ला कमिटी प्रचार प्रसार विभाग प्रमुख समेत रहेका थिए । उपसचिव पदमा प्रचार प्रसार विभाग प्रमुख खडक बडाल, युवा नेता उमेश जोशी, दानीराम पार्की धनबहादुर कुवँर र चन्दा कुवँर चुनावी मैदानमा उत्रिएका थिए । दुई जना उपसचिव पदका लागि ५ जनाको उम्मेदवारी परेको थियो ।
उमेश जोशीले २ सय ६२ मत, धनबहादुर कुवँरले १ सय ९ र दानीराम पार्कीले ९८ मत प्राप्त गरेको निर्वाचन कमिटीले जनाएको छ ।
पुष २३ गते उद्घाटन भएको नेकपा एमाले दार्चुलाको आठौँ जिल्ला अधिवेशनको चौथो दिन पुष २६ गते साँझ बाट मतदान सुरु भई पुष २७ गते राती २ बजे मतदान सकिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !